जनता टाइम्स

१० आश्विन २०८२, शुक्रबार १९:२८

ग्वाङ्सी, नानिङ र ग्वीलिङको सौन्दर्य, संस्कृति, प्रविधि र नेपालको सम्भावना


-कृष्णहरि केसी-

भनिन्छ जीवन एक यात्रा हो । जीवन रुपी यात्रामा संसारको भौतिक यात्राको महत्त्व अझ धेरै हुने गर्छ । गत हप्ता म चीनको ग्वाङ्सी प्रदेशको यात्रामा गएँ । चीनको दक्षिणी भू–भागमा अवस्थित ग्वाङ्सी झुआंग स्वायत्त प्रदेश । यो प्रदेश करिब २,३६,७०० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रहेछ, दक्षिणमा टोनकिङ खाडी, पश्चिममा भियतनामसँग सीमा जोडिएको रहेछ । राजधानी नानिङ पुग्ने बित्तिकै मलाई लाग्यो—यो केवल एक सहर होइन, समयको रङ र इतिहासको ध्वनि बोकेको जीवित स्थान रहेछ ।

ग्वाङ्सीको भूगोल र प्राकृतिक सौन्दर्य

ग्वाङ्सीको प्राकृतिक सौन्दर्य साँच्चिकै अनुपम रहेछ । हरियाली फैलिएका पहाडहरू, नदीहरू, उष्णकटिबन्धीय फलफूलका बगैँचा, र खुला आकाशले यात्रा प्रारम्भमै मन लोभ्याएको थियो । यहाँको जनसङ्ख्या करिब ५० मिलियन रहेछ, र चीनको कुल जिडिपीमा ग्वाङ्सीको योगदान करिब ३ प्रतिशत रहेछ । कृषि उत्पादनमा धान, मकै, उखु, कसावा, लिची, केरा र कागती वर्गका फलहरू प्रमुख रहेछन् ।

तर ग्वाङ्सी केवल प्राकृतिक सौन्दर्यले भरिपूर्ण मात्र रहेनछ । यो त प्रविधि र उद्योगको केन्द्र पनि रहेछ । नानिङ पुग्ने बित्तिकै मैले देखेँ—विशाल अटोमोबाइल उद्योग, रोबोटिक उत्पादन लाइनहरू र एआई प्रविधिको प्रयोगले भविष्यको औद्योगिक क्रान्तिको झलक दिइरहेको थियो । यहाँको आकर्षण केवल गणितमा मात्रै सीमित छैन बरु यहाँ संस्कृति र प्रविधिको संयुक्त चमत्कारिक नृत्य चलिरहेको छ । २ देखि ३ हजार वर्ष पुरानो इतिहास बोकेको छ, पुराना भवनहरू, मठहरू र बजारहरू आज पनि जस्ताको तस्तै उभिएका छन् । समयले तिनको रूप बदलेको छैन, बरु अर्थलाई नयाँ बनाएको छ । त्यहाँका नागरिकहरूले आफ्नो परम्परा जोगाएर आधुनिकतालाई अँगालेका छन् । सडकमा हिँड्दा देखिन्थ्यो—पुराना मन्दिर र छेउमै अत्याधुनिक एआई प्रयोगशाला । परम्परा र प्रविधि बिचको यस्तो सामञ्जस्यपूर्ण विकासमा यसले सुन्दर सङ्गीत दिए जस्तो लाग्थ्यो ।

यो यात्रा मेरो जीवनको एउटा महत्त्वपूर्ण अध्याय बनेको छ । चीनको दक्षिणी भूभागमा अवस्थित ग्वाङ्सी झुआङ स्वायत्त प्रदेशमा पाइला टेकेको पहिलो क्षणदेखि नै म भावनाको लहरमा हराएँ । जहाजको झ्यालबाट नियाल्दा तल फैलिएको हरियाली, पहाड र नदीहरूले मेरो मनमा नेपालका नदीनाला, तराई, पहाड र हिमालको स्मृति ताजा गराउँथ्यो । तर फरक के थियो भने, यहाँ प्रत्येक चीज अनुशासित, व्यवस्थित र सुव्यवस्थित थियो । सडक छेउमा फूलबारी, खुला आकाशमा पन्छीको गीत, सहरमा हरियाली—सबै थोकले सन्देश दिन्छ—“विकास केवल भवन होइन, बानी हो आदत हो ।”

यहाँ पुग्दा मलाई लाग्यो कि म केवल अर्को देशमा छैन, बरु समय, संस्कृति र प्रविधिको सङ्गममा पुगेको छु । विशाल हरियाली, नदी, डाँडा, हजारौँ वर्ष पुराना सभ्यता र ती सभ्यतामाथि टेकेर अगाडि बढेको आधुनिक प्रविधि — यी सबैले मेरो हृदयमा एउटा गहिरो प्रश्न छोडे “के हाम्रो नेपाल, जसले विश्वकै अनौठा भू–आकृति, हिमाल, नदीनाला र विविध संस्कृति बोकेको छ, यस्तै समृद्ध पर्यटन केन्द्र बन्न सक्दैन?”

नानिङको पहिलो दृश्यले मलाई चेतना दिएको थियो—सृजनशीलता र संरचना सँगसँगै चल्दा मानव जीवन कति सम्पन्न र सौन्दर्यपूर्ण बन्न सक्छ । यसले मलाई नेपाली सहरहरूको अवस्था सम्झायो—जहाँ पहाड, नदी र प्रकृति मात्रै हैन संस्कृतिको अनुपम सौन्दर्य पनि दिएका छन्, तर हामीले त्यसको पूर्ण उपयोग गर्न सकेका छैनौँ । म सोच्दै थिएँ, यदि नेपालले चीनका सहरहरू जस्तै अनुशासन, हरियाली र पर्यटन व्यवस्थापनमा ध्यान दियो भने, समृद्धि छिट्टै प्राप्त गर्न सकिन्छ । समृद्ध नेपाल सुखी नेपालीको आकाङ्क्षा धेरै टाढा छैन

निङको ऐतिहासिक गहिराइ

नानिङ मात्र आधुनिक सहर होइन रहेछ । यो त २५०० वर्ष पुरानो सभ्यता बोकेको जीवित सांस्कृतिक केन्द्र पो रहेछ । पुराना मठ, गल्ली, सांस्कृतिक स्थलहरूमा घुम्दा मैले महसुस गरेँ—“संरचना केवल इँटा र ढुङ्गाको सङ्ग्रह मात्रै होइन बरु तीनमा इतिहास, परम्परा र भविष्य निर्माणको स्पष्ट सन्देश छ ।” सडकमा हिँड्दा लाग्थ्यो समय रोकिएको छ तर होइन रहेछ बरु प्राचीन कला र संस्कृति नवसन्ततिसम्म जगेडा भएर भविष्यको सङ्कल्प सहित अविरल गतिवान् रहेछ ।

पुराना संरचनाहरू केवल भूतकालको कथा मात्रै होइन, वर्तमान र भविष्यको शिक्षा दिइरहेका थिए । २५०० वर्ष पुराना भवनहरूले नयाँ पुस्तालाई सिकाइरहेको थियो कि कसरी परम्परा र आधुनिकता सँगसँगै बाँच्न सक्छन् । म सोच्दै थिएँ—यदि काठमाडौं, ललितपुर र भक्तपुरका ऐतिहासिक क्षेत्रहरू यस्तै संरक्षण र प्रवर्द्धनमा ल्याइयो भने, ती विश्व पर्यटनको आकर्षक गन्तव्य बन्न सक्नेछन् ।

औद्योगिक चमत्कार : एआई र अटोमोबाइल उद्योग ( आधुनिक उद्योग र स्मार्ट फ्याक्ट्री)

नानिङको पहिलो औद्योगिक भ्रमण SAIC-GM-Wuling Baojun उद्योगमा भयो । विशाल हलमा मानवको सिप र रोबोटिक हातहरू मिलेर काम गरिरहेका थिए । विशाल हलमा मानिसभन्दा बढी रोबोटहरू काम गर्दै थिए । स्वचालित हातहरूले धातु जोड्दै थिए, कृत्रिम बुद्धिमत्ताले उत्पादन गुणस्तर नाप्दै थियो, र सबै कामहरू अनुशासित तालमा अघि बढ्दै थिए । त्यो दृश्यले मलाई भविष्य देखायो—जहाँ प्रविधि र मानवीय सिप सँगसँगै चल्छन् । म सोच्थेँ, यदि यस्तो उद्योग नेपालको काभ्रे, हेटौँडा, बुटवल वा बिर्तामोडमा खोलियो भने, हाम्रा लाखौँ युवा विदेश जान बाध्य हुने छैनन् । नेपालका युवामा प्रतिभा छ, तिनीहरूलाई अवसर चाहिएको हो । उत्पादन लाइनमा धातु जोड्ने रोबोटहरूले मानव मेहनतलाई सहज र द्रुत बनाइरहेका थिए ।

SAIC–GM–Wuling Baojun जस्ता उद्योग, वा LiuGong Excavator Smart Factory, Wangchi Footwear Technology Company Limited, / Lontang Park भ्रमणले देखायो—मानिसभन्दा बढी रोबोटहरूले काम गरिरहेका, विशाल क्रेनहरू, उत्खनन गर्ने स्काभेटरहरू देख्दा मलाई अनुभव भइरहेको थियो कि मानौँ म कुनै विज्ञान–प्रयोगशाला हिँडिरहेको छु ।

उद्योगमा देखिएका रोबोटिक हातहरूले उत्पादनलाई मात्र गति दिएका छैनन् बरु मानव कामदारको समय र ऊर्जा पनि बचाएका छन् । यसले मलाई भविष्यको औद्योगिक मोडेल कस्तो हुने हो भन्ने प्रत्यक्ष झलक दिन्थ्यो ।

त्यसपछि भ्रमण गरेको चाइना एसेन आर्टिफिसियल इन्टेलिजेन्स इनोभेसन सेन्टर) ले मलाई एआईको क्रान्ति देखायो । शिक्षा, स्वास्थ्य, यातायात, कृषि र उद्योग—सबै क्षेत्रमा एआई प्रयोग भइरहेको थियो । रोबोटहरूले आफैँ डेटा सङ्कलन र विश्लेषण गर्दै मानवको समय बचाइरहेका थिए । मैले सोचेँ—नेपालमा यी र यस्ता प्रविधि कहिले अपनाउने ? युवालाई नेपालमा नै रोजगारी र दक्षता युक्त कहिले बनाउने ? के वैदेशिक रोजगारीको निर्भरतामा नै रमाउने हो त ? केबल राजनीतिक अस्थिरता यसको जड हो भन्ने मैले निष्कर्ष निकालेँ ।

प्रविधि र रोजगारी

नानिङको अटोमोबाइल उद्योगमा मैले देखेँ—रोबोटिक हातहरूले कार जोडिरहेका छन्, एआईले उत्पादनको गुणस्तर मापन गरिरहेको छ । कसरी प्रविधि र मानव श्रमले सहकार्य गर्दै उत्पादनलाई तीव्रता दिएको छ, त्यो देख्दा मनमा प्रश्न उठ्यो “हामी किन हाम्रो युवा शक्ति यसरी उपयोग गर्न सक्दैनौँ ?”  नेपालमा करिब ५० लाख युवा वैदेशिक रोजगारीमा छन् । यदि हामीले १० प्रतिशत युवालाई मात्र पर्यटन, कृषि, प्रविधि, हस्तकला, स्थानीय उद्योगमा समेट्यौँ भने, वार्षिक ५ अर्ब डलरभन्दा बढी आम्दानी गर्न सक्ने क्षमता नेपालसँग छ । चीनको एआई इनोभेसन पार्कमा म प्रवेश गर्दा देखेँ—विद्यालयका विद्यार्थी, अनुसन्धानकर्ता, उद्योगका प्रतिनिधिहरू एउटै प्लेटफर्ममा । त्यो दृश्यले मलाई सिकायो—विकास तब हुन्छ जब ज्ञान, श्रम र नीति एउटै दिशामा लाग्छन् । एउटै लक्ष्य, लय र चाल समाउँछन् ।

हरित उद्योग र दिगो विकास

ग्वाङ्सीले केवल उद्योग र पर्यटनमा मात्र ध्यान दिइरहेको छैन । Osmanthus Community, हरित पार्कहरू, र दिगो विकास परियोजनाहरूले पर्यावरणीय संवेदनशीलता र भविष्यको दृष्टिलाई देखाइरहेको थियो । यहाँका परियोजनाहरूले प्रमाणित गरे—प्रविधि र प्राकृतिक संरक्षण बिच सन्तुलन सम्भव छ । यो पृथ्वी सबै मानव जातिको साझा घर हो । यसलाई जोगाई रहनु पर्छ । जोगाउन मानव सचेतना  इमानदार प्रयत्न जरुरी छ ।

ग्वीलिङको प्राकृतिक सौन्दर्य

ग्वीलिङ मेरो यात्राको अर्को आकर्षण थियो । ग्वीलिङले मेरो हृदयलाई पूर्ण रूपमा मोहित र आनन्दित बनायो । यहाँको Li River -Lijiang River संसारका १५ उत्कृष्ट नदीहरूमध्ये एक रहेछ । ली नदीको पानी नीलो–हरियाली मिश्रित थियो, सूर्यास्तमा पहाडको छाया पानीमा झल्किँदा दृश्य जादुमयी देखिन्थ्यो । गाउँका मानिसहरूको जीवनशैली सरल र प्राकृतिक थियो । यहाँको ली नदी, सात घोडे पहाड, हरियालीले ढाकिएका गाउँ र गुफाहरूले मेरो हृदय छोए । चार घण्टाको बोटिङ अनुभव, तीन तले जहाजमा बसेर वरिपरि फैलिएको प्रकृति हेर्दा मैले नेपालका पोखरा, चितवन र रामेछाप सिन्धुलीको सम्झना गर्न पुगेँ । प्राकृतिक दृश्य, गाउँका मानिस, खेती–बारी र नदीसँगको आत्मीय सम्बन्ध—सबैले जीवन र प्रकृतिप्रति सम्मान सिकायो ।

Elephant Trunk Hill मा उभिँदा मैले महसुस गरेँ—पृथ्वी आफैँले विशाल मूर्ति कोरेर इतिहासलाई अमर बनाइदिएको रहेछ । सूर्यास्तको बेला, घामले पहाडको छाया पानीमा झल्काउँदा, दृश्य जादुमई देखिन्थ्यो । मानौँ स्वर्गका अप्सराहरूको आकृति त्यहाँ भेट्न सकिन्छ । म सोच्दै थिएँ—नेपालका हिमाल, नदी र गाउँ पनि यस्तै सौन्दर्यले भरिएका छन् । यदि हामीले ती स्थानमा बोटिङ, सांस्कृतिक पर्यटन र साहसिक खेलको व्यवस्था गर्‍यौँ भने, नेपालले अरबौँको आम्दानी गर्न सक्छ । पानीको हरियो–नीलो चमकले मलाई कोशी, गण्डकी र कर्णालीको बहाव सम्झायो ।

फरक यति मात्र थियो—त्यहाँका किनारहरू व्यवस्थित थिए, फोहोर थिएन, बोटिङ एक व्यवस्थापन अन्तर्गत, र स्थानीय समुदायले त्यसलाई आफ्नो गर्वको रूपमा हेरिरहेका थिए । म सोच्थेँ—नेपालमा पनि ६,००० भन्दा बढी नदीहरू छन् । तीमध्ये कोशी, गण्डकी, कर्णाली मात्र होइन, राप्ती, वाग्मती, महाकाली, मछिन्द्रनाथको खोला—यी सबै हाम्रो संस्कृति र प्रकृतिका साक्षी हुन् । यदि यिनै नदीका किनारमा सफाइ, दृश्यावलोकन, बोटिङ, सांस्कृतिक क्याफे र आर्ट भिलेज बनाउन सके “नेपालका नदीहरू केवल बग्ने मात्र होइन, समृद्धि बगाउने स्रोत बन्न सक्छन् ।”

चार घण्टा लामो बोटिङ यात्रा, तीन तले जहाजमा बसेर, वरिपरि डाँडाकाँडाको हरियाली, “सात घोडे पहाड”को अविश्वसनीय रूप, गुफाहरूको रहस्य, र सानो गाउँहरूको सरल जीवन शैली—सबैले मेरो हृदय छोयो र मलाई फेरी एक पटक मेरो जन्मभूमि नेपाललाई सम्झायो । Guilin को गाउँहरूले जीवनको सरलता र प्राकृतिक सौन्दर्यलाई मिश्रण गरेको देखायो । गाउँका मानिसहरू, तिनका घरहरू, खेती–बारी, र नदीसँगको आत्मीय सम्बन्ध—सबैले प्रकृतिप्रति आदर र जीवनको अर्थ बुझायो ।

ऐतिहासिक संरक्षण र सांस्कृतिक मूल्य

ग्वाङ्सीको यात्रा मात्र प्राकृतिक सौन्दर्यमा सीमित रहेन । मैले भेटेका ३०००, २००० र १५०० वर्ष पुराना संरचनाले मलाई सम्झायो—सभ्यता केवल विगतको स्मरण मात्र होइन, भविष्य निर्माणको आधारशिला हो । ग्वीलिङको पुराना मठ, मन्दिर, नानिङका गल्ली र संरचनाहरूले देखाए कि सङ्ग्रहालय मात्र होइन, दैनिक जीवनको अङ्ग पनि संरक्षणको लागि आवश्यक छ । डिजिटल प्रविधिले प्रत्येक स्थलको जानकारी सजिलै प्रस्तुत गगिररहेका थिए ।

नेपालमा पनि यस्तै संरचना संरक्षण र प्रवर्द्धन भए, हाम्रो इतिहास विश्वका लागि खुला पाठशाला बन्न सक्थ्यो । लुम्बिनी, भक्तपुर, डोलेश्वर र मुक्तिनाथजस्ता स्थानहरूलाई डिजिटल प्रवर्द्धन, सुरक्षित संरचना र पर्यटक–मैत्री व्यवस्थाले विश्वको ध्यानाकर्षण गराउन सक्छ ।

ग्वाङ्सीको हरियाली र नेपालको हिमाली सौन्दर्य

ग्वाङ्सीका हरित पार्कहरू, शुद्ध सडकहरू, र “ग्रिन सिटी” अभियानले मन छोयो । त्यहाँ प्रत्येक सहरमा वृक्षारोपण, सौर्य ऊर्जा, फोहोर व्यवस्थापन, र पर्यावरणीय शिक्षाको प्रणाली रहेछ । नेपालमा करिब ४६ प्रतिशत भू–भाग वनले ढाकेको छ । हाम्रो हिमालले जल, जमिन, हावा, जीवन सबै दिन्छ । तर प्रश्न छ—हामीले त्यो सम्पदालाई पर्यटन र रोजगारीसँग जोड्न सकेका छौँ ? यदि हामीले हरेक जिल्लामा एउटा “हरित पर्यटन गाउँ” निर्माण गर्न सक्यौँ भने, “पर्यावरणीय समृद्धि र आर्थिक वृद्धि दुवै सम्भव छ ।”

नेपालसँग तुलना:  हिमाल, पहाड र पर्यटन सम्भावना

ग्वाङ्सी, नानिङ र ग्वीलिङका सौन्दर्य हेर्दा मैले नेपाल सम्झेँ—सगरमाथा, लुम्बिनी, जनकपुर, मुक्तिनाथ, पोखरा, चितवन । हाम्रो देशमा प्रकृति, संस्कृति र आध्यात्मिक ऊर्जा भरिएको छ । तर हामीले तिनीहरूको पूर्ण उपयोग गर्न सकेका छैनौँ । नेपालमा वार्षिक करिब १० लाख पर्यटक आउँछन् ।

पर्यटन क्षेत्रले जिडिपीको करिब करिब ५ प्रतिशत योगदान दिन्छ । तर केवल चीन र भारतका मात्रै नागरिकलाई आकर्षित गर्न सकियो भने पनि नेपालले वार्षिक ५० लाख पर्यटक सम्भव छ । यसले प्रत्यक्ष ७ लाखभन्दा बढी रोजगारी सिर्जना गर्न सक्छ । नेपालका हिमाल, नदीनाला, जङ्गल, संस्कृति, पर्व र आध्यात्मिक स्थलहरू विश्वका करोडौँ पर्यटकको लागि आकर्षक हुन सक्छन् । आवश्यक छ— योजना, संरचना र प्रवर्द्धन ।

नीति र संरचना : समृद्धिको मार्ग

नेपालले पर्यटनलाई राष्ट्रिय प्राथमिकतामा राखेर सडक, विमानस्थल र यातायात सुविधामा सुधार, स्थानीय व्यवसायी र युवालाई तालिम, ऐतिहासिक संरचना संरक्षण र डिजिटल प्रवर्द्धन, सांस्कृतिक कार्यक्रम र पर्यटक–मैत्री सेवा जस्ता कदमहरू अपनाइयो भने नेपाल दक्षिण एसियाको अग्रणी पर्यटन केन्द्र बन्न सक्छ । केवल सौन्दर्य मात्रै पर्याप्त छैनन् । त्यसलाई व्यवस्थित रूपले संसारका मानिससम्म पुर्‍याउन सक्नु पर्ने रहेछ ।

विश्व पर्यटन बजारमा नेपालको सम्भावना

विश्व पर्यटन सङ्गठनका अनुसार, २०२४ मा विश्वभर १.३ अर्ब पर्यटक भ्रमणमा निस्किएका थिए । त्यसमा ६० करोड एसिया–प्यासिफिक क्षेत्रमा गएका थिए । यसरी भ्रमण गर्नेमा चीनबाट १५ करोड भारतबाट २.७ करोड रहेका देखिन्छन् । नेपालले भने केवल ११ लाख पर्यटकलाई स्वागत ग¥यो । तर नेपालसँग विश्वकै अनौठा सम्पदा छन् ।

सगरमाथा (८,८४८ मिटर) लुम्बिनी (बुद्ध जन्मभूमि) काठमाडौं उपत्यका (विश्व सम्पदा सूची) १) राष्ट्रिय निकुञ्ज, १२ संरक्षित क्षेत्र १०० भन्दा बढी जातजातिका कला, संस्कृति र भाषा यदि हामीले चीन र भारतका मात्र ५% मध्यमवर्गीय पर्यटक आकर्षित गर्न सक्यौँ भने (जसको सङ्ख्या करिब १५ करोड पुग्छ), नेपालको वार्षिक पर्यटन आम्दानी १० अर्ब डलर पुग्न सक्छ । “समृद्धि हाम्रो भूगोलमा छ, समृद्धि हाम्रो संस्कृतिमा छ, समृद्धि हामी आफैँमा छ ।”

अन्त्यमा,

म ती सहरका नागरिक, आयोजक, गाइड र उद्योग प्रतिनिधिलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु । उनीहरूको आत्मीयता, सत्कार र अनुशासनले यात्रा अविस्मरणीय बनायो । म सोच्दै छु “के हाम्रो नेपाल, जसले विश्वकै अनौठा भू–आकृति, हिमाल, नदीनाला र विविध संस्कृति बोकेको छ, यस्तै समृद्ध पर्यटन केन्द्र बन्न सक्दैन?” हाम्रो देशमा पनि तराईका हरिया मैदानदेखि हिमालका सेता मुकुटसम्म यस्ता दृश्यहरू प्रशस्त छन्, जुन संसारका कुनै पनि यात्रुको आँखालाई लोभ्याउन सक्षम छन् । यदि हामीले आफ्नो प्राकृतिक, ऐतिहासिक र सांस्कृतिक सम्पदालाई व्यवस्थित र प्रवर्द्धन गर्‍यौँ भने, समृद्धि केवल सपना होइन, वास्तविकतामा रूपान्तरण हुनेछ । ग्वाङ्सीको हरियाली, नानिङको अनुशासन, ग्वीलिङको सौन्दर्यले मलाई देखायो कि नेपाल पनि उठ्न सक्छ, नेपाल पनि चम्किन सक्छ । हामीसँग हिमाल छ, नदी छ, संस्कृति छ । अब आवश्यक छ—सत्यता, अनुशासन र कार्यान्वयनको ।

सडक, सरसफाइ, सूचना, प्रविधि, आतिथ्य र व्यवस्थापनमा गरिएको लगानीले ती स्थलहरूलाई पर्यटनको आर्थिक केन्द्रमा रूपान्तरण गरिरहेको छ । नेपालमा पनि सम्भावना कम छैन केबल आवश्यकता छ योजनाबद्ध नीति, लगानी र व्यवस्थापनको ।

पर्यटन नै समृद्धिको मुख्य ढोका हो । नेपालमा १० वर्षको अवधिमा मात्र, यदि हामीले ग्वाङ्सीको मोडेलमा पर्यटन पूर्वाधार विस्तार गर्न सक्यौँ भने, पोखरालाई “एसियाली प्राकृतिक सहर” चितवनलाई “जैविक र सांस्कृतिक पार्क” लुम्बिनीलाई “विश्व बौद्ध तीर्थस्थल” मुक्तिनाथ–मनाङ–मुस्ताङलाई “हिमाली रहस्यको स्वर्ग” र काठमाडौँ उपत्यकालाई “इतिहास र सांस्कृतिक सङ्ग्रहालय” को रूपमा ब्रान्डिङ गर्न सकिन्छ ।

चीन र भारतका कम्तीमा १% पर्यटकलाई नेपाल भित्र्याउन सक्नु पर्छ । सहज भिसा, यातायात र आवास सुविधा, स्थानीय संस्कृति र खानपानको व्यापक प्रचार गरेको खण्डमा मात्र पनि नेपालको पर्यटन आम्दानी अहिलेको भन्दा १० गुणा वृद्धि गर्न सकिन्छ  । भिजिट नेपाल अभियान केवल नारा नभई, संरचना, लगानी र जनसहभागितासँग जोडिएको अभियान हुनुपर्छ ।

“हाम्रो नेपालमा पनि कति नदी छन्, ती नदी किनारमा कति कथा छन्, ती डाँडाहरूमा कति सपना छन् यदि हामीले यिनलाई पहिचान र प्रवर्द्धन गर्न सक्यौँ भने, नेपाल स्वयम् विश्व पर्यटनको राजधानी बन्न सक्छ ।”