भक्तपुर, कात्तिक ४ । मध्यपुर थिमिमा वर्षौँदेखि निरन्तरता पाउन नसकेको कुमारी माजुलाई लायकु दरबारमा विराजमान गराउने परम्पराले यस वर्षदेखि पुनः निरन्तरता पाएको छ। बडादसैँको अवसरमा कुमारी माजुलाई लायकु दरबारमा विराजमान गराई दर्शन तथा टीका ग्रहण गर्ने कार्यक्रम सम्पन्न भएको छ।
अष्टमातृका, अष्टभैरव तथा कुमारी माजुलाई नगरको रक्षकका रूपमा पुज्ने नेवार समुदायको परम्पराअनुसार कुमारी माजुलाई नगरको सुरक्षा र नागरिकको कल्याणसँग जोडेर हेर्ने गरिन्छ। काठमाडौं उपत्यकाका विभिन्न नगरमा प्रचलित यस परम्पराले धार्मिक आस्था, सांस्कृतिक पहिचान र ऐतिहासिक विरासतलाई प्रतिबिम्बित गर्छ।
मध्यपुर थिमिमा पनि लामो समयदेखि रोकिएको कुमारी माजुलाई लायकु दरबारमा विराजमान गराउने परम्परालाई पुनः सुरु गरिनुलाई स्थानीय धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणतर्फको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ। ६२ वर्ष पछि मध्यपुर थिमीको जीवीत देवी कुमारीलाई लायकू दरबार लगिएकाे छ ।
कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगर, मध्यपुर थिमि नगरपालिकाका जनप्रतिनिधि, स्थानीय सामाजिक अगुवा तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

धर्म, कला, रीतिरिवाज र संस्कृति समाजका अमूल्य निधि हुन्। यस्ता परम्परालाई निरन्तरता दिनुले पुर्खाले हस्तान्तरण गरेका सांस्कृतिक मूल्य र मान्यतालाई नयाँ पुस्तासम्म पुर्याउन तथा स्थानीय मौलिक पहिचान जोगाइराख्न महत्त्वपूर्ण योगदान पुर्याउने मुख्यमन्त्री थापाले विश्वास व्यक्त गर्नुभयाे ।
‘अष्टमात्रीका,अष्टभैरव तथा कुमारी माजुबाट सुरक्षित तथा संरक्षित हाम्रो काठमाडौं उपत्यका र विभिन्न नगरहरूमा स्थापित कुमारी माजुबाट नगरको रक्षा तथा नागरिकको सुरक्षा हुने परम्परा छ, त्यसै गरी मध्यपुर थिमिमा धेरै वर्षदेखि कुमारी माजुलाई विराजमान गराउने परम्परालाई निरन्तरता दिन नसकिएकोमा यो वर्षदेखि निरन्तरता प्रदान गर्दै लायकु दरबारमा विराजमान गराइ दर्शन गर्ने सुअवसर प्राप्त गराइदिनु भएकोमा म सम्पूर्ण मध्यपुर थिमिवासी तथा मध्यपुर नगरपालिकालाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु, हाम्रो धर्म, हाम्रो कला,हाम्रो रीतिथिति, हाम्रो संस्कृती नै हाम्रो अमूल्य निधिहरू हुन्’, उहाँले भन्नुभएकाे छ ।














प्रतिक्रिया दिनुहोस्