जनता टाइम्स

२६ कार्तिक २०८२, बुधबार २०:२१

जेन्जी सरकारकी महान्यायाधिवक्ताको स्वार्थ – आफू र छोरी जोडिएको संस्थालाई डिम्ब तस्करी मुद्दामा ‘क्लिन चिट’


काठमाडौं, २६ कात्तिक । महान्यायाधिवक्ता सविता भण्डारीले आफ्नै लगानी रहेको होप फर्टिलिटी एन्ड रिसर्च सेन्टरलाई डिम्ब तस्करीको मुद्दामा क्लिन चिट दिनुभएको छ । जेनजी आन्दोलनको बलमा महान्यायाधिवक्ता बन्नुभएकी भण्डारीको यो कदमले भ्रष्टाचार र सुसासन विरुद्धको विश्वसनीयतामै गम्भीर प्रश्न चिन्ह उठेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानमा संगठित गिरोहले नाबालिग किशोरीहरूलाई आर्थिक प्रलोभनमा पारेर डिम्ब संकलन गरी दम्पतीलाई लाखौँमा बिक्री गरेको खुलासा भएको थियो ।

(सीआईबी) ले गत भदौमा बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ६६ अनुसार डा. स्वस्ति शर्मासहित सात जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा बुझाएको थियो । महान्यायाधिवक्ता भण्डारीले गत ३० असोजमा डा. स्वस्ति शर्मासमेत उपर बालबालिकासम्बन्धी ऐन २०७५ अन्तर्गत कसुरमा मुद्दा नचलाउने निर्णय गर्नुभएको छ । यो निर्णय गर्नुमा सिधै भण्डारीको स्वार्थ जोडिएको देखिन्छ । होप फर्टिलिटीमा उहाँको समेत लगानी छ, जसमा उनकी छोरी डा. प्रत्युषा बराल कार्यरत हुनुहुन्छ। त्यसैगरी डा. स्वस्ति शर्मा महान्यायाधिवक्ता भण्डारीको पारिवारिक सदस्यसमेत हुनुहुन्छ। स्वस्ति भण्डारीकी सानीआमाकी छोरी पर्नुहुन्छ । भण्डारीले सेन्टरमा आफ्नो परिवारको लगानी रहेको स्वीकार गनुभएको छ। तर निर्णय प्रक्रियामा आफू संलग्न नरहेको दाबी गर्नुभएको छ । होप फर्टिलिटी सेन्टरमा सविताकै समेत लगानी छ । जसमा उहाँकी छोरी डा। प्रत्युषा बराल कार्यरत छिन् । होपकी मुख्य व्यक्ति डा. स्वस्ति शर्मा पनि भण्डारीकी सानीआमाकी छोरी हुन् ।

होपले डिम्ब निकालेपछि दुई किशोरीमा स्वास्थ्य समस्या देखियो । त्यसपछि उनीहरूले नै सीआईबीमा उजुरी दिएका थिए । किशोरीको उजुरीपछि सीआईबीले अनुसन्धान थालेको थियो । अनुसन्धानमा आर्थिक प्रलोभनमा पारेर डिम्ब निकालिएको प्रमाण फेला परेको थियो । अनुसन्धानका क्रममा १६–१७ वर्षका किशोरीबाट १० हजार रुपैयाँमा खरिद गरिएका डिम्ब १८ लाख रुपैयाँसम्ममा बिक्री गरेको पाइएको थियो ।किशोरीहरूले आफूहरूलाई १० हजार रुपैयाँ दिएर डिम्ब निकालिएको बयान दिएका छन् । पीडित किशोरीले आफूहरूलाई ९ देखि १० दिनसम्म इन्जेक्सन लगाएर राखिएको बताएका छन् ।