जनता टाइम्स

१७ कार्तिक २०८२, सोमबार ०७:५०

आमने-सामने हुँदै गृहमन्त्री अर्याल र मेयर बालेन्द्र


काठमाडौं, १७ कात्तिक ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गृहमन्त्री ओमप्रकाश अर्यालसँग आक्रोश पोख्न सुरु गर्नुभएको छ ।

आफ्नो योजनाअनुसार काम नगरेको आरोप लगाउँदैै मेयर बालेन्द्रको टिमले गृहमन्त्री अर्यालसँग टसल सुरु गरेका हुन् ।त्यसको पहिलो उदाहरण थापाथलीस्थित प्रहरी बिट भत्काउनु हो ।

शनिबार लगातार माइकिङ गरेर आइतबार महानगर प्रहरी बलको टोली प्रहरी चौकी भत्काउन पुगेको थियो । हुन त कानुनविपरीत बनेका संरचना भत्काउनु कामपाको दायित्व हो । तर, कामपाले सरकारी जग्गामा फोहोर थुपार्दा सरकारले केही गुनासो गरेको छैन । त्यतिमात्र होइन कामपाले हाल ठेक्का दिएका फोहोर संकलन केन्द्र सरकारी स्वमित्वमा पर्छन् ।

तर, मेयरको निर्देशनमा गुठी संस्थानको सम्पत्तिमाथि पटकपटक डोजर चलाउने प्रयास भयो । मेयर साहले थापाथलीमा त प्रहरीसँग मुठभेट गर्न खोज्नुभयो यतिले मात्र नपुगेर बालुवाटार प्रधानमन्त्री निवास अगाडिको प्रहरी चौकीसमेत भत्काउन खोज्नुभयो ।

जिल्ला प्रशासन कार्यालयको निर्देशनका कारण आइतबार दुई प्रहरी चौकी भत्कनबाट जोगियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार पत्र पठाएर थापाथली–त्रिपुरेश्वर खण्डको दक्षिणतर्फ रहेको ट्राफिक प्रहरी कार्यालयलाई हालका लागि नहटाउन कामपालाई अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा हस्ताक्षरित पत्रमा राम शाहपथस्थित ट्राफिक प्रहरी मुख्यालयको भवन तथा ब्यारेक गत आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण क्षतिग्रस्त भएकाले करिब सय जना प्रहरीलाई तत्काल अन्यत्र सार्न सम्भव नभएको उल्लेख छ ।

पत्रमा महानगरपालिकाले सो स्थानबाट ट्राफिक कार्यालय हटाउने सूचना र माइकिङ गरेको जानकारी दिँदै हालको विषम परिस्थितिलाई मध्यनजर गरी केही समयका लागि सो कार्य नगर्न अनुरोध गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले ट्राफिक कार्यालयको दीर्घकालीन व्यवस्थापनका लागि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयसँग आवश्यक समन्वय गरिने जनाएको थियो । साथै, सम्पदा स्थलको संरक्षण र व्यवस्थापनमा महानगरपालिकालाई सहयोग गर्न प्रतिबद्धता पनि जनाएको थियो ।जिप्रकाको पत्र आउँदा पनि कामपा प्रहरीले भत्काउने प्रयास गरेको थियो ।

ठूलो संख्यामा प्रहरी परिचालन गरेपछि केही समयका लागि रोकिएको छ । कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेले अब केही दिन दुई प्रहरी चौकी भत्काउने काम स्थगित भएको बताउनुभयो ।मेयर साहका पूर्वकानुनी सल्लाहकार रहनुभएका गृहमन्त्री अर्याललाई आफूले भनेको सबै विषय मान्नुपर्ने धारणा मेयर साह र उहाँको सचिवालयको छ ।

त्यसैले गृहमन्त्री हुनासाथ मेयर साहले विज्ञ इन्जिनियर धीरज जोशीलाई स्वकीय सचिव बनाउन सफल हुनुभएको थियो । उच्चस्रोतका अनुसार मेयर साहको जबरजस्ती काम गर्न इन्कार गरेपछि गृहमन्त्री र मेयरको सम्बन्ध चिसिएको छ ।

जेन–जी आन्दोलनको क्रममा दोषीमाथि कारबाही गर्न नसकेको भन्दै मेयर साहले गृहमन्त्रीको आलोचना गर्नुभएको थियो । मेयर साहले गृहमन्त्री हटाउन दबाब दिएको विषयसमेत सञ्चारमाध्यमा छरपस्ट भएको थियो । प्रम कार्यालयले विज्ञप्ति जारी गर्दै कसैको करबलमा कसैलाई हटाउन नमिल्ने आशयसहितको विज्ञप्ति जारी गरेको थियो ।