जनता टाइम्स

४ कार्तिक २०८३, बुधबार ०९:४६

बडादशैँले विविधताभित्रको एकता र समृद्ध नेपाल निर्माणको संकल्प बलियो बनाओस् : मुख्यमन्त्री कार्की


काठमाडौं, कात्तिक ४ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बडादशैँले विविधताभित्रको एकता सुदृढ गर्दै समृद्ध कोशी प्रदेश र समुन्नत नेपाल निर्माण गर्ने साझा संकल्पलाई बलियो बनाउन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ।

विजयादशमी, २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले नेपालीका मौलिक चाडपर्वले सामाजिक एकता, राष्ट्रिय पहिचान र साझा नेपालीपनलाई बलियो बनाउँदै आएको उल्लेख गर्नुभएको छ। “हाम्रा मौलिक चाडपर्व केवल धार्मिक तथा सांस्कृतिक आस्थाका प्रतीक मात्र होइनन्, सामाजिक एकता, राष्ट्रिय पहिचान र साझा नेपालीपनका आधार पनि हुन्,” उहाँले सन्देशमा भन्नुभएको छ।

मुख्यमन्त्री कार्कीले विजयादशमीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना गर्नुभएको छ। उहाँले विजयादशमीका दिन मान्यजनबाट टीका, जमरा तथा आशीर्वाद ग्रहण गर्ने परम्पराले पारिवारिक आत्मीयता र आपसी सम्मान अभिवृद्धि गर्नुका साथै सांस्कृतिक सम्बन्धलाई पुस्तान्तरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ।

असत्यमाथि सत्यको विजयको उत्सवका रूपमा मनाइने विजयादशमीले सबैलाई सत्यको मार्गमा अघि बढ्न प्रेरणा दिने उहाँको भनाइ छ। विविध जातजाति, भाषा, धर्म, संस्कृति र परम्पराले समृद्ध नेपाली समाजमा बडादसैँजस्ता पर्वले आपसी सद्भाव, सहिष्णुता, प्रेम र एकताको भावना अभिवृद्धि गर्न योगदान पुर्‍याउँदै आएको उहाँले उल्लेख गर्नुभएको छ।

मुख्यमन्त्री कार्कीले मौलिक चाडपर्वले समाजमा सकारात्मक सोच, आपसी सहयोग र सहकार्यको भावना जागृत गराउँदै सुखी, समुन्नत तथा समृद्ध समाज निर्माणका लागि प्रेरित गर्ने बताउनुभएको छ।

कोशी प्रदेश बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विविधताले भरिपूर्ण रहेको उल्लेख गर्दै उहाँले यहाँका हरेक जातजाति, समुदाय र भाषाभाषीका मौलिक संस्कृति, परम्परा तथा चाडपर्वलाई अमूल्य सम्पत्तिका रूपमा व्याख्या गर्नुभएको छ। “कोशी प्रदेश सरकार मौलिक सांस्कृतिक सम्पदाको संरक्षण, संवर्धन र प्रवर्द्धन गर्दै विविधताभित्रको एकतालाई अझ बलियो बनाउन प्रतिबद्ध छ,” मुख्यमन्त्री कार्कीले सन्देशमा उल्लेख गर्नुभएको छ।

मौलिक परम्परा र संस्कृतिको संरक्षणले वर्तमान पुस्तालाई आफ्नो पहिचानप्रति गौरव गर्न प्रेरित गर्नुका साथै भावी पुस्ताका लागि सांस्कृतिक वैभव जीवन्त राख्न सहयोग पुग्ने विश्वाससमेत उहाँले व्यक्त गर्नुभएको छ।

मुख्यमन्त्री कार्कीले विजयादशमी, २०८३ ले सबैलाई सत्य, न्याय, सदाचार र सकारात्मक सोचको मार्ग अवलम्बन गर्न प्रेरित गर्दै सद्भाव, सहकार्य र एकताका साथ समृद्ध कोशी प्रदेश तथा समुन्नत नेपाल निर्माण गर्ने साझा संकल्प थप सुदृढ बनाओस् भन्ने कामना गर्नुभएको छ।