जनता टाइम्स

२२ मंसिर २०७६, आईतवार ०९:०१

भारतीय मित्रहरु ! चटक जादु जे गर्ने हो आफ्नै देशमा गर्नुस, नेपालको चिन्ता लिन छोड्नुस


प्रदीप नेपाल

हाम्रो देशका भन्दा भारतमा बसेका प्रधानमन्त्री र मुख्यमन्त्रीहरूलाई ‘नेपाली हिन्दुराष्ट्र’ को बढी चिन्ता देखिन्छ । नेपालबारे सतही ज्ञान भएका यस्ता महानुभावहरूलाई मेरो बिन्ती छ, चटक जादु जे गर्ने हो आफ्नै देशमा गर्नुस । आफ्नै प्रदेशमा गर्नुस। नेपालको चिन्ता लिन छोड्नुस् । तपाईंहरूको चिन्ताले हामीलाई झन् चिन्तित बनाउँछ । के भएको हो कुन्नि  ! तपाईंहरूले कालापानीको चिन्ता लिनुभएको हुनाले अहिले हामीलाई पिरलो भइराखेको छ । तपाईंहरूले कालापानीको चिन्ता छाडिदिनुभएमा हामी ढुक्क हुनेछौँ । कालापानी छोड्न तपाईंहरूलाई कुनै गाह्रो काम छैन । तपाईंहरूले अलिक दिनका लागि भनेर ल्याएको आफ्नो सेनालाई आफ्नै भूमिमा लैजानोस् कुरो सक्किगो’ नि !

शायद तपाईंहरूलाई थाहा पनि छैन होला, नेपाल आर्यावर्त होइन । नेपालका आदिवासी, चीनको ह्वाङ्हो नदी किनारबाट आएका शिवगण र ककेससबाट मानसरोवरको फेरो लगाएर नेपाल आएका खस हुन् । सबैलाई थाहा छ– खस र शिवगण भन्नाले काठमाडांँका ज्यापूदेखि पूर्वका सुनुवार, राई, लिम्बू कोही पनि हिन्दु होइनन् । सँगसँगै पश्चिमा चस्माले हेर्ने नेपाली बुद्धिजीवीले खस आर्यलाई एउटै हुन् भने पनि पाँच हजार वर्ष पुराना उत्तरबाट आएका खस र तीन हजार वर्ष अघि मात्र, त्यो पनि दक्षिणतिरबाट आएका आर्य कसरी एउटै हुन सक्छन ? हिन्दुस्तानबाट आएका आर्य हुन् तर पाँच हजार वर्ष अघि जुम्ला छिरेका खसहरू हिन्दु होइनन् ।

अहिलेको इरान, इराकतिरबाट सिन्धु सभ्यतालाई ध्वस्त पारी सिन्धु नदी पार गरेर आएका आर्य नै हिन्दु हुन् । घुमन्ते आर्यहरू भारत हुँदै नेपाल पसेका हुन् भन्ने वैदिक सत्य अहिलेसम्म जारी छ । वैदिक आर्यले थालेको यो अतिक्रमणको निरन्तरता कहिले टुङ्गिने हो हामी कसैलाई थाहा छैन । नेपालको जानकारीको इतिहास पाँच हजार वर्षभन्दा पुरानो छ । यसको प्रमाण किराँत क्यालेण्डर (पात्रो) हो जो झण्डै पाँच हजार दुई सय वर्ष पुरानो मानिएको छ । त्यतिबेला शायद मोहनजोदारो र तक्षशिलामा प्राचीन भारतको सभ्यता फस्टाउँदै थियो कि ! तर त्यो प्राचीन सभ्यता हिन्दु थिएन । हिन्दु शब्द नै भर्खर आफ्नो चिनारी खोजिरहेको बेला कहाँबाट त्यसै नामको सभ्यता बनिसकेको हुन सक्छ ?

आर्यहरू आक्रामक थिए । आक्रामक हुनु तिनीहरूको दोष थिएन । जताततै शत्रु भेटिने युगमा बाँच्नका लागि आक्रामक हुनैपथ्र्यो । त्यसैले लडाइँ लड्दै आएका तिनीहरू सिन्धु घाँटीको सभ्यता ध्वस्त पारेर त्यहीँ बसेनन् । लडाइँ गर्दै जित्दै अगाडि बढे र दिगन्त कब्जा गरे । त्यसैले हिन्दु भनिने आर्यहरूको भारतीय इतिहास, बढीमा तीन हजार वर्ष मात्र पुरानो छ । यसको खण्डन गर्ने कोही हुनुहुन्छ भने म उहाँको स्वागत गर्न चाहन्छु ।

अहिले आर्यहरू ३३ कोटी देवता मान्छन् । उनीहरूको स्वर्ग र नर्क हुन्छ । उनीहरूको स्वर्गको नाम त्रिविष्टप हो । त्यो त्रिविष्टप भनेको अहिलेको तिब्बत हो । उनीहरू रामायण र महाभारत जस्ता काल्पनिक सङ्ग्रहका पात्रलाई देवी देउता वा तिनका अंश मान्छन् । जब कि, खसहरू कुनै देवदेवी मान्दैनन् । उनीहरूले कुलपूजा गर्ने स्थानमा मन्दिर हुँदैन । जङ्गलको सबैभन्दा अग्लो वृक्षको फेदमा सानो लोहोरो जस्तो ढुङ्गाको पूजा गर्छन् । उनीहरूको पूजामा बोलिने कुनै विशिष्ट मन्त्र हुँदैन । आगो, घाम, पानी, उषाजस्ता भौतिक देवदेवीको भजन गाउँछन् । उनीहरू मस्टो पूजक हुन् । मस्टो भनेको निराकार सत्य मात्र हो, कुनै देवता वा देवी होइन । त्यसैले दक्षिण एसियामा हिन्दुको पहिलो बास भनेको भारतमै भयो । स्वयं भारतीयहरू भन्छन्– अफगानिस्तानको कान्दाहार पुरानो गान्धार (रानी गान्धारीको माइती देश हो) । गान्धारलाई नै पछि आएका मुसलमानले कान्दाहार बनाएका हुन् ।’

नेपालमा ८० प्रतिशतभन्दा बढी हिन्दु छन् । यो हिन्दुहरूको आफ्नै गणना हो । राजा महेन्द्रको पालामा मुन्धुम, बौद्ध, शिख सबैलाई हिन्दु मानिन्थ्यो । त्यतिबेला नेपालमा हिन्दु बाहेकका दुई मात्र धर्म थिए । पहिलो, इस्लाम । यसले राज्यबाट मान्यता पाएको थियो । दोस्रो, इसाई । यसले राजकीय मान्यता पाएको थिएन । इस्लाम धर्म शायद पृथ्वीनारायण शाहको साथी भएर नेपाल पसेको थियो । तर इसाई पादरी चाहिँ युद्धको पूर्वाभ्यास गर्न नेपाल पठाइएका थिए । त्यसैले इस्लाम राज्यको मित्र भयो र इसाइयत राज्यको शत्रु भयो । यो कुनै बहसको विषय होइन । सबै नेपाली इतिहासकारले यस्तै लेखेका छन् । बन्दुक बनाउने शिल्पी भएको हुनाले पृथ्वीनारायण शाहले इस्लाम धर्मावलम्बीलाई बनारसबाट फर्किंदा आपूmसँगै ल्याए । तर पादरीहरू आफ्नो साथमा बाइबल पनि लिएर आएका हुनाले पृथ्वीनारायण शाहले ‘मलाई कसैको सिदा चाहिँदैन’ भनेर सिधै बिदा दिए होलान् । नत्र मुसलमानलाई बस्न खान जमिनसमेत दिने राजाले इसाईलाई किन त्यसरी ठाडठाडै खेद्थे होलान् ?

इतिहासमा जे भयो, भयो । त्यसको सबै म्याद सकियो । अब हामी वर्तमानकै कुरा गरौँ । महेन्द्रको पालाका हिन्दु बनाइएका सबै धर्मावलम्बी आआफ्नो घर फर्किसकेपछि बाँकी रहे खस र आर्य । आर्यहरूको हस्तक्षेपकारी स्वभावका कारण तथा आफ्नै अज्ञानताका कारण आफ्नो परिचय बिर्सिएर बसेका खसहरू पनि आफ्नो घर फर्किएपछि आर्य, हिन्दुको सङ्ख्या कति होला रु यस्तै एकतिहाइ । उसो त नेपालमा अनीश्वरवादी (नास्तिक) को सङ्ख्या पनि निकै छ । उता हिन्दुभन्दा उग्रवादी भएर आफ्नो धर्म प्रचार गरी हिँडेका इसाईहरूले पनि दिनैपिच्छे मान्छे तानेका तान्यै छन् ।

पछिल्लो समयमा भारतमा धर्मसम्बन्धी एउटा नयाँ बहस आरम्भ भएको छ । भारतको पहिलो धर्म बुद्ध हो । निकै पुराना मानिएका हिन्दु मन्दिरको जगमा बौद्ध धर्मका अवशेष पाइएका छन् । अर्को एउटा जानकारी पनि पाएको छु मैले– उतिबेलाका शङ्कराचार्यले बौद्ध धर्मसँग ठूलो लडाइँ लडेर हिन्दु धर्मको पुनःस्थापना गरेका थिए । ती शङ्कराचार्य पाँचौँ शताब्दीका थिए । तर बुद्ध त इसापूर्व नै जन्मिएका थिए र जीवनकालमै आफ्नो सम्प्रदायको ठूलो विस्तार गरिसकेका थिए । यही सम्प्रदाय पछि बौद्ध धर्मावलम्बी भएको हुन सक्छ । आर्यहरूको हिंसात्मक स्वभाव उनीहरूले स्थापना गरेका मन्दिरहरूले पनि प्रष्ट पार्छन् । बौद्धधामको अस्तित्व कतै जीवित रह्यो भने हिन्दु धर्मको विकास हुँदैन भनेर नै यस्तो विनाश गरेका हुन् ।

अज्ञानका कारण अधिकांश खसहरूले आफूलाई पनि हिन्दुकरण गरे । लामो समयसम्म म स्वयं नास्तिक हिन्दु थिएँ । मेरी असल माताको असामयिक मृत्युपछि मैले भगवान्लाई– यी पनि जाली र फटाहा रहेछन्– भनेर आफ्नो चेतनाबाट बाहिर निकालिसकेको थिएँ । त्यसपछि म कम्युनिस्ट भएँ । उसै पनि कम्युनिस्टहरू विधर्मी मानिन्छन् । कम्युनिस्ट भएपछि ऋग्वेद र ऋग्वेद संहिता पढेँ । त्यसले मलाई ब्रह्मा नट हुन्, इन्द्र बलवान् लडाकु हुन् भन्ने जस्ता नौला नौला कुराहरू सिकायो । त्यसैले जेजस्ता मन्दिर भए पनि, स्वस्थानी नदीको पानी साँखु छेउबाट बग्ने भए पनि यिनको सम्मान गर्नु आवश्यक छैन । कुनै पितृले पिण्ड खान पाउँदैनन् । सबै दान पण्डितले खाने हुन्, पैसा पनि उनैको खल्तीमा जाने हो । वार्षिक श्राद्ध गरे पनि, पशुपतिनाथको मन्दिरमा लाखबत्ती बाले पनि हाम्रा पितृले केही पाउँदैनन् ।

हिन्दु धर्म भनेको भौतिकवादको दियो निभाउने अन्धविश्वासको भुँवरी हो । विद्वान् ठगहरूले उठाएको कालो झण्डा हो । त्यसैले आफ्ना वृद्ध बाबु आमाहरूलाई सम्मान गर्ने मानिसलाई सभ्य मानिस मान्नुपर्छ । आमाबाबुलाई जिउँदै वृद्धाश्रममा पुर्याएर उनीहरूको निधनपछि ठूलो र भव्य सराद्धे गर्ने आडम्बरीलाई थु थु गरिदिए पनि हुन्छ । हामीले सराद्ध (श्राद्ध) गरे पनि नगरे पनि पितृहरू आफू पुग्नुपर्ने ठाउँमा पुगिछाड्छन् । सराद्ध गरेर पितृलाई स्वर्ग पठाउन सकिँदैन ।