ललितपुर, कात्तिक ५ । पाटन दरबार सङ्ग्रहालयको ऐतिहासिक मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन गरिएको छ। नेवार समुदायको प्राचीन सांस्कृतिक परम्परासँग जोडिएको यो नाचले बुधबार पाटन दरबार क्षेत्रलाई उत्सवमय बनाएको थियो।
दसैँमा विजयादशमी र कोजाग्रत पूर्णिमाका दिन मङ्गलबजारमा नवदुर्गा नाच प्रदर्शन गर्ने परम्परा छ। नाचका लागि ठेचोस्थित देवताघरबाट मुख्य देवता, मुकुन्डो, पोसाक र गरगहना देवगणहरूले खर्पनमा बोकेर मङ्गलबजार पुर्याएका थिए।
ठेचोको नवदुर्गा गुठीका सदस्य विकास मालीका अनुसार यो नाच देवीको शक्तिपूजा र सामुदायिक एकताको प्रतीक हो। ठेचोबाट नवदुर्गा भगवतीलाई मङ्गलबजार पुर्याएर मानमानेश्वरीलाई फूल चढाउने परम्परा रहेको उहाँले बताउनुभयो।
मानमानेश्वरी पायो जात्रा व्यवस्थापन समितिका सदस्य माधवश्याम शर्माका अनुसार मानमानेश्वरी देवीको निमन्त्रणामा ठेचोबाट नवदुर्गालाई पाटनको मङ्गलबजार ल्याउने प्राचीन परम्परा छ। चौबाटोमा मानमानेश्वरी भवानीलाई भेट गरी माल्यार्पण गर्ने तथा नवदुर्गाका देवगण भैरव, बाराही र कालीले फूल चढाएर विमिरो उपहार दिने चलन रहेको उहाँले जानकारी दिनुभयो।
शर्माका अनुसार अष्टमातृका र नवदुर्गाबीच सासु–बुहारीको जस्तो सम्बन्ध मान्ने परम्परा छ। यो नाच लिच्छवीकालीन सांस्कृतिक परम्परासँग जोडिएको मानिन्छ।
नाचअघि ११ देवगण, तीन नाइके र अन्य गुठीयार गरी ३४ जनाले देवताघरमा विशेष पूजा गरेका थिए। स्थानीय सुनिल महर्जनका अनुसार लिच्छवी राजा मानदेवकी इष्टदेवी मनमानेश्वरीसँग सम्बन्धित यो नाच पाटनको सांस्कृतिक धरोहरका रूपमा रहँदै आएको छ।
परम्परागत विधि र सांस्कृतिक प्रस्तुतिसहितको नवदुर्गा नाचले पुरानो सभ्यता र संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।














प्रतिक्रिया दिनुहोस्