बाँके, कात्तिक ४ । बाँकेको जानकी गाउँपालिका–६ कपासीमा विद्युत् सर्ट भई आगलागी हुँदा सातवटा घर पूर्णरूपमा जलेर नष्ट भएका छन्। आगलागीबाट अर्को एक घरको झ्यालमा समेत क्षति पुगेको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बुधबार दिउँसो करिब २ः२० बजे स्थानीय इद्दु खानको घरमा विद्युत् सर्ट भई आगलागी भएको हो। आगलागीको खबर प्राप्त हुनासाथ प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो।
आगलागी नियन्त्रणका लागि कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकाका दमकल घटनास्थलमा पुगेका थिए। प्रहरीका अनुसार दमकल र सुरक्षाकर्मीको प्रयासपछि दिउँसो ४ बजे आगो पूर्णरूपमा नियन्त्रणमा आएको थियो।
आगलागीबाट जानकी गाउँपालिका–६ कपासी निवासी साबिर खान, इद्दु खान, फिरोज खान र जाबिर खानका खरले छाएका एकतले कच्ची घर पूर्णरूपमा जलेर नष्ट भएका छन्। त्यसैगरी, सोही स्थानका जाबेद खान, सरनाम खान र सौरभ खानका टिनले छाएका एकतले कच्ची घर पनि पूर्णरूपमा जलेर नष्ट भएका छन्।
त्यस्तै, स्थानीय महेश खानको पक्की घरको एउटा झ्यालमा समेत आगलागीबाट क्षति पुगेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आगलागीबाट कुनै मानवीय तथा चौपाया क्षति भएको छैन। आगलागीबाट भएको अन्य क्षतिको विवरण भने खुल्न बाँकी रहेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्