जनता टाइम्स

४ कार्तिक २०८३, बुधबार ०९:३८

विपत्तिबाट नवनिर्माणतर्फ लम्किन विजयादशमीले नयाँ ऊर्जा प्रदान गरोस् : रवि लामिछाने


काठमाडौं, कात्तिक ४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्ति र शोकको घडीमा रहेको मुलुकलाई एकताको सूत्रमा बाँध्न विजयादशमीले सकारात्मक ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

बडादशैँ, २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको हितमा समर्पित हुन सबैलाई आह्वान गर्नुभएको छ। “असत्यमाथि सत्यको विजयको यस महान् पर्वले हामीलाई निराशाबाट आशातर्फ र विपत्तिबाट नवनिर्माणतर्फ लम्किन नव ऊर्जा प्रदान गरोस्,” लामिछानेले आफ्नो शुभकामना सन्देशमा भन्नुभएको छ।

यस वर्षको बडादशैँ विपत्ति र शोकको घडीमा मनाउनुपरेको उल्लेख गर्दै उहाँले प्राकृतिक तथा अन्य विपत्तिका कारण अमूल्य जीवन गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। साथै, घरबारविहीन र विस्थापित भएका परिवारप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ।

लामिछानेले सङ्कटको संवेदनशील परिस्थितिमा विजयादशमीले नेपाली समाजलाई विगतभन्दा अझ सुदृढ र अभूतपूर्व एकताको सूत्रमा बाँध्ने विश्वास व्यक्त गर्नुभएको छ। “सङ्कटको यस संवेदनशील परिस्थितिमा मलाई विश्वास छ विजयादशमीको यस महान् पर्वले हामी सबैमा सकारात्मक ऊर्जाको सञ्चार गर्दै सिङ्गो नेपाली समाजलाई विगतभन्दा अझ सुदृढ र अभूतपूर्व एकताको सूत्रमा बाँध्न सफल हुनेछ,” उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ।

उहाँले नवदुर्गा भवानीले सबैलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको सर्वोपरि हितमा निःस्वार्थ भावले समर्पित हुने शक्ति, सद्बुद्धि तथा जस्तोसुकै सङ्कटसँग जुध्ने अदम्य साहस प्रदान गरून् भन्ने कामनासमेत गर्नुभएको छ।

लामिछानेले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश बोकेको बडादशैँका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ। उहाँले सकारात्मक ऊर्जा र नयाँ आशासहित बडादशैँ मनाउन सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।