जनता टाइम्स

१९ मंसिर २०७६, बिहीबार ०८:२२

साढे ३३ किलो सुन तस्करी प्रकरणमा आरके ज्वेलर्सबारे सर्वोच्चले दियो यस्तो आदेश


काठमाडौं, मंसिर १९  ।  सर्वोच्च अदालतले साढे ३३ किलो सुन तस्करी प्रकरणबारे अनुसन्धान गर्न गठित उच्चस्तरीय छानविन समितिले सिलबन्दी खुला गरी आरके ज्वेलर्स सञ्चालनका लागि बाटो खुला गरेको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र डम्बरबहादुर शाहीको संयुक्त इजलासले बुधवार काठमाडौँको न्यूरोड र दरबारमार्गमा रहेको आरके ज्वेलर्समा लगाएको सिलबन्दी हटाएर पसल सञ्चालन गर्न आदेश जारी गरेको हो ।

समितिको टोलीले २०७५ जेठ २८ गते सो ज्वेलर्समा छापा मारेर सिलबन्दी गरेको थियो । तस्करी गरेको सुन बिक्री गरेको भन्दै साढे ३३ किलो सुन तस्करी प्रकरणमा २०७४ चैत ३० गते ज्वेलर्सका सञ्चालकलाई अनुसन्धानका लागि पक्राउ गरिएको थियो । सुनका मुख्य लगानीकर्ता मोहनकुमार अग्रवालको घरमा छापा मारेपछि सनम शाक्यको संलग्नतासमेत खुलेको थियो । अग्रवालको घरमा छापा मारेर रु ३० लाख नगद, दुई किलो चाँदी र १० तोला सुन बरामद भएको थियो ।