जनता टाइम्स

११ बैशाख २०८१, मंगलवार २०:५५

महेश बस्नेतविरुद्ध शोभा पाठकको उजुरी झुटो प्रमाणित, सरकारी वकिल कार्यालयले गर्यो मुद्दा चलाउन नमिल्ने निर्णय


काठमाडौं, बैशाख ११ । नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतविरुद्ध सुनियोजित ढंगले शोभा पाठक लागेको पुष्टि भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बस्नेतमाथि आक्षेप लगाएर पाठकले पेश गरेका कागजातहरु नक्कली भएको र कपोकल्पित ढंगले पेश गरेको भन्दै मुद्दा नचल्ने निर्णय गरेपछि यो तथ्य उजागर भएको हो । सवै कागजात नक्कली भएसँगै शोभा कसैको उक्साहटमा नेता बस्नेतलाई फसाउन लागेको पुष्टि भएको छ ।

पाठकले एमाले नेता बस्नेतविरुद्ध काठमाडौं जिल्ला प्रहरी परिसर टेकुमा २०८० चैत १३ गते ‘भ्रुणहत्या, जवर्जस्ती करणी र डाँका चोरी’ मुद्दा दर्ता गर्नुभएको थियो । प्रहरी परिसर टेकु, काठमाडौँले २१ दिन लगाएर अध्ययन तथा अनुसन्धान गरेपछि शोभाले दिएको उजुरीमा मुद्दा नचल्ने राय सहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा पठाएको थियो ।

सरकारी वकिल कार्यालय काठमाडौँले २०८१ वैशाख ४ गते मुद्दालाई तामेलीमा राख्ने निर्णय गरेको हो । सरकारी वकिल कार्यालयले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को परिच्छेद २ को दफा ११ को उपदफा २ बमोजिम तामेलिमा राख्ने निर्णय गरेको छ । पाठकले जाहेरीमा आफू र महेश बस्नेत विगत ५ वर्षदेखि लिभिङ टुगेदरमा रहेको साथै २ पटक गर्भपतनसमेत गराएको भनी उल्लेख गर्नुभएको थियो । तर २०८० बैशाख १४ गते काठमाडौं जिल्ला अदालतमा कपिल शाहीसँग कानुनी रुपमा बैबाहिक सम्बन्ध कायम गरेको भनी खुलाएको हुँदा उक्त स्वेच्छाले २ पटक गर्भपतन गराएको हो या होइन, हो भने पनि गर्भ कसको हो भन्ने एकिन गर्न सक्ने अवस्था छैन ।

मेघा र चरक अस्पतालमा दुई पटक गर्भपतन गराएको भनी निजले दावी गरेको विषयमा चरक मेमोरियल अस्पतालको मन्जुरीनामा सम्बन्धको पत्रको विषयमा चरक अस्पताललाई पत्राचार गर्दा प्राप्त जवाफ उक्त पत्र अस्पतालबाट जारी नभएको, अस्पतालमा निजको कुनै पनि उपचार नभएको भनी खुल्न आएको देखिदा जाहेरी दरखास्तमा उल्लेखित प्रमाण खण्डमा पेश गरेको चरक अस्पतालको मन्जुरीनामा पत्र नै झुठ्ठा रही जाहेरवाला आफैले तयार गरी समावेश गरेको देखिन्छ ।

साथै मेघा अस्पतालको मिति २०८० चैत २२ गतेको पत्रको जवाफमा अस्पतालको रेकर्ड अनुसार मिति २०८० पौष २६ गतेका दिन पाठक गरेको व्यक्ति अस्पतालको आकस्मिक विभागमा आई उपचार गराई विभिन्न किसिमको ल्याव टेस्ट गराएको र ज्वरो आएको बाहेक अन्य कुनै खास किसिमको रोग नदेखिएको भन्ने चिकित्सकको रिपोर्टबाट देखिएको हुँदा उक्त अस्पतालमा गर्भपतन गराएको भनि गरिएको दावी झुटा, कपोकल्पित तथा भ्रमपूर्ण रहेको पत्र अस्तालले प्रहरीलाई पठाएको छ ।

साथै नेता बस्नेतले २०७२ पुस २६ गते नै स्थायी बन्ध्याकरण गर्नुभएको भन्ने विषयमा बुझ्दा भक्तपुर अस्पतालको मिति २०८० चैत २७ गतेको पत्र जवाफमा आव २०७२÷७३ को अस्पतालको मुल दर्ता रेकर्ड अनुसार वर्ष ४१ को महेश बस्नेतले २०७२ पुस २६ गते भक्तपुर अस्पतालमा स्थायी बन्ध्याकरण गर्नुभएको देखिएको व्यहोरा प्रमाणित गरी अस्पतालको मुल दर्ता रजिष्टर समेत पाठाएको छ । यी आधारमा सरकारी वकिल कार्यालयले जाहेरीकर्ताको आरोप झुटा, बनावटी, तथ्यहिन, भ्रामक तथा कपोकल्पित भएको भन्दै मुद्दा नचलाउने निश्कर्षमा पुगेको हो ।

प्रहरी वृत नयाँ बानेश्वरको २०८० चैत २३ गतेको पत्रको जवाफमा निवेदक पाठक निज बस्ने गरेको सनसाईन अपार्टमेन्टमा २०८० फागुन ०८ गते अपरिचित व्यक्तिहरु आई लुटपाट तथा कुटपिट गरेको घटना सम्बन्धमा बानेश्वर प्रहरी परिसरबाट भएको प्रारम्भिक अनुसन्धानको क्रममा भए गरेको कागजातहरु संलग्न राखी पठाइएको छ । साथै सोही दिन नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको हलमा बसेको र उक्त बैठकमा पार्टीको पोलिटव्युरो सदस्य महेश बस्नेत उपस्थित रहनुभएको व्यहोराको पत्रको हाजिरीको प्रतिलिपी एमाले केन्द्रीय कार्यालयले पठाएको छ । जसका आधारमा पाठकले फागुन ८ गते डाँका चोरी वारदातमा निज संलग्न रहेको भनी झुटा दावी गरेको प्रहरी अनुसन्धानको निष्कर्श रहेको कुरा सरकारी वकिलको कार्यालयको निर्णयमा उल्लेख छ ।

त्यसैगरी पाठकले मंसिर ७, ८ र ९ गते बस्नेतले आफुलाई सनसाईन अपार्टमेन्टमा राखेको र मनोबैज्ञानिक समस्या भएको कारणले सो दिनहरुमा ७ र ८ गते अनमोल बस्नेत र ९ गते सञ्जिव कुमार झाले अपार्टमेन्टमा कुरेको भनी दावी गरेको सन्दर्भमा अनमोल बस्नेत मंसिर ७ गते युवा संघको कार्यक्रममा सहभागि भई बुद्ध एयरलाइन्सबाट पोखरा गई ९ गते फर्किएको देखिन्छ । सो विषयमा बुद्ध एयरको २०८० चैत २५ गतेको पत्रको जवाफ अनुसार अनमोल बस्नेत टिकट नं. १८४७११९० बाट सन् २३ नोभेम्बर २०२३ (मिति २०८०/०८/०७ गते १५ः५०) काठमाडौँदेखी पोखरा र टिकेट नं.१८४७१२५० बाट सन् २५ नोभेम्बर २०२३ (मिति २०८०/०८/०९ गते) पोखरादेखि काठमाडौंको गन्तव्यको लागि उडान गरेको देखिन आएको प्रमाणित गरेको छ । साथै ९ गते सञ्जिव झासमेत यति एयरलाइन्सको ११ः३० को फ्लाईटबाट काठमाडौंबाट जनकपुर गएका देखिएको छ । सो मितिमा २०८० चेत २५ गतेको पत्रको जवाफमा कम्पनीको रेकर्ड अनुसार सञ्जिव कुमार झाले खल्ति एप्सबाट यति एयरलाईन्सको टिकट नं. ९९९२१०८०९७१३४ काटी सन् २५ नोभेम्बर २०२३ (मिति २०८०/०८/०९) गतेका दिने ११ः३० बजे नेकपा (एमाले) पार्टीको परिचयपत्र देखाई वाईटी ५७१ फ्लाईट नम्बर मार्फत काठमाडौँबाट जनकपुर यात्रा गरेको देखिन्छ ।

जसमा जाहेरीकर्ताले ७ र ८ गते अनमोल बस्नेत र ९ गते संञ्जिव झालाई अपार्टमेन्टमा कुरुवा राखेको भनि जोहेरी दरखास्तमा दावी गरेको व्यहोरा झुटो ठहरिएकोले रिट निवेदन तामेलिमा राख्ने निर्णय भनिएको छ । युट्युवर मनोज मानवले सार्वजनिक गरेको शोभा पाठक र महेश बस्नेतको टिकटकमा शोभाले नै साईवर व्युरोमा दिएको उजुरीमा आफ्नो भिडियोमा आएको दृष्य जस्तो सम्बन्ध नभएको उल्लेख गरेकी थिइन् । मनोजले इडिट गरी भिडियो बनाएको भन्दै कारवाहीको माग गर्दै उजुरी दिएकी थिइन । सोही उजुरीको आधारमा साइवर व्युरोले मनोजलाई कारवाही समेत गरेको थियो । उक्त भिडियो एआईको माध्यमबाट इडिट गरी चरित्र हत्या गरिएको प्रमाणीत भएको थियो ।

पाठकले तीन जनासँग औपचारिक रुपमा विवाह गर्नुभएको छ । तीन जनासँग विवाह गरे पनि पाठकले हालसम्म कसैसँग सम्बन्ध विच्छेद गर्नुभएको छैनन् । सम्बन्ध विच्छेद समेत नगरेकी पाठकले ज्वालामुखी गाउँपालिका वडा नं. ७ बाट आफु कुमारी भएको पत्र समेत लिनुभएको छ भने २०४३ सालको जन्ममिति भएको सरकारी ढड्डा भएता पनि उहाँको नागरिकतामा भने २०४९ सालको रहेको छ । जसबाट नागरिकतासमेत किर्ते गरेको देखिएको छ । बस्नेतलाई फसाउने रणनीति लिनुभएको पाठकले २०८० फागुन ८ गते विहान आफ्नै कोठामा दुई पुरुष लगेर राखेर बसेको आरोपसमेत लागेको छ ।