काठमाडौं, कात्तिक ७ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी निर्वाचनको तयारीलाई तीव्र बनाउने र सरकारका गलत कामकारबाहीबारे जनतामाझ प्रचार गर्ने उद्देश्यसहित आजदेखि दुईमहिने जागरण अभियान सञ्चालन गर्दैछ ।
कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म सञ्चालन हुने अभियानमार्फत पार्टीले संगठन सुदृढीकरणदेखि जनजीविकाका सवाल उठाउनेसम्मका कार्यक्रम अघि बढाउने भएको छ ।
नेकपाले अभियानलाई आगामी निर्वाचनको तयारीसँगै जनतासँगको सम्बन्ध विस्तार गर्ने अवसरका रूपमा लिएको छ । पार्टीका विभिन्न समिति तथा जनवर्गीय संगठनको समायोजन पूरा गर्ने, सदस्यता नवीकरण तथा विस्तारलाई तीव्रता दिने र पार्टीका गतिविधिलाई जनस्तरसम्म पुर्याउने अभियानको मुख्य उद्देश्य रहेको छ ।
अभियानका क्रममा महँगी, भ्रष्टाचार, कालोबजारी, बेरोजगारी र असुरक्षालगायत जनताले दैनिक भोग्नुपरेका समस्यालाई प्राथमिकताका साथ उठाइनेछ । जनताका माग र समस्याहरू संकलन गरी सम्बन्धित निकायमा प्रस्तुत गर्ने तथा तिनको समाधानका लागि दबाब सिर्जना गर्ने नेकपाको योजना छ ।
त्यसैगरी, राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, जनअधिकार, सुशासन र जनजीविकाका विषयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । श्रम तथा जनसेवाका गतिविधि, सांस्कृतिक कार्यक्रम र विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाका काममा सहयोग गर्ने कार्यक्रमसमेत अभियानमा समेटिएका छन् ।
नेकपाका अनुसार दुईमहिने जागरण अभियानअन्तर्गत निम्न कार्यक्रम सञ्चालन गरिनेछन् :
१. संगठन समायोजन : पार्टी समितिहरू तथा जनवर्गीय र मोर्चा संगठनहरूको समायोजनको बाँकी काम सम्पन्न गर्ने ।
२. सदस्यता विस्तार : संगठित सदस्यताको नवीकरण तथा विस्तार अभियानलाई तीव्र रूपमा सञ्चालन गर्ने ।
३. बैठक तथा प्रशिक्षण : पार्टीका बैठक, भेला, प्रशिक्षणलगायतका कार्यक्रम सञ्चालन गर्ने ।
४. जनतासँग सम्बन्ध विस्तार : जनता र पार्टीबीचको सम्बन्ध प्रगाढ बनाउन जनताकेन्द्रित विभिन्न कार्यक्रम सञ्चालन गर्ने ।
५. सांस्कृतिक तथा रचनात्मक गतिविधि : सांस्कृतिकलगायतका रचनात्मक कार्यक्रम सञ्चालन गर्ने ।
६. जनताका माग संकलन : जनताका माग तथा दैनिक जनजीविकासँग सम्बन्धित मुद्दा संकलन गरी सम्बन्धित निकायमा प्रस्तुत गर्ने र कार्यान्वयनका लागि पहल गर्ने ।
७. श्रम तथा जनसेवा : श्रम र जनसेवासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने ।
८. विपद् प्रभावितलाई सहयोग : विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा सहयोग गर्ने ।
९. जनचेतनामूलक कार्यक्रम : राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, जनअधिकार, सुशासन तथा जनजीविकाका सवालमा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्ने ।
१०. जनताका समस्यामा दबाब : महँगी, भ्रष्टाचार, कालोबजारी, बेरोजगारी, असुरक्षा तथा जनताका अन्य समस्याबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराउने । यसका लागि केन्द्रमा प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री तथा सम्बन्धित जिल्लामा प्रमुख जिल्ला अधिकारी वा अन्य सम्बन्धित निकायसमक्ष मागपत्र र ज्ञापनपत्र प्रस्तुत गर्ने ।
कात्तिक ७ देखि मंसिर २५ गतेसम्म सञ्चालन हुने अभियानमार्फत नेकपाले संगठनात्मक गतिविधिलाई प्रभावकारी बनाउँदै आगामी निर्वाचनका लागि तयारी अघि बढाउने र जनताका समस्यालाई राजनीतिक बहसको केन्द्रमा ल्याउने लक्ष्य राखेको छ ।














प्रतिक्रिया दिनुहोस्