महोत्तरी, साउन ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरीको सोनमा गाउँपालिकामा निर्माण हुन लागेको ८.३८४ किलोमिटर कालोपत्रे सडकको शुक्रबार शिलान्यास गर्नुभएको छ। विश्व बैङ्कको अनुदान ऋणमा निर्माण हुन लागेको यो सडक २०८३ चैत ११ गतेसम्म सम्पन्न गर्ने सम्झौता भएको छ।
उक्त सडक रघुनाथपुर बजारदेखि सोनमा–तरहारी–सुन्दरपुरसम्म पुग्नेछ। यसले सोनमा गाउँपालिका–३ रघुनाथपुरबाट सुरु भई गाउँपालिकाको केन्द्र हुँदै वडा नं. १, २, ३ र ७ का बस्ती रघुनाथपुर, सोनमा, तरहारी, मुसहरी टोल हुँदै सुन्दरपुरसम्म जोड्नेछ। पूर्वाधार विकास कार्यालय जलेश्वरका प्रमुख राजेशलाल कर्णका अनुसार, यो सडक बनेपछि गाउँपालिकाको विभिन्न वडाबीचको यातायात सहज हुने र आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ।
सडक निर्माणका लागि विश्व बैङ्कको अनुदान ऋण ३४ करोड ६९ लाख ५० हजार ६१६ रुपैयाँको टेन्डर आह्वान गरिएकोमा ढुकुछु निर्माण कम्पनी प्रालिसँग १९ करोड ७ लाख ८३ हजार ६१८ रुपैँया (भ्याटसहित)मा सम्झौता भएको हो।
निर्माणाधीन सडकको औसत चौडाइ ८.५० मिटरदेखि १०.५० मिटरसम्म रहनेछ। जसमा गाडी चल्ने कालोपत्रे भाग ५.५ मिटर चौडा हुनेछ भने दुवैतर्फ १.५ मिटर सोल्जर (shoulder) रहनेछ। बस्ती क्षेत्रमा १७६० मिटर लम्बाईको ढल र कल्भर्ट निर्माणको योजना पनि छ।
यो आयोजना प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्तर्गत पर्दछ। कार्यक्रमले मधेश प्रदेशका २१ स्थानीय तहका केन्द्रलाई पक्की सडक सञ्जालसँग जोड्ने लक्ष्य लिएको छ। यसअन्तर्गत १०८ किलोमिटर नयाँ कालोपत्रे सडक निर्माण, १८० किलोमिटर बृहत् सडक मर्मत तथा १,००० किलोमिटर सडकको नियमित मर्मतसम्भार हुने योजना छ।
नेपाल सरकार र अन्तर्राष्ट्रिय विकास संघ (IDA) बीच २ अगस्ट २०२४ मा वित्तपोषण सम्झौता भएको थियो। यो सम्झौता ८ अक्टोबर २०२४ देखि लागू भई १५ जुलाई २०२९ सम्म प्रथम चरणको कार्यक्रम सञ्चालन हुनेछ। सरकारको लक्ष्य स्थानीय तथा प्रादेशिक सडक सञ्जाललाई सर्वसुलभ, दक्ष र लचिलो बनाउँदै आर्थिक वृद्धि तथा नागरिकको जीविकोपार्जनमा सुधार ल्याउनु रहेको छ।













प्रतिक्रिया दिनुहोस्