जनता टाइम्स

९ मंसिर २०८२, मंगलवार १०:५५

गाउँमै बसेर उद्यम सिर्जना गर्दै रामेछापका उमाकुण्ड–४ का एक दम्पती,  बजार नपाउँदा समस्या झेल्दै 


रामेछाप, मंसिर ९ । रामेछापको उमाकुण्ड गाउँपालिका–४ प्रीतिका एक दम्पती आफ्नै सीप र श्रमका आधारमा गाउँमै उद्यमशीलताको उदाहरण स्थापित गर्न लागिरहनुभएको छ।

प्रीतिका गुञ्जनबहादुर सार्की र उहाँकी पत्नी मिना सार्कीले पुर्खादेखि चल्दै आएको परम्परागत जुत्ता–चप्पल बनाउने पेसालाई आधुनिकीकरण गर्दै गाउँमा नै जुत्ता, चप्पल र ब्याग उत्पादन गर्ने उद्योग सञ्चालन गर्दै आउनुभएको छ । गुञ्जनबहादुर र मिना दम्पतीले ‘गाउँमा बसेर केही गरौँ’ भन्ने सोचसहित सुरु गरेको यो उद्योग अहिले विस्तारित बन्दै गएको छ।

काठमाडौंका उद्योगहरूबाट आउने उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्ने गुणस्तर, राम्रो फिनिसिङ र आधुनिक डिजाइनका कारण स्थानीय उपभोक्ताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको मिनाले बताउनुभयो। हाल उद्योगमा १० वटा मेसिन सञ्चालनमा छन्।

तर प्रमुख चुनौती भने बजार विस्तारको रहेको उहाँको गुनासो छ। पर्याप्त उत्पादन क्षमता भए पनि उत्पादन बजारमा लैजान कठिनाइ भइरहेको मिनाले बताउनुभयो ।  ‘सामान उत्पादन गर्न सक्छौँ, तर बजार खोज्न नसकिँदा समस्या भएको छ, बजार पुग्ने हो भने ठुलै परिमाणमा उत्पादन गर्न सक्ने अवस्थामा छौँ, यसबाट स्थानीय स्तरमा अरुलाई पनि रोजगारी दिन सकिन्छ’, उहाँले भन्नुभयो ।

हाल सो उद्योगमा निर्मित जुत्ता तथा ब्याग स्थानीय स्तरमै बिक्री हुँदै आएको छ। कारखानाले छालाका पार्टी तथा स्कुल जुत्ता, सपोर्ट सुज, विभिन्न डिजाइनका लेडिज जुत्ता–चप्पल र विभिन्न प्रकारका ब्याग उत्पादन गर्दै आएको छ। २०७५ सालदेखि नियमित रूपमा उत्पादन हुँदै आएको यो उद्योगमा परिवारका सदस्यहरूले नै दैनिक काम गरिरहेका छन्।

गुञ्जनबहादुरसँगै मिना पनि डिजाइन, कटिङदेखि सिलाइसम्मका सबै कार्यमा सक्रिय रूपमा सहभागी हुनुहुन्छ। छोरा–छोरीले समेत समय मिलेका बेला काममा सहयोग गर्दै आएका छन्। ‘हामीले बजार नै व्यवस्थापन गर्न सकेनौँ, त्यस क्षेत्रमा सहयोग चाहिएको छ, कम्तीमा रामेछापको सदरमुकाम मन्थली र दोलखाको चरिकोटका व्यापारीहरूले मात्रै हाम्रो सामान लिइदिनुभयो भने पनि ठुलो सहयोग हुने थियो, हामी काठमाडौंका उद्योगभन्दा कम मूल्यमा अझ गुणस्तरीय सामान दिन सक्छौँ’, मिनाले भन्नुभयो ।

स्थानीय तह, सहकारी, व्यापार संघ तथा सम्बन्धित निकायले यो र यो जस्तै ग्रामीण उद्योगको उत्पादनलाई जोड्ने बजार प्रवर्धन अभियान चलाइदिने हो भने स्थानीय उद्यमशीलता बढ्ने, रोजगारी सिर्जना हुने र बाहिर जाने पैसा गाउँमै टिक्ने अवसर देखिन्छ। यस किसिमका  उद्योगलाई बजारसँग जोड्ने, प्रदर्शनी सहभागिता, स्थानीय सरकारको तालिम–सहयोग र सहुलियत ऋण जस्ता कार्यक्रमले थप सुदृढ बनाउने सरोकारवालाहरूको भनाइ छ।