जनता टाइम्स

४ कार्तिक २०८३, बुधबार २१:०८

सक्रिय राजनीतिमा फर्किएपछि विद्यादेवी भण्डारीको पहिलो विदेश भ्रमण : ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन चीन जाँदै


काठमाडौं, कात्तिक ४ । पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी बिहीबार चीन भ्रमणमा जानुहुने भएको छ। एमालेको वरिष्ठ नेताका रूपमा सक्रिय राजनीतिमा पुनरागमन गर्नुभएपछि उहाँको यो पहिलो विदेश भ्रमण हो।

वरिष्ठ नेता भण्डारी चीनको हेबेई प्रान्तस्थित सियोङआनमा अक्टोबर २३ देखि २५ सम्म आयोजना हुने ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन चीन जान लाग्नुभएको हो। उक्त फोरममा उहाँले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँका स्वकीय सचिव राजकुमार राईले जानकारी दिनुभएको छ।

चाइनिज पिपल्स इन्स्टिच्युट अफ फरेन अफेयर्स (सीपीआईएफए) द्वारा आयोजना हुने उक्त फोरममा विश्वभरका राजनीतिक, कूटनीतिक, व्यावसायिक तथा सञ्चार क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन्। आयोजक सीपीआईएफएका अनुसार गत शुक्रबारसम्म ग्लोबल साउथ, युरोप र अमेरिकालगायत विभिन्न क्षेत्रका करिब १०० देशका प्रतिनिधिहरूको सहभागिता निश्चित भइसकेको छ।

फोरममा बदलिँदो विश्व व्यवस्थाका बीच अन्तर्राष्ट्रिय सहकार्यलाई थप सुदृढ बनाउने, विश्वव्यापी शासन प्रणालीमा सुधार गर्ने तथा साइबरस्पेस र अन्तरिक्षको शासनसँग सम्बन्धित चुनौतीहरूबारे छलफल हुने कार्यक्रम छ। त्यसैगरी, कृत्रिम बुद्धिमत्ता (एआई) को सुरक्षित प्रयोगलगायत समसामयिक विश्वव्यापी विषयहरू पनि छलफलका प्रमुख एजेण्डा रहनेछन्।

सक्रिय राजनीतिमा पुनरागमन गर्नुभएपछि पूर्वराष्ट्रपति भण्डारीको यो पहिलो विदेश भ्रमण भएकाले उहाँको चीन भ्रमणलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। अन्तर्राष्ट्रिय मञ्चमा उहाँको सहभागिता र सम्बोधनलाई पनि महत्त्वका साथ हेरिएको छ।