जनता टाइम्स

११ आश्विन २०८२, शनिबार १५:४३

मधेसमा कांग्रेस नेतृत्वमा नयाँ सरकार बन्ने


जनकपुर । मधेसमा मुख्यमन्त्री सतिस सिंहको सरकार अल्पमतमा परेपछि नयाँ सरकार गठनको लागि चार दलबिच सहमति भएको छ ।

सत्तारुढ दुई दलले समर्थन फिर्ता लिँदा मुख्यमन्त्री सतिश सिंहको सरकार अल्पमतमा परेको थियो । कांग्रेस प्रदेश संसदीय दलका नेता कृष्णा यादवको नेतृत्वमा सरकार गठन गर्ने चार दलबिच सहमति भएको जनमत पार्टीका नेता महेश यादवले पुष्टि गर्नुभयाे । उहाँका अनुसार मधेसमा नयाँ सरकार बनाउने करिब टुंगो लागिसकेको छ ।

‘विभिन्न चरणको छलफलपश्चात् कांग्रेसलाई नेतृत्व दिएर चार दलको समीकरणमा नयाँ सरकार बनाउने सहमति भएको छ,’ उहाँले भन्नुभयाे। अर्थात् पुरानै समीकरणमा रहेका नेपाली कांग्रेस, नेकपा एमाले, जनमत र लोसपा मिलेर नयाँ सरकार गठन हुने भएको यादवले बताउनुभयाे । उहाँका अनुसार प्रदेश प्रमुख आएपछि बहुमत सांसदहरूको हस्ताक्षरसहित सरकार निर्माणको लागि पत्र पेस गरिनेछ ।

प्रदेश प्रमुख काठमाडौँमा हुनुहुन्छ, उहाँ आजै जनकपुरमा फर्किने सम्भावना छ, उहाँ आज फर्किए आजै, नत्र भोलिसम्म सरकार निर्माणका लागि बहुमतको हस्ताक्षरसहित पत्र पेस गर्ने तयारी गरिएको छ,’ उहाँले भन्नुभयाे।

मुख्यमन्त्री कांग्रेसलाई दिने सम्झदारी भए पनि कुन पार्टीलाई कतिवटा मन्त्रालय दिने त्यसमा भने सहमति भइनसकेको उहाँको भनाइ छ।

जनमतले यही २८ गते आफ्नो पार्टीबाट मुख्यमन्त्री बनेका सिंहलाई फिर्ता बोलाएको थियो, मुख्यमन्त्री आफै सांसद रहेको पार्टीले उहाँलाई सरकारबट बाहिरिन भनेपछि कांग्रेसले गत बुधबार सरकारबाट समर्थन फिर्ता लिएको थियो ।

मधेसमा सरकार निर्माणका लागि ५४ सांसदको बहुमत आवश्यक छ । नयाँ समीकरणअनुसार प्रदेश सभामा कांग्रेसको २२, एमालेको सभामुखसहित २४ (एकजना निलम्बनबाहेक) जनमतको १३, लोसपाको ८ जना (एक निलम्बनबाहेक) का सांसद छन् । यो संख्यालाई आधार मान्ने हो भने नयाँ सरकार निर्माणका लागि पर्याप्त बहुमत छ ।