जनता टाइम्स

१६ कार्तिक २०८२, आईतवार २१:२८

धेरै थरी जेनजी देखा परेका छन्, धेरै माग आउन थालेका छन् : प्रधानमन्त्री सुशीला कार्की


काठमाडौं, कात्तिक १६। प्रधानमन्त्री सुशीला कार्कीले मुलुक बनाउने जिम्मेवारी सबैको भएको बताउनुभएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भएको बैठकमा उहाँले भन्नुभयो, ‘हामी सबै मिलेर मुलुक बनाउने हो, हामीले नसुधारे कसैले सुधारिदिँदैन, त्यसैले जेजस्ता समस्या छन्, मिलेर समाधान गरौँ।’

प्रधानमन्त्री कार्कीले आफू राजनीतिक नेता नभएको र परिस्थितिले यहाँ ल्याइपुर्‍याएको बताउँदै भन्नुभयो, ‘गत भदौ २३ गते अघिसम्म त यो परिस्थिति आउला भन्ने अनुमान पनि नभएको हो।’

उहाँले हाल देखा परेका जेनजीहरूको सुरुको माग भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा रहेको बताउँदै भन्नुभयो, ‘अब त धेरै थरी जेनजी देखा परेका छन्, धेरै माग आउन थालेका छन्।’

प्रधानमन्त्री कार्कीका जेनजीकाे व्यवहार प्रति पनि दिक्दारी व्यक्त गर्नुभयो ।  ‘कतिपय जेनजी आएर चर्का कुरा गरेर जान्छन्, कतिपय भित्र ठिकठाक हुन्छन्, बाहिर गएर मनोमानी बोल्छन्, जेसुकै भए पनि ती सबै हाम्रा छोराछोरी हुन्, सिक्दै छन्, कतिपय त निकै नै परिपक्व कुरा पनि गर्छन्, हामीले भन्दा धेरै कुरा उनीहरूले जानेका छन्’, उहाँले भन्नुभयो ।

उहाँले प्रदेश सरकारसँग सहकार्य गरेर अघि बढ्ने स्पष्ट धारणा राख्दै भन्नुभयो, ‘संविधानले दिएको परिधिभित्र रहँदै काम गर्छौँ, संविधानले बनाएका संरचनाको सम्मान गर्नुपर्छ, स्थायित्वका लागि निर्वाचित सरकार नै चाहिन्छ, निर्वाचन र राजनीतिक दल एकर्काका परिपूरक हुन्, राजनीतिक दल नभई यो व्यवस्था चल्दैन, त्यसैले स्वतन्त्र विज्ञ भनेर नाम चलेका व्यक्तिहरू पनि चुनाव लड्न दल खोल्दै छन्।’

प्रधानमन्त्री कार्कीले जेनजीहरूलाई समेत राजनीतिक रूपमा अघि बढ्न सुझाव दिनुभएको छ। उहाँले भन्नुभयो, ‘जेनजीहरूलाई पनि पार्टी खोलेर चुनावमा सहभागी होऊ र आफ्ना एजेन्डा जनताबाट अनुमोदन गराऊ भनेका छौँ, कोही कोही बरालिएका छन्, कोही उग्र पनि छन्, उनीहरूले यो समयको संवेदनशीलता र अन्तरिम सरकारका सीमा बुझ्नुपर्छ।’

निर्वाचनको वातावरण बनाउने सरकारको मुख्य प्राथमिकता भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले सुरक्षा निकायका लागि आवश्यक बन्दोबस्तीका सामानको व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो। उहाँले यस कार्यमा प्रदेश सरकारको पनि भूमिका अपरिहार्य हुनेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, ‘प्रहरीका लागि तत्काल आवश्यक गाडी खरिदको प्रक्रिया अघि बढिसकेको छ, छिमेकी मुलुकहरूले पनि सवारीसाधन उपलब्ध गराउँदै छन्, केही मित्रराष्ट्रले आर्थिक सहयोग गर्ने वचन दिएका छन्।’

प्रधानमन्त्री कार्कीका अनुसार, आन्दोलनमा क्षतिग्रस्त भएका प्रहरीका ९० प्रतिशत संरचना स्थानीय जनताले नै बनाइदिएका छन्। यसले प्रहरीको मनोबल उकास्न र जनतासँगको सम्बन्ध थप कसिलो बनाउन मद्दत गरेको छ।  ‘अहिलेभन्दा निकै प्रतिकूल अवस्थामा पनि चुनाव भएको छ, जेनजीहरूले पनि चुनाव हुनुपर्छ र अहिलेको अवस्थामै गर्न सकिन्छ भनेका छन्, दलहरूसँगको संवादले अझै बढी चुनावका पक्षमा वातावरण बनेको महसुस भएको छ।’

प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगलाई चाहिने १ सय २० प्रकारका सामग्रीमध्ये ९० प्रतिशतभन्दा बढी उपलब्ध भइसकेको र बाँकी व्यवस्थापनको तयारी भइरहेको बताउनुभयो। उहाँका अनुसार, ‘आयोगले पनि तोकिएकै समयमा चुनाव गराउन सकिनेमा पूर्ण विश्वास दिलाएको छ।’

प्रधानमन्त्री कार्कीले लुटिएका र हराएका हतियार फेला पर्दै गएको र बाँकी रहेका हतियारको लोकेसन पनि पत्ता लागिसकेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘भागेका कैदी पनि फर्कन लागेका छन्, सुरक्षित वातावरण बन्छ भन्नेमा ढुक्क हुन आग्रह गर्छु।’

प्रधानमन्त्री कार्कीले यस काममा स्थानीय सरकारले पनि हातेमालो गर्नुपर्ने बताउनुभयो। ‘तीनै तहका सरकारसँग समन्वय गरेर मात्रै अघि बढ्न सकिन्छ, अबको छलफल स्थानीय सरकारका प्रतिनिधिसँग हुनेछ।’