काठमाडौं, कात्तिक ४ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले दसैँजस्ता चाडपर्वले नेपालीबीच पारस्परिक मेलमिलाप, भ्रातृत्व र सामाजिक एकतालाई मजबुत बनाउने बताउनुभएको छ।
बडादसैँका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले विविधताबीचको सौहार्द र एकतालाई थप सुदृढ बनाउन चाडपर्वले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभएको छ। उहाँले विश्वभर रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र निरन्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ।
सभामुख अर्यालले जनताको सार्वभौमसत्ता र राजकीय सत्तालाई अक्षुण्ण राख्दै जनभावनाअनुसार समयसापेक्ष र जनमैत्री कानुन निर्माण तथा परिमार्जन गर्न संघीय संसद् प्रतिबद्ध रहेको बताउनुभएको छ। मुलुकमा सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्न संसद् क्रियाशील रहेको उहाँको भनाइ छ।
विजयादशमीले नवीन ऊर्जा, सोच, नवप्रवर्तन र राष्ट्र निर्माणको सङ्कल्प पैदा गर्ने विश्वास व्यक्त गर्दै उहाँले नेपालको संविधानलाई शिरोपर गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन माता दुर्गा भवानीको आशीर्वाद प्राप्त होस् भन्ने कामना गर्नुभएको छ।
बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त नेपालमा दसैँलाई दूराचारमाथि सदाचार र असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाइने उहाँले उल्लेख गर्नुभएको छ। यस पर्वले समन्याय, सदाचार र लोकतान्त्रिक मूल्यमान्यताको मार्गमा अघि बढ्न प्रेरणा दिने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ।
आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी सुरु हुने बडादसैँमा सप्तमी, अष्टमी र नवमीमा नवदुर्गाको पूजा आराधना गरिन्छ। विजयादशमीका दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्दै पूर्णिमासम्म हर्षोल्लासका साथ यो पर्व मनाउने परम्परा छ।














प्रतिक्रिया दिनुहोस्