जनता टाइम्स

३ कार्तिक २०८३, मंगलबार १४:२५

पशुबलिको विरोध धर्मको विरोध होइन : आशिका तामाङ


काठमाडौं, कात्तिक ३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले पशुमाथि हुने क्रूरताको विरोध गर्नु धर्मको विरोध नभएको बताउनु भएको छ। उहाँले धार्मिक आस्थाको सम्मान गर्दै पशुलाई अनावश्यक पीडा नदिने व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ।

पशुबलिका क्रममा जनावरलाई लखेट्ने, घोच्ने र तड्पाएर मार्ने अभ्यासप्रति असन्तुष्टि व्यक्त गर्दै सांसद तामाङले बलि दिने स्थानको व्यवस्थापन र अनुगमन प्रभावकारी बनाउन सरकारसँग आग्रह गर्नुभएको छ। उहाँले भन्नुभएको छ, “म कसैको आस्था खोस्न खोजिरहेकी छैन, ती अबोध प्राणीको छटपटी पनि देखौँ भनेकी हुँ।”

नेपालको संविधानले देशलाई धर्मनिरपेक्ष राज्य मानेको र २०७८ सालको जनगणनाअनुसार ८१ प्रतिशतभन्दा बढी नेपाली हिन्दु धर्मावलम्बी रहेको उल्लेख गर्दै उहाँले बहुसङ्ख्यक समुदायका चाडपर्व तथा धार्मिक अभ्यास बढी चर्चामा आउनु स्वाभाविक भएको बताउनुभएको छ। त्यस्ता अभ्यासका सकारात्मक पक्षसँगै सुधार गर्नुपर्ने विषयमा छलफल गर्नु धर्ममाथिको प्रहार नहुने उहाँको भनाइ छ। “जनावर पनि प्राणी हुन्, उनीहरूलाई पनि दुख्छ, पीडा र डर लाग्छ, बोल्न सक्दैनन् भन्दैमा उनीहरूको पीडा हुँदैन र ?” उहाँले प्रश्न गर्नुभएको छ।

पशु मार्नैपर्ने अवस्था भए पनि सकेसम्म कम पीडा हुने तरिका अपनाउनुपर्नेमा जोड दिँदै सांसद तामाङले खुला ठाउँमा बालबालिकाले समेत देख्ने गरी पशुलाई तड्पाएर मार्ने चलन व्यवस्थित गर्नुपर्ने बताउनुभएको छ। उहाँले बालबालिकालाई त्यस्ता दृश्य हेर्न बाध्य पार्न नहुने र बलि दिने स्थानको उचित व्यवस्थापन तथा नियमित अनुगमन हुनुपर्ने धारणा राख्नुभएको छ।

सांसद तामाङले पशुमाथिको क्रूरता रोक्नुपर्ने विषयलाई भावनात्मक आग्रहमा मात्र सीमित नराखी कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनसँग पनि जोड्नुभएको छ। उहाँका अनुसार मुलुकी अपराध संहिताको दफा २९० ले पशुलाई कुट्ने, सामर्थ्यभन्दा बढी दौडाउने तथा यातना दिने कार्यलाई निषेध गरेको छ। यस्तो कार्य गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको उहाँले उल्लेख गर्नुभएको छ। “कानुन लेखिएको छ भने लागू पनि हुनुपर्‍यो,” उहाँले भन्नुभएको छ।

त्यस्तै, नेपाल विश्व पशु स्वास्थ्य सङ्गठन (WOAH) को सदस्य रहेको उल्लेख गर्दै उहाँले सङ्गठनको पशु स्वास्थ्य संहिताको अध्याय ७.१ ले पशुलाई अनावश्यक पीडा र त्रासबाट जोगाउने मान्यतालाई महत्त्व दिएको बताउनुभएको छ। उक्त संहिता आफैँमा नेपालको दण्ड कानुन नभए पनि त्यसमा उल्लिखित मान्यतालाई व्यवहारमा उतार्न सरकारले आवश्यक काम गर्नुपर्ने उहाँको धारणा छ।

धार्मिक आस्था र पशु कल्याणलाई एकअर्काको विरोधीका रूपमा लिन नहुने बताउँदै सांसद तामाङले पशुमाथि हुने हिंसा र क्रूरता न्यूनीकरण गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभएको छ। “बुद्ध जन्मिएको यो भूमिमा हिंसा र क्रूरता कम हुँदै जाओस्, भगवान् पशुपतिनाथसँग मेरो यही प्रार्थना छ,” उहाँले भन्नुभएको छ।