जनता टाइम्स

११ आश्विन २०८२, शनिबार ११:५२

सुरक्षा निकायले सहयोग गरेन, पाँच मिनेट ढिला भएको भए म मारिन्थे : केपी ओली


काठमाडौं,  असाेज ११ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू ठुलाे आक्रमणबाट बचेको बताउनुभएको छ ।

ओली भाडामा बस्नु भएको गुण्डु पुगेका पार्टी निकट आदिवासी जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पा नेतृत्वको टोलीलाई शुक्रबार साँझ सम्बोधन गर्दे ओलीले आफूलाई पटक पटक मार्ने प्रयास भएको बताउँदै ‌यस पटक पनि मार्ने प्रयास गरिएको बताउनुभयो । ‘जीवनमा यस्ता उतारचढाव, मारिने परिस्थिति कति आए कति, मारिँदा मारिँदै उम्केको, यसपल्ट पनि पाँच मिनेट मात्रै ढिला भएको भए मार्ने नै थिए, शेरबहादुरजीलाई घाइते बनाउने र मलाई मार्ने योजना रहेछ’, उहाँले भन्नुभयो ।

उहाँले आफूलाई सुरक्षामाथि भरोसा रहेको भए पनि उसले समेत असहयोग गरेको बताउनुभयो । अन्तिम क्षणमा नेपाली सेनाले  जम्मा भगाउन सहयोग गरेको उहाँको भनाइ छ ।  ‘सेक्युरिटीमाथि अलिकति मलाई भरोसा भयो तर हामी केही पनि गर्न सक्दैनौँ भनेर अन्तिममा सेनाले भगाइसम्म दियो, त्यहाँबाट निकालियो भनौँ न, नत्र त पाँच मिनेटभित्र मार्ने नै रहेछ’, ओलीले आफ्नो भोगाइ सुनाउनुभयो ।

उहाँले आफ्नो मनोबल कहिल्यै कमजोर नभएको र देश बचाउन उच्च मनोबल आवश्यक भएकोमा जोड दिनुभयो।  ‘कमजोर मनोबल भएर हामी केही गर्न सक्दैनौँ, देशका विरुद्ध ठुलो षड्यन्त्र भइराख्या छ,  षड्यन्त्रबाट देशलाई जोगाउनका लागि उच्च मनोबल गर्नुपर्छ, हरेकले हरेस खानु हुँदैन, एकजुट भएर अगाडि बढ्नुपर्छ’, ‌‌ओलीले भन्नुभयो ।

उहाँले जेनजीकाे नाममा महाअपराधिक घटना र देश द्रोही क्रियाकलाप भएको बताउनुभयो । ‘देशै जलाउने खालका आततायी, आपराधिक घटनाहरू- यो त महाअपराधिक घटना, क्रियाकलाप हो, यस्तो कुनै पनि हालतमा एमाले हुँदाहुँदै हुन दिँदैनौँ हामीले,’ उहाँले भन्नुभएको छ।

उहाँले सिंहदरबार जलाउन खोज्ने समूह र देश द्रोही तत्त्वहरूको सक्रियता औँल्याउँदै आलोचना गर्नुभयो  ।  यसपल्ट पार्टीभित्र केही कमजोरी देखिएको बताउँदै उहाँले अब एमालेले यस्ता क्रियाकलाप कुनै पनि हालतमा हुन नदिने बताउनुभयो । ‘यो हदसम्म देशै जलाउनेमा जान्छन् भन्ने खालको त्यस्तो लागेको थिएन तर देशद्रोही तत्त्वहरू, अपराधी तत्त्वहरू विभिन्न ठाउँ ठाउँमा पनि पुग्या रहेछन्,’ उहाँले टिप्पणी गर्नुभयो।

अहिले पनि केही व्यक्तिहरूले फलानालाई मार्नुपर्छ, घरमा आगो लगाउनुपर्छ जस्ता अभिव्यक्ति दिइरहेका ओलीले बताउनुभयो ।  ‘कस्तो वाक स्वतन्त्रता, कस्तो अधिनायकवाद हो, तानासाही हो ? यिनले कस्तो व्यवस्था ल्याउन चाहेको ?’, ओलीले भन्नुभयो ।

उहाँले सुरक्षा र राजनीति सम्बन्धी यो अवस्था अस्थिरताको सूचक भएको र यसका विरुद्ध सबै लोकतान्त्रिक शक्ति एकजुट हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो। उहाँले सो घटनाको छानबिन हुनुपर्नेमा जोड दिनुभयो । कसले त्यो घटना गरायो, कसले बालबालिकाको छातीमा गोली हान्यो, त्यो छानबिन हुनै पर्ने र गराएरै छाड्ने ओलीले बताउनुभयो ।