जनता टाइम्स

४ कार्तिक २०८३, बुधबार ११:०८

दसैँको खुसी दुःखमा परेका परिवारसँग बाँडौँ : गगन थापा


काठमाडौं, कात्तिक ४ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विपत्ति र पीडामा रहेका परिवारलाई दसैँको खुसीमा सहभागी गराउन आग्रह गर्नु भएकाे छ। उहाँले चाडपर्वको खुसी घरआँगनमा मात्र सीमित नराखी दुःखमा परेकालाई सहयोग गर्दै एकअर्काको सहारा बन्नुपर्नेमा जोड दिनुभएकाे हाे । 

विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति थापाले दसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस् भन्ने कामना गर्नु भएकाे छ । उहाँले आफूभित्रका कमजोरीलाई जित्ने आत्मबल, अरूको पीडा बुझ्ने संवेदना र सामाजिक सद्भावको भावना सबैमा विकास होस् भन्ने शुभेच्छा व्यक्त गर्नु भएकाे छ । ‘यस वर्षको दसैँ हामीले राष्ट्रिय विपत्ति र पीडाको संवेदनशील परिस्थितिमा मनाउँदै छौँ । धेरै परिवार दुःख, पीडा र कठिनाइमा हुनुहुन्छ,’ थापाले सन्देशमा भन्नुभएकाे छ।

विपत्तिका कारण पीडामा रहेका परिवारको दुःखमा साथ दिनु नै यसपटकको चाडपर्वको मानवीय पक्ष भएको उल्लेख गर्दै उहाँले आफ्नो खुसी अरूसँग बाँड्न र दुःखमा परेकालाई थोरै भए पनि राहत तथा सान्त्वना दिन सक्नुपर्ने बताउनुभएकाे छ । ‘दुःखमा परेका परिवारको पीडामा थोरै भए पनि मलम लगाउन सकौँ, आफ्नो खुसी बाँड्न सकौँ र एकअर्काको सहारा बन्न सकौँ,’ उहाँको सन्देशमा उल्लेख छ ।

थापाले दसैँलाई व्यक्तिगत खुसी र उत्सवमा मात्र सीमित नराखी आपसी सहयोग, सहानुभूति र सामाजिक एकताको भावना अभिवृद्धि गर्ने अवसरका रूपमा लिनुपर्ने सन्देश दिनुभएकाे छ ।