जनता टाइम्स

९ बैशाख २०८१, आईतवार १०:५७

एमाले महाधिवेशन प्रतिनिधि परिषदमा सहभागी हुन पाएनन भीम रावल, प्रतिनिधिको कार्ड नै दिइएन


ललितपुर, बैशाख ९ । नेकपा एमालेका नेता भीम रावल राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको बैठकमा सहभागी हुनबाट बञ्चित हुनुभएको छ ।

कार्ड ब्यवस्थापन समितिले रावलको कार्ड नदिएपछि रावल महाधिवेशनमा सहभागी हुन गए पनि कार्यक्रम स्थलमै नपुगी घर फर्कनु भएको हो । दशौं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरी पराजीत नेता रावल केन्द्रीय सदस्यमा निर्वाचित भएपनि अस्वीकार गरेपछि बिधानअनुसार स्वतः सल्लाहकार परिषद सदस्यमा परिणत हुनुभएको थियो ।

सो पद पनि अस्वीकार गर्दै आउनु भएका रावल महाधिवेशनमा भने सहभागी हुने भन्दै एकिन्द्र कुँवरलाई कार्ड लिन पठाउनु भएको थियो ।

महाधिवेशन प्रतिनिधि परिषद बैठकमा प्रवेशका लागि कार्ड अनिवार्य गरिएको थियो, उहाँको कार्ड नै नदिएपछि हामीले जानकारी गरायौं, गोदावरी आउने क्रममा रहेको भएपनि उहाँ बाटोबाटै फर्कनु भयो

महाधिवेशन हलमा सहभागी हुन कार्ड चाहिने ब्यवस्था गरिउको छ । सोही ब्यवस्था अनुसार कार्ड नदिएपछि नेता रावललाई कार्ड नभएको जानकारी गराएको र रावल बीच बाटोबाटै फर्किनुभएको कुँवरले बताउनु भएको छ ।

‘महाधिवेशन प्रतिनिधि परिषद बैठकमा प्रवेशका लागि कार्ड अनिवार्य गरिएको थियो, उहाँको कार्ड नै नदिएपछि हामीले जानकारी गरायौं, गोदावरी आउने क्रममा रहेको भएपनि उहाँ बाटोबाटै फर्कनु भयो,’ कुँवरले भन्नुभयो । उहाँले आफूहरुले एक घण्टासम्म कार्ड मागेको र खोजेको भएपनि नपाएको बताउनु भयो । एमालेको कार्ड ब्यवस्थापनको जिम्मेवारी सम्पर्क समन्वय कमिटीले गरेको थियो ।

अध्यक्ष केपी शर्मा ओलीलाई बदनाम गराउने योजनाअनुसार एमालेकै दोस्रो तहका नेताहरुले रावलको कार्ड नदिन भनेको हुनसक्ने आशंका गरिएको छ । रावलले अध्यक्ष ओलीसँगै प्रतिस्पर्धा गरेको कारण सहभागी हुन नदिँदा उहाँकै बदनाम हुने भन्दै यस्तो हकृत गरिएको एमाले कार्यकर्ताको बुझाइ रहेको छ ।