जनता टाइम्स

२८ कार्तिक २०८२, शुक्रबार १७:०३

एमाले रामेछापको जनप्ररदर्शनकाे तयारी पुरा : संसद् पुनर्स्थापना मुख्य माग 


रामेछाप, कात्तिक २८ । नेकपा एमाले रामेछापले शनिबार आयोजना गर्न लागेको जनसभाका लागि सबै तयारी पूरा भएको जनाएको छ।

शक्ति प्रदर्शन सहितको जनसभा शान्तिपूर्ण रूपमा सम्पन्न गरिने एमालेले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । पत्रकार सम्मेलनका मन्थली बजारका मुख्य सडक क्षेत्र भएर र्‍याली तथा जनसभा हुने भएकाले स्थानीय नागरिकलाई असुविधा नहोस् भन्ने उद्देश्यले कार्यक्रम छोटो समयमै सक्ने तयारी गरिएको जानकारी दिइएको छ ।

भदौ २३ र २४ गते भएको घटनाको निष्पक्ष छानबिन, संसद् पुनःस्थापना, तथा आन्दोलनका क्रममा भएका लुटपाटलगायतका घटनामा सत्य–तथ्य पहिचानका लागि दबाब सिर्जना गर्न जनसभा आयोजना गर्न लागिएको एमाले रामेछापका प्रचार तथा प्रकाशन विभाग प्रमुख राकेश श्रेष्ठले जानकारी दिनुभयो।

उहाँका अनुसार कात्तिक २६ गते बसेको बैठकले उप–सचिव मिलन घिसिङको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन तथा स्वयंसेवक परिचालन टिम गठन गरेको छ। त्यस्तै, प्रचार प्रसार विभागको संयोजकत्वमा छुट्टै प्रचार टिम समेत बनाइएको श्रेष्ठले जानकारी दिनुभयाे । श्रेष्ठका अनुसार कार्यक्रम सफल बनाउन वडा कमिटीदेखि केन्द्रिय कमिटीसम्मका संरचना तथा जनसंगठनहरू पूर्ण रूपमा परिचालित गरिएको छ।

पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य कमलप्रसाद चौलागाईंले भदौ २३ र २४ का घटना छानबिनका लागि गठन भएको आयोगले न्याय दिन नसक्ने बताउनुभयो। आयोगमा रहेका सदस्यहरू सुरुदेखिनै एमालेप्रति पूर्वाग्रही देखिएकाले निष्पक्षता सुनिश्चित नहुने उहाँको टिप्पणी छ।

एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले जेनेजीलाई प्रयोग गरेर नेपाली संविधान मेटाउने उद्देश्यले भदौ २३ र २४ का घटना गराइएको दाबी गर्नुभयो। माइतीघरबाट बानेश्वर आइपुग्दा आन्दोलनलाई ‘आपराधिक समूह’ले हाइज्याक गरेको उल्लेख गर्दै उहाँले जेनेजी आन्दोलन बानेश्वर आइपुग्दा त्यो आन्दोलन नभई ‘भौतिक आक्रमण’मा परिणत भएको बताउनुभयो।

उहाँका अनुसार संसद् पुनःस्थापना गरी अर्ली इलेक्सनमा जानु पर्ने एमालेको आधिकारिक माग हो।