जनता टाइम्स

४ कार्तिक २०८३, बुधबार २०:२३

एमाले नेता पूर्वप्रदेशसभा सदस्य बाबुराम गौतमको निधन


काठमाडौं, कात्तिक ४ । नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशसभाका पूर्वसदस्य बाबुराम गौतमको निधन भएको छ। बाँके जिल्लामा कम्युनिष्ट आन्दोलनका अग्रज नेताका रूपमा परिचित गौतमको जन्म गुल्मीको थोर्गामा भएको थियो। उहाँले आफ्नो राजनीतिक तथा सामाजिक कर्मथलो नेपालगञ्जलाई बनाउनुभएको थियो।

गौतम २०५४ सालमा नेकपा एमाले बाँके जिल्ला कमिटीको प्रमुखको जिम्मेवारीमा रहनुभएको थियो। उहाँले पार्टीको केन्द्रीय सल्लाहकार तथा लुम्बिनी प्रदेशसभाको सदस्यका रूपमा समेत जिम्मेवारी निर्वाह गर्नुभएको थियो।

उहाँको निधनले पार्टी तथा राजनीतिक र सामाजिक क्षेत्रमा ठूलो क्षति पुगेको नेकपा एमालेका महासचिव शंकर पोखरेलले बताउनुभएको छ। महासचिव पोखरेलले गौतमको निधनप्रति दुःख व्यक्त गर्दै उहाँ संघर्ष, सादगी र निष्ठाको राजनीतिमा समर्पित नेता रहनुभएको उल्लेख गर्नुभएको छ।

उहाँले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, “पूर्व केन्द्रीय सल्लाहकार तथा लुम्बिनी प्रदेशसभाका पूर्व सदस्य बाबुराम गौतमको निधनको खबरले स्तब्ध बनाएको छ। संघर्ष, सादगी र निष्ठाको राजनीतिमा समर्पित कमरेड गौतमको निधनले राजनीतिक तथा सामाजिक क्षेत्रमा ठूलो क्षति पुगेको छ।”

गौतमले बाँके जिल्लामा कम्युनिष्ट आन्दोलनको विकास तथा पार्टी संगठन निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको थियो। उहाँको निधनले नेकपा एमालेले एक अनुभवी तथा निष्ठावान् नेता गुमाएको छ।