काठमाडौं, कात्तिक ४ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
बडादशैँ, तिहार, नेपाल संवत् तथा छठलगायतका पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले विपद्बाट प्रभावित नागरिकको जीवन सामान्य अवस्थामा फर्काउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो।
मुख्यमन्त्री थापाले विशेषगरी भोटेकोसी तथा बूढीगण्डकी क्षेत्रमा आएको बाढीका कारण नागरिकले भोग्नुपरेको पीडाप्रति दुःख व्यक्त गर्दै विपद्बाट प्रभावित सबै नागरिकप्रति ऐक्यबद्धता जनाउनुभएको छ। “विपदबाट प्रभावित सम्पूर्ण नागरिकप्रति ऐक्यबद्धता व्यक्त गर्दै उहाँहरूको जीवन सामान्य अवस्थामा फर्काउन प्रदेश सरकारले काम गरिरहेको जानकारी पनि यसै शुभकामना सन्देशमार्फत जानकारी दिन चाहन्छु,” उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ।
प्राकृतिक विपद्का कारण उत्पन्न पीडा र कठिनाइलाई गम्भीरतापूर्वक स्मरण गर्दै मुख्यमन्त्री थापाले प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउनु राज्यको दायित्व भएको सन्देश दिनुभएको छ। उहाँले उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ।
मुख्यमन्त्री थापाले नेपालीका प्रमुख चाडपर्व धार्मिक तथा सांस्कृतिक आस्थाका अवसर मात्र नभई सामाजिक सद्भाव, आपसी एकता, पारिवारिक सामीप्यता र राष्ट्रिय पहिचानका धरोहरसमेत भएको बताउनुभएको छ। “विविध जातजाति, भाषा, धर्म, संस्कृति र परम्परागत पर्वहरूले आपसी भाइचारा, सहिष्णुता, सद्भाव र एकताको भावना सुदृढ बनाउँदै आएका छन्,” उहाँले सन्देशमा भन्नुभएको छ।
उहाँका अनुसार चाडपर्वले समाजमा प्रेम, सहयोग, सद्भाव र सहअस्तित्वको भावना अभिवृद्धि गर्दै समुन्नत तथा समावेशी समाज निर्माणका लागि प्रेरणा प्रदान गर्छन्।
मुख्यमन्त्री थापाले बडादशैँ, तिहार, नेपाल संवत् तथा छठलगायतका पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ।
उहाँले पर्वहरूले समाजमा आपसी सद्भाव र एकता थप सुदृढ बनाउँदै सबै नागरिकबीच सहयोग, सहकार्य र सहअस्तित्वको भावना विकास गर्ने विश्वास व्यक्त गर्नुभएको छ।
मुख्यमन्त्री थापाले सबै नेपालीलाई चाडपर्वको पुनः हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै विपद्बाट प्रभावित नागरिकको पीडामा साथ दिनु र उनीहरूको जीवन पुनः सामान्य अवस्थामा फर्काउन सहयोग गर्नु सामूहिक दायित्व भएको सन्देश दिनुभएको छ।















प्रतिक्रिया दिनुहोस्