काठमाडौं, कात्तिक ३ । बडादशैँको मुख्य दिन बुधबार विजयादशमी पर्व मनाइँदै छ। साे अवसरमा मान्यजनको हातबाट नवदुर्गाको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ।
नवरात्रका नौ दिनसम्म दशैँघर तथा शक्तिपीठमा पूजा–आराधना गरिएकी नवदुर्गाको विधिपूर्वक विसर्जन गरी आज मान्यजनबाट टीका र जमरा थाप्ने परम्परा छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बुधबार बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जन र बिहान १० बजेर २६ मिनेटमा टीका लगाउन उत्तम साइत रहेको छ। समितिका अनुसार देवीको प्रसादका रूपमा मान्यजनबाट टीका ग्रहण गर्न विशेष साइत नै पर्खनुपर्ने बाध्यता छैन। परम्परालाई निरन्तरता दिन तथा साइतअनुसार टीका लगाउन चाहनेका लागि समितिले उत्तम समय निर्धारण गरेको हाे ।
समितिका अनुसार विजयादशमीका दिन चन्द्रमा कुम्भ राशिमा रहने भएकाले टीका लगाइमाग्ने व्यक्ति पश्चिम र टीका लगाइदिने व्यक्ति पूर्व फर्किनुपर्ने हुन्छ।
नेपालका विभिन्न स्थानमा विजयादशमीकै दिन मात्र टीका लगाउने चलन छ भने कतिपय ठाउँमा कोजाग्रत पूर्णिमासम्म टीका लगाउने परम्परा छ। दशैँका अवसरमा घरमा बुबाआमा तथा परिवारका ज्येष्ठ सदस्यबाट टीका र जमरा थापेपछि मावली, ससुरालीलगायत आफन्तकहाँ गएर टीका लगाउने प्रचलन छ।
विजयादशमीलाई असत्यमाथि सत्य र अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा लिइन्छ। यस पर्वले पारिवारिक मिलन, आपसी सद्भाव र सामाजिक एकतालाई थप बलियो बनाउने विश्वास गरिन्छ।














प्रतिक्रिया दिनुहोस्