जनता टाइम्स

७ कार्तिक २०८३, शनिबार ११:४८

धार्मिक तथा सांस्कृतिक आस्था, प्रकृति र नेपाली पहिचानको सङ्गम रामेछापकाे बिटार पार्क


रामेछाप, कात्तिक ७ । छोटो दूरीको यात्रा, शान्त वातावरण, प्राकृतिक सौन्दर्य र नेपाली मौलिक पहिचानको अनुभव लिन चाहनेका लागि रामेछापको बिटार पार्क नयाँ गन्तव्य बन्दै गएको छ । स्थानीय युवाको परिकल्पना र सामुदायिक पहलबाट सुरु भएको यो पार्क अहिले धार्मिक आस्था, मनोरञ्जन र पर्यटनको संगमस्थलका रूपमा चिनिन थालेको छ ।

रामेछाप नगरपालिका–८ बाबियाखर्कमा अवस्थित बिटार पार्क रामेछाप र मन्थली नगरपालिकाको सिमानामा पर्दछ । मन्थली बजारबाट सवारीसाधनमा करिब १० मिनेट र पैदल यात्रा गर्दा आधा घण्टामा पुग्न सकिने भएकाले यो पार्क छोटो समयको घुमफिरका लागि उपयुक्त गन्तव्य बनेको छ । व्यस्त दैनिकीबाट केही समय टाढा रहेर प्रकृतिसँग रमाउन, परिवारसँग समय बिताउन र नेपाली कला तथा संस्कृतिको झलक अनुभव गर्न चाहनेहरूका लागि पार्कले फरक आकर्षण प्रस्तुत गर्दछ ।

पार्कको विशेषता यसको प्राकृतिक वातावरणमा मात्र सीमित छैन । यहाँ निर्माण गरिएका धरहरा, सगरमाथा र नेपाली खुकुरी, लक्ष्मीप्रसाद देवकाेटाकाे प्रतिमाले नेपालको राष्ट्रिय पहिचान, गौरव र मौलिकताको झल्को दिन्छन् । डाइनसर, जिराफ, हात्ति, गैँडा, हरिण लगायत  विभिन्न जनावरका प्रतिमाले वन्यजन्तु तथा जैविक विविधताबारे चासो जगाउने अवसर प्रदान गर्छन् । पार्क परिसरमा रहेको टावरबाट आसपासका दृश्य नियाल्न सकिन्छ भने बालबालिकाका लागि पिङलगायत खेल्ने संरचनासमेत राखिएका छन् । हरियाली र खुला वातावरणले यसलाई परिवार तथा साथीभाइसँग रमाउने स्थल बनाएको छ  । 

बिटार पार्कलाई अन्य घुमफिरका स्थलभन्दा फरक बनाउने पक्ष यहाँको धार्मिक महत्त्व पनि हो । बाबियाखर्कका घिमिरे परिवारको कुलमन्दिर पार्क परिसरमै रहेको छ । घिमिरे समाजले आफ्नै लगानीमा आकर्षक कुलमन्दिर निर्माण गरेपछि पार्क धार्मिक आस्था र सांस्कृतिक परम्परासँग पनि जोडिएको छ ।

यसले पार्कलाई मनोरञ्जनका लागि पुग्ने स्थानमा मात्र सीमित नराखी पारिवारिक तथा धार्मिक गतिविधि र स्थानीय सांस्कृतिक पहिचानसँग जोडिएको गन्तव्यका रूपमा अघि बढाउने आधार तयार गरेको छ । प्राकृतिक सौन्दर्यसँगै धार्मिक आस्थाको अनुभव लिन चाहने आगन्तुकका लागि यो विशेष आकर्षण बन्न सक्छ ।

बिटार पार्कको विकास यात्रा स्थानीय युवाको पहलबाट सुरु भएको हो । कोरोना महामारीका समयमा स्थानीय युवाहरूको समूहले पार्क निर्माणको परिकल्पना गर्दै काम अघि बढाएको थियो । त्यसपछि बागमती प्रदेश सरकार तथा स्थानीय सरकारको चासो र सहयोगसँगै यहाँ विभिन्न संरचना निर्माण गरिएका छन् । अहिले पनि थप संरचना निर्माण र हरियाली विस्तारका काम जारी छन् ।

स्थानीय स्तरबाट सुरु भएको यो प्रयासले सामुदायिक सहभागितामार्फत सार्वजनिक महत्वको स्थल विकास गर्न सकिने सम्भावना देखाएको छ । पार्कको आकर्षण बढ्दै जाँदा यसको व्यवस्थित संरक्षण, दीर्घकालीन योजना र प्रचारप्रसारमा ध्यान दिन सके रामेछापको पर्यटन प्रवर्धनमा योगदान पुग्ने अपेक्षा गर्न सकिन्छ ।

पार्क संरक्षणमा संलग्न दिनेश सार्कीका अनुसार पार्क व्यवस्थित हुँदै जाँदा घुम्न आउने मानिसको सङ्ख्या पनि बढ्दै गएको छ । आगन्तुकहरूले पार्कमा थप पूर्वाधार र संरचना निर्माण गर्न सुझाव दिने गरेका छन् । तर, पार्कको छेउमा रहेका कुखुरा फार्म व्यवस्थित नहुँदा दुर्गन्ध फैलिने समस्या रहेको उहाँले बताउनुभयो । विशेष गरी पिकनिकका लागि आउने आगन्तुकले यसबारे गुनासो गर्ने गरेका छन् ।

पर्यटकको आकर्षण बढाउन पार्कभित्रका संरचना निर्माणसँगै वरपरको वातावरण व्यवस्थापन पनि उत्तिकै आवश्यक देखिन्छ । दुर्गन्धको समस्या समाधान, नियमित सरसफाइ, स्वच्छ खानेपानी, व्यवस्थित शौचालय, विश्राम स्थल र पिकनिक क्षेत्रको व्यवस्थापन गर्न सके आगन्तुकले थप सहज र सुखद अनुभव लिन सक्नेछन् ।

बिटार पार्कलाई मनोरञ्जन स्थलसँगै प्राकृतिक, सांस्कृतिक तथा जैविक विविधताबारे जानकारी दिने शैक्षिक गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना पनि छ । वन्यजन्तु तथा स्थानीय जैविक विविधतासम्बन्धी सूचनामूलक सामग्री थप्न सके विद्यार्थी, अनुसन्धानकर्ता र प्रकृति प्रेमीका लागि समेत यो उपयोगी स्थल बन्न सक्छ । यसलाई विद्यालय तथा शैक्षिक संस्थाका विद्यार्थीलाई लक्षित गरी शैक्षिक भ्रमणस्थलकाे रूपमा विकास गर्न सकिन्छ । 

बिटार पार्कमा आगन्तुकको आवागमन बढाउन सके यसको लाभ स्थानीय अर्थतन्त्र विस्तारमा हुन सक्छ । स्थानीय कृषि उपज, परम्परागत परिकार, हस्तकला तथा अन्य उत्पादनको बिक्रीका लागि अवसर सिर्जना हुन सक्छ । त्यस्तै, यातायात, खानपान र साना व्यवसायमा आर्थिक गतिविधि बढ्नुका साथै स्थानीय युवाका लागि रोजगारी तथा स्वरोजगारका सम्भावना पनि विस्तार हुन सक्छन् ।

यसका लागि पार्कको प्रचारप्रसारलाई मन्थली र रामेछापका अन्य पर्यटकीय तथा धार्मिक स्थलसँग जोड्न सकिन्छ । मन्थलीबाट बिटार पार्क, बालकन्यादेवीथान, गंगालाल र पुष्पलाकाे जन्मथलो भँगेरी,  तिल्केस्थान गढी, रामेछाप बजार, ताराखसे पाेखरी र भालुखाेप डाँडाको यात्रालाई जोड्ने हो भने अध्ययन भ्रमणको एउटा सर्किट नै बन्न सक्छ । 

स्थानीय समुदाय, युवा समूह, व्यवसायी तथा तीनै तहका सरकारबीच समन्वय र सहकार्य हुन सके बिटार पार्कको विकासलाई थप प्रभावकारी बनाउन सकिन्छ । धार्मिक महत्त्व र प्राकृतिक सौन्दर्यको संरक्षण गर्दै आवश्यक पूर्वाधार विस्तार तथा व्यवस्थापनमा ध्यान दिन सके यो पार्क रामेछापको पर्यटन प्रवर्धनको महत्त्वपूर्ण आधार बन्न सक्छ ।