भक्तपुर, कात्तिक ३ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भक्तपुरको नंखेल क्षेत्रको ऐतिहासिक सम्पदा, मौलिकता र प्राचीनताको संरक्षण गर्दै पर्यटकीय नगरीका रूपमा विकास गर्न प्रदेश सरकारले बजेट लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
मुख्यमन्त्री थापाले नंखेलको पुरानो बस्ती, परम्परागत घर, कला, संस्कार र संस्कृतिको संरक्षणसँगै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको हो।उहाँले नंखेललाई ऐतिहासिक सम्पदाका रूपमा विकास गर्दै स्थानीय उत्पादन र मौलिक संस्कृतिसँग जोडेर पर्यटकीय गन्तव्य बनाउन सकिने धारणा व्यक्त गर्नुभयो। ‘नंखेल आफैँमा लिच्छविकालीन समयभन्दा पुरानो ऐतिहासिक धरोहर तथा प्राचीनता बोकेको नगरी हो, जहाँ हरेक स्थानमा उत्खनन गर्दा हाम्रो पुरातात्त्विक सम्पदा पाउन सक्छौँ,’ मुख्यमन्त्री थापाले भन्नुभयो।
उहाँले नंखेलको प्राचीनता र मौलिकता जोगाउँदै उचित स्याहार, संरक्षण तथा संवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो। नेपाल घुम्न आउने विदेशी पर्यटक र ऐतिहासिक महत्त्व बुझ्न चाहने आन्तरिक पर्यटकका लागि नंखेललाई आकर्षक गन्तव्य बनाउन सकिने उहाँको भनाइ छ। ‘हामीले आफ्नो कला, संस्कार र संस्कृतिको जगेर्ना गर्नुपर्छ, हाम्रो कला र संस्कृतिलाई जगेर्ना गर्न सक्यौँ भने आन्तरिक र बाह्य पर्यटनको विकास गर्न सक्छौँ,’ मुख्यमन्त्री थापाले भन्नुभयो।
उहाँले नंखेलका पुराना घर तथा बस्तीलाई मौलिक स्वरूपमै संरक्षण र विकास गर्न सके स्थानीय पहिचान जोगिने बताउनुभयो। पुराना संरचनालाई सम्पदाका रूपमा विकास गर्दै नेवारी परिकारलाई प्रवर्द्धन गर्न सके पर्यटनसँगै स्थानीय रोजगारीका अवसरसमेत सिर्जना हुने उहाँको धारणा छ। ‘नंखेलमाथि पुरानो बस्ती छ, त्यो बस्तीका अहिले पनि धेरै पुराना घर संरक्षित छन्, त्यो ठाउँलाई हामीले सम्पदाका रूपमा विकास गर्न सक्छौँ, हाम्रा पुराना घरलाई मौलिक रूपमा विकास गर्न सक्यौँ भने हाम्रो पहिचान जोगिन्छ,’ उहाँले भन्नुभयो।
मुख्यमन्त्री थापाले स्थानीय मौलिक परिकार, कला, संस्कृति र अर्ग्यानिक उत्पादनलाई पर्यटनसँग जोडेर नंखेललाई विशेष पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्ने बताउनुभयो। यसबाट स्थानीय युवाले आफ्नै क्षेत्रमा रोजगारी पाउने वातावरण निर्माण गर्न सकिने उहाँको भनाइ छ। ‘नेवारी परिकार हामीले त्यहीँबाट सुरु गर्नुपर्छ, हाम्रा युवाले त्यहीँ रोजगारी पाउनुहुनेछ,’ मुख्यमन्त्री थापाले भन्नुभयो।
उहाँले नंखेलको संरक्षण र प्रवर्द्धनका लागि स्थानीयवासीलाई आवश्यक प्रक्रिया अघि बढाउन आग्रह गर्दै प्रदेश सरकार सहयोग गर्न तयार रहेको स्पष्ट पार्नुभयो। ‘तपाईँहरूले निवेदन दिनुस्, त्यो ठाउँको संरक्षण र प्रवर्द्धनका लागि बागमती प्रदेश सरकारले लगानी गर्छ,’ मुख्यमन्त्री थापाले प्रतिबद्धता व्यक्त गर्नुभयो।
नंखेलको ऐतिहासिक सम्पदा संरक्षण, परम्परागत वास्तुकलाको जगेर्ना, स्थानीय परिकारको प्रवर्द्धन र अर्ग्यानिक उत्पादनको बजारीकरणलाई एकीकृत रूपमा अघि बढाउन सके यस क्षेत्रलाई सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने उहाँको धारणा छ ।














प्रतिक्रिया दिनुहोस्