जनता टाइम्स

१० आश्विन २०८२, शुक्रबार १८:१९

नयाँ पुस्ताको मनोभावना र माग सम्बोधन गर्नु पर्छ : विद्यादेवी भण्डारी 


काठमाडौं, असोज १०। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ पुस्ताको माग सम्बोधन गर्नु पर्नेमा जोड दिनुभएको छ ।

उहाँले शुक्रबार काठमाडौंमा जेनजी आन्दोलनपछिको परिस्थितिबारे आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै नयाँ पुस्ताको मनोविज्ञान, माग र आकाङ्क्षा पहिचान गरी त्यसलाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, ‘दलका नेताहरूले बाहिर धेरै बोल्ने तर आफ्नै पार्टीभित्र केही पनि गर्न नसक्ने भन्ने सार्वजनिक आलोचना छ, त्यसैले सबैको कुरा सुन्नुपर्छ, सोही आधारमा पार्टीको मर्मअनुसार काम गर्न सकिएको छ कि छैन, बुझ्न आवश्यक छ, नयाँ पुस्ताको मनोभावना के छ, उनीहरूको माग के छन्, त्यसलाई राष्ट्रले कसरी सम्बोधन गर्न सक्छ, त्यसमा ध्यान दिनुपर्छ।’

उहाँले मुलुक सधैँ यस्तै अवस्थामा रहिरहन नसक्ने भन्दै समाधानको बाटो निकाल्नुपर्ने धारणा राख्नुभयो। शान्ति र स्थायित्वका लागि विशेष ध्यान दिनुपर्ने बताउँदै उहाँले राष्ट्रलाई अहिलेको युग सुहाउँदो निर्माणका काम अगाडि बढाउन आग्रह गर्नुभयो। ‘सधैँ यस्तो अवस्थामा मुलुक रहिरहन सक्दैन, यसको हामीले समाधान निकाल्नुपर्छ, शक्तिका स्रोत भनेका जनता हुन्, जनतामाझ गएर राजनीतिक दलहरूले आफ्ना नीति, दर्शनअनुसार कार्यक्रम गर्नुभएको छ कि छैन भन्ने बुझ्नुपर्छ,  जनताले के सुझाव दिन्छन्, त्यस आधारमा अघि बढ्नुपर्छ’, उहाँले भन्नुभयो ।

दलहरूबिच पनि समन्वय र सहकार्य बढाउन आवश्यक रहेको उहाँले बताउनुभयो। ‘विभिन्न आस्था राख्नेबिच छलफल र सहकार्य भए मात्र समस्याको समाधान सम्भव हुन्छ, शान्ति, स्थायित्वका लागि विशेष ध्यान दिनुपर्छ, राष्ट्रिय एकता कायम गर्दै राष्ट्रलाई अहिलेको युग सुहाउँदो गरी अगाडि बढाउनुपर्छ’, भण्डारीले भन्नुभयो ।