रामेछाप, पुस १ । नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ कान्छारामले फागुन २१ गते निर्वाचन हुने आधार नबनेको बताउनुभएको छ ।
रामेछापबाट प्रतिनिधि सभा र राष्ट्रिय सभाका लागि उम्मेदवार सिफारिस गरिएका पार्टीका नेताहरूको नाम सार्वजनिक गर्न मन्थलीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री समेत रहनुभएका तामाङले फागुन २१ गते चुनाव हुने सम्भावना नदेखिएको बताउनुभयो । सरकारको कार्यशैली चुनाव गराउने तर्फ उन्मुख नभएको उहाँको धारणा छ ।
तामाङले चुनाव भइहाल्यो भने कांग्रेस चुनावबाट भाग्ने पार्टी नभएकोले नाम सिफारिस गरिरहेको जानकारी दिनुभयो। उहाँले अहिलेकाे सरकारको चुनाव गराउने हैसियत नै नभएको दाबी गर्नुभयाे ।
उहाँले रामेछाप जिल्लाको विकासका लागि आफूले धेरै काम गरेको बताउँदै मन्त्री, सांसद वा पार्टी सभापति नहुँदा पनि जिल्लाको विकासको काममा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफूले हिजो पदमा नरहँदा पनि जिल्लाको लागि काम गरेको उहाँले बताउनुभयो ।
रामेछाप जिल्लाबाट उपचारकाे लागि काठमाडौं जाने बिरामीलाई केएमसी अस्पतालमा छुटमा उपचारकाे व्यवस्था मिलाएकाे उहाँले बताउनुभयाे । रामेछापका पत्रकारलाई साे अस्पतालमा ५० प्रतिशत छुटमा उपचारकाे व्यवस्था मिलाउने उहाँले बचन दिनुभयाे ।
कार्यक्रममा पार्टी उपसभापति लेखबहादुर कार्कीले जिल्ला कार्यसमितिको बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन तथा माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार बन्न चाहने सबैको नाम केन्द्रमा पठाउने निर्णय गरेकाे बताउनुभयाे । कांग्रेस केन्द्रीय कार्यालयको परिपत्रअनुसार जिल्लाबाट उम्मेदवार सिफारिस गर्नुपर्ने भएपछि रामेछाप जिल्लाबाट उम्मेदवारी दाबी गर्ने सबैको नाम दर्ता क्रमअनुसार जस्ताकोतस्तै केन्द्रमा पठाउने निर्णय गरिएको उहाँले बताउनुभयो ।
सभापति तामाङका अनुसार प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ १० जना, प्रतिनिधि सभा सदस्यको समानुपातिकतर्फ १४ जना र राष्ट्रिय सभा सदस्यतर्फ ५ जनाले उम्मेदवारी दाबी गरेकामा सबैको नाम पठाइएको जानकारी दिनुभयो । उम्मेदवारी दाबी गर्ने कसैको पनि मन नदुखोस् भनेर सबैको नाम केन्द्रमा सिफारिस गरिएको सभापति तामाङले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्