जनता टाइम्स

१४ बैशाख २०८१, शुक्रबार १६:३२

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ


काठमाडौं, १४ बैशाख । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका–५ घर भई काठमाडौं चावहिल बस्ने ५२ वर्षीय कुल बहादुर लिम्बु र झापा दमक नगरपालिका–५ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–६ हात्तीगौँडा बस्ने ३८ वर्षीय विजय भण्डारी रहेका छन् ।

पक्राउमध्ये कुलबहादुरले क्रोएसिया पठाईदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ५५ हजार रूपैयाँ ठगी गरेको र विजयले स्पेन पठाईदिन्छु भन्दै ८ जना पीडितहरूबाट ५६ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले कुलबहादुरलाई काठमाडौं जोरपाटी र विवेकलाई काठमाडौं बबरमहलबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।