जनता टाइम्स

७ मंसिर २०८२, आईतवार १३:०६

विराटनगरमा महेश बस्नेत चढेको गाडीमा रङ छ्यापियो, दुई जना पक्राउ


मोरङ,  मंसिर ७  । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतमाथि विराटनगर विमानस्थलमा दूर्व्यवहारको प्रयास भएको छ। एमाले नेता बस्नेत सवार गाडीमा प्रदर्शनकारीले बेलुनको लोला र रङ हानेका हुन्।

इटहरीमा आयोजित युवा संघको जनजागरण अभियानमा सहभागी हुन श्री एयरको जहाजमार्फत आज बिहान १०:५० बजेको उडानमा आउनुभएका उहाँमाथि दुर्व्यवहारको प्रयास गर्ने २ जना पक्राउ परेका प्रहरीले जनाएको छ। उनीहरुले बस्नेतको विरोधमा नाराबाजी पनि गरेका थिए।

प्रहरीका अनुसार विराटनगर महानगरपालिका – २ बस्ने १९ वर्षीय अर्पित कुँवर र विराटनगर–१ का २५ वर्षीय संजोग गौतम पक्राउ परेका हुन्।

बस्नेत कार्यक्रमस्थल इटहरीतर्फ लागि सक्नुभएको छ। अहिले अवस्था सामान्य छ ।

प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ।यस अगाडि पनि सिमरामा एमालेका महासचिव शंकर पोखरेल र बस्नेत काठमाडौंबाट जान लाग्दा विमानस्थलमा जेनजीका नाममा प्रदर्शन गरेका थिए।