जनता टाइम्स

४ कार्तिक २०८३, बुधबार ०९:१०

परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी : प्रधानमन्त्री साह


काठमाडौं, कात्तिक ४ । प्रधानमन्त्री बालेन्द्र साहले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति हटाउन सबै एकजुट हुनुपर्ने बताउनुभएको छ। विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको उल्लेख गर्नुभएको हो।

“आजको दिनमा आसुरी प्रवृत्तिको रूपमा रहेको भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक व्यथिति हटाउन र हरेक नागरिकलाई हाम्रा लागि सरकार छ भन्ने महसुस गराउन हामी सबै एकजुट हुन आवश्यक छ,” प्रधानमन्त्री साहले सन्देशमा भन्नुभएको छ।

उहाँले इमानदार प्रयास, अठोट र सामूहिक मेहनतले समाजमा विद्यमान विकृति हटाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभएको छ। विजयादशमीले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक सोच त्याग्न प्रेरणा दिने उहाँको भनाइ छ।

प्रधानमन्त्री साहले विजयादशमीका अवसरमा देश तथा विदेशमा रहनुभएका सबै नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ।

पौराणिक मान्यताअनुसार दुर्गा भवानीले महिषासुरमाथि र भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको दिनका रूपमा विजयादशमी मनाइने उल्लेख गर्दै उहाँले यस पर्वले असत्यमाथि सत्यको विजयको सन्देश दिने बताउनुभएको छ।

विजयादशमीका दिन मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराले सत्कर्ममा विजय प्राप्त गर्ने प्रेरणा दिने उहाँले उल्लेख गर्नुभएको छ। टाढा रहनुभएका मान्यजनलाई समेत खोजीखोजी भेट्ने यस परम्पराले पारिवारिक आत्मीयता र सम्बन्धलाई थप प्रगाढ बनाउने उहाँको भनाइ छ।

प्रधानमन्त्री साहले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त नेपाली समाजमा सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एउटै सूत्रमा बाँध्न विजयादशमीले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ। यस पर्वले वर्षौँदेखि छुट्टिएका साथीभाइ तथा आफन्तजनसँग आत्मीयता साटासाट गर्ने अवसरसमेत प्रदान गर्ने उहाँले उल्लेख गर्नुभएको छ।

उहाँले सबैलाई आआफ्नो स्थान र क्षमताअनुसार विजयादशमी मनाउन तथा आपसमा सद्भाव, एकता, सम्मान र माया साटासाट गर्न आग्रह गर्नुभएको छ।