जनता टाइम्स

११ आश्विन २०८२, शनिबार १३:०३

स्पष्ट एजेण्डा र एकताले मात्र आन्दोलन सफल हुन्छ : शंकर पोखरेल


काठमाडौं, असाेज ११। नेकपा एमालेका महासचिव शंकर पोखरेलले इतिहासले राजनीतिक आन्दोलनलाई स्पष्ट एजेन्डा र एकतामा आधारित हुनुपर्ने शिक्षा दिएको बताउनुभएको छ। शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत विचार राख्दै उहाँले आन्दोलन, पार्टी वा नेतृत्वको भविष्य स्पष्ट एजेन्डामा निर्भर हुनेमा जोड दिनुभएको छ ।

महासचिव पोखरेलले २०५९ असोज १८ र २०६१ माघ १९ को प्रसङ्ग स्मरण गर्दै त्यस बेला दलहरू विभाजित र एजेण्डामा पनि विविध अवस्थामा रहेकोमा पछि एजेण्डामा एकताबद्ध हुँदा मुलुकको राजनीतिमा लयमा फर्किएको उल्लेख गर्नुभएको छ।उहाँले विगतको राजनीतिक मोडलाई स्मरण गर्दै लेख्नु भएको छ ‘असोज १८ मा आलोचित र अस्वीकार्य देखिएको नेतृत्व माघ १९ पछि थप सान्दर्भिक बन्यो, किनभने असोज १८ ताका राजनीतिक दलहरू एजेन्डामा विभाजित र अन्योलग्रस्त थिए, तर माघ १९ पछि उनीहरूले आफ्ना एजेन्डा स्पष्ट पार्दै एकताबद्ध भए।’

महासचिव पोखरेलका अनुसार राजनीतिक दलहरूको त्यही एकता र स्पष्ट दृष्टिकोणकै परिणामस्वरूप जनता सार्वभौम बने र मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा प्रवेश गर्‍यो।उहाँले  आफ्नो स्टाटसमा इतिहासको शिक्षा आत्मसात् गर्दै वर्तमान परिस्थितिमा पनि राजनीतिक दलहरू र नेतृत्वले स्पष्ट एजेन्डा अघि सार्नुपर्ने र जनतासँग दृढ एकता कायम गर्नुपर्ने सन्देश दिनुभएको छ ।