काठमाडौं, कात्तिक ३ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सामाजिक सञ्जालमा सनातनी धार्मिक समाजमा भ्रम फैलाउने खालका विषय सम्प्रेषण भइरहेको भन्दै त्यस्ता भ्रमपूर्ण कुरा र हल्लाको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गरेको छ।
समितिले स्वीकृत पञ्चाङ्ग र पूर्वप्रकाशित तालिकाअनुसार नै महानवमी तथा विजयादशमी पर्व मनाउन अनुरोध गरेको हो।
समितिले जारी गरेको सूचनाअनुसार २०८३ साल कात्तिक ३ गते मंगलबार महानवमी पर्व मनाउन तथा कात्तिक ४ गते बुधबार यथासमयमा देवी विसर्जन गरी आ–आफ्नो परम्पराअनुसार मान्यजनबाट विजयादशमीको टीका लगाउन आग्रह गरिएको छ।
सामाजिक सञ्जालमा फैलिने भ्रामक सूचना र हल्लाका कारण धार्मिक पर्वको तिथि तथा विधिबारे अन्योल सिर्जना हुन सक्ने भएकाले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत पञ्चाङ्ग र समितिको पूर्वप्रकाशित तालिकालाई आधार मान्न समितिले अनुरोध गरेको छ।
समितिले सम्पूर्ण सनातनी धर्मावलम्बीलाई भ्रमपूर्ण प्रचारबाट प्रभावित नभई निर्धारित तिथि र समयअनुसार धार्मिक परम्परा तथा संस्कृतिको पालना गर्न आग्रह गरेको छ। ‘कुनै पनि भ्रमपूर्ण कुरा र हल्लाको पछि नलागी नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत पञ्चाङ्गहरू र समितिबाट पूर्व प्रकाशित तालिकाअनुसार नै २०८३ कार्तिक ३ गते मङ्गलवार महानवमी पर्व मनाउन र कार्तिक ४ गते बुधवार यथासमयमा देवी विसर्जन गरी आ-आफ्नाे परम्पराअनुसार मान्यजनहरूबाट विजयादशमीको टीका लगाउनुहुन सम्पूर्णमा समिति हार्दिक अनुरोध गर्दछ’, समितिले सूचना जारी गर्दै भनेको छ ।
यस्ताे छ समितिले निकालेकाे साइत :
विजयादशमी (टीकाको दिन): २०८३ कार्तिक ४ गते, बुधबार (२१ अक्टोबर २०२६)
देवी विसर्जनको साइत: सोही दिन बिहान ०८:४९ बजे
टीकाको उत्तम साइत: बिहान १०:२६ बजे
फर्किनुपर्ने दिशा: टीका लगाइमाग्ने (थाप्ने) व्यक्ति पश्चिम फर्किनुपर्ने
समितिका अनुसार उत्तम साइत बिहान १०:२६ बजे भए तापनि विजयादशमीको दिनभरि नै मान्यजनबाट प्रसादका रूपमा टीका र जमरा ग्रहण गर्न सकिन्छ।















प्रतिक्रिया दिनुहोस्