जनता टाइम्स

४ कार्तिक २०८३, बुधबार १२:१०

टीका र जमरा लगाएर विजयादशमी मनाइँदै, उत्तम साइत बिहान १०:२६ बजे


काठमाडौं, ४ कार्तिक । बडादसैँ अर्थात् विजयादशमी आज मान्यजनबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदै छ।

नेपाल पञ्चांग निर्णायक विकास समितिले टीका लगाउन चाहनेका लागि बिहान १० बजेर २६ मिनेटको साइत उत्तम रहेको जनाएको छ। टीका लगाइमाग्ने व्यक्ति पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ।

दसैँघर वा पूजा कोठामा नवरात्रका नौ दिनसम्म पूजा आराधना गरिएको नवदुर्गाको प्रसादका रूपमा विजयादशमीका दिन टीका र जमरा लगाउने परम्परा छ। घटस्थापनाका दिन स्थापना गरिएको घडाको जलबाट वैदिक विधिपूर्वक अभिषेक गरी टीका लगाउने चलन छ।

विजयादशमी आफैँमा शुभ दिन भएकाले दिनभर टीका लगाउन सकिने भए पनि साइत खोज्नेका लागि बिहान १० बजेर २६ मिनेटको समय उत्तम रहेको समितिका अध्यक्ष प्रा. पुरुषोत्तम भट्टराईले बताउनुभएको छ। समितिका अनुसार घटस्थापनाका दिन जमरा राखिएको स्थानमा आह्वान गरिएका देवीलाई विसर्जन गर्ने साइत आज बिहान ८ बजेर ४९ मिनेटमा रहेको छ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडादसैँको मुख्य दिन हो। यस दिन गुरु–पुरोहित, हजुरबा–हजुरआमा, बुबा–आमा तथा अन्य मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ।

देशका धेरैजसो ठाउँमा कोजाग्रत पूर्णिमासम्म टीका र जमरा लगाएर आशीर्वाद लिने चलन छ। नेपालका केही भागमा भने कुल परम्पराअनुसार विजयादशमीका दिन मात्रै टीका र जमरा लगाउने गरिन्छ। केही समुदायमा दही र अक्षता मिसाएर सेतो टीका लगाउने परम्परासमेत छ।