जनता टाइम्स

११ आश्विन २०८२, शनिबार १४:१८

जेनजीकाे भनिने अहिलको सरकार तोडफोड र आगजनीकाे माध्यमबाट बनेको हो : केपी ओली 


काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार जनताको मतबाट आएको सरकार नभएको बताउनुभएको छ ।

बिहीबार भक्तपुरमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकारलाई आफूले बोलेका कुरा र गरेका काम बाहिर जनताको सामु ल्याउन चुनौती दिनुभयो । ‘मैले भनेका कुराहरू सो सरकारले हिम्मतका साथ जनतामा पुर्याओस्, बाहिर ल्याओस्’, उहाँले भन्नुभयो ।

उहाँले आफूले कहिल्यै छलछाम र षडयन्त्र गरेको बताउनुभयो । ‘जेनजी सरकार भनिने अहिलेको सरकार जो–संवैधानिक बाटोबाट, जनताको अभिमतबाट बनेको होइन, यो तोडफोड र आगजनीको माध्यमबाट बनेको हो’, उहाँले भन्नुभयो ।

उहाँले यो हा हुको सरकारलाई देश जिम्मा लगाएर आफू बाहिर नभाग्ने बताउनुभयो । आफूहरूले फेरी पनि देशलाई सुशासन र विकासको बाटोमा अघि बढाउने ओलीले बताउनुभयो ।

सरकारको कर्तव्य नागरिकलाई सुरक्षा दिनु नै भएको भन्दै आफूलाई लक्षित धम्कीपूर्ण गतिविधि भइरहे पनि सरकारले उदासीनता देखाएको आरोप लगाउनुभयो । सामाजिक सञ्जालमार्फत आफ्नै निजी घरको लोकेसन सार्वजनिक गरी ‘घर घेर्न जाऔँ’ भन्ने जस्ता गतिविधि भइरहे पनि सरकारले कुनै पहल नगरेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । ‘अहिले तपाईँहरूले सामाजिक सञ्जालमा हेर्नुभएको होला, केपी ओलीको घर लोकेट गरेर घर घेर्न जाऔँ भनेर देखाइएको छ, घर तोकिएको छ, सरकार के हेरेर बसेको छ ?’

अध्यक्ष ओलीले सरकारले सुविधा, गाडी, पासपोर्ट रोक्ने लगायतका मुद्दा चलाउने कुरा गरिरहेको तर कर्तव्यबोध नगरेको बताउनुभयो । ‘सरकारले सुविधा फिर्ता गर्छु, गाडी फिर्ता गर्छु, पासपोर्ट रोक्छु, यिनीहरूमाथि मुद्दा चलाउँछु भनेको छ, तर सरकारको कर्तव्य के हुन्छ कि हुँदैन ? सरकारमा हुनेहरूले सुविधा चाहिएन, सुरक्षा दिन पर्छ कि पर्दैन ?’, उहाँले भन्नुभयो ।

उहाँले असुरक्षाको वातावरण सिर्जना गरेर अहिले सत्ता कब्जा गरिएको बताउनुभयो । ‘असुरक्षाको माध्यमबाट सरकारमा पुग्ने, आतङ्क फिँजाएर सरकारमा पुग्ने, अनि अरूलाई सुरक्षा दिन्नँ भन्ने ?’, उहाँले प्रश्न गर्नुभयो ।

अध्यक्ष ओलीले जीवन र राजनीति दुवैमा परिस्थितिहरू स्थायी नहुने उल्लेख गर्दै आशावादी सबैलाई आग्रह गर्नुभयो ।‘म भन्न चाहन्छु, मौसम पनि सधैँ एकनासका रहँदैनन्, फेरि वसन्त आउँछ, झरी बादलको समय आयो भने फेरि शरद ऋतु आउँछ’, उहाँले भन्नुभयो ।

ओलीले जेनजीको नाममा केही युवालाई गुमराहमा पारेर उद्योगहरूमा आगो लगाउने, सम्पदाहरू जलाउने, प्रहरी मार्ने र लुटपाट मच्चाउने काम भएको बताउनुभयो । ‘के खरानी माथि बसेर सुखी हुन सक्नु हुन्छ तपाईँ भविष्यमा ?’, उहाँले भन्नुभयो ।

उहाँले अहिले पत्रकारिता पनि फिक्सनमा चल्ने गरेको बताउनुभयो । पत्रकारले कथा रची रची कसैको चरित्र हत्या गर्ने काम गरेका ओलीको भनाई छ । पत्रकार उनीहरूका छोरा छोरी पनि यही देशमा बाँच्नु पर्ने उहाँले स्मरण गराउनुभयो ।

नेपालको नयाँ पुस्ताले सिंहदरबार, संसद्, अदालत, होटेल, उद्योगमा आगो लगाउनै नसक्ने उहाँले दाबी गर्नुभयो । जनेजी यस दोषबाट मुक्त हुनु पर्नेमा उहाँले जोड दिनुभयो । जेनजी आन्दोलनको नाममा प्रहरीको ब्यारिकेट तोड्ने काम गरिएको उहाँले बताउनुभयो । प्रहरीको ब्यारिकेट तोडिने बित्तिकै जेनजीले आन्दोलनकारीलाई घर फर्कन आग्रह गरेको भन्दै उहाँले भदौ २३ गते बानेश्वरको घटनामा जेनजीको हात नभएको स्पष्ट पार्नुभयो । केही युवालाई घेरा हालेर बानेश्वर लगी घटना घटाइएको ओलीको भनाइ छ ।