जनता टाइम्स

२८ मंसिर २०७६, शनिबार ०९:४१

तातोपानी भन्सार प्रमुखको फेला पर्यो गैरकानुनी सम्पत्ति आर्जन गरी नातेदारको नाममा लुकाएको यस्तो प्रमाण


काठमाडौं, मंसिर २८ । तातोपानी भन्सार कार्यालय सिन्धुपाल्चोकका प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १० करोड ५६ लाख ९१ हजार ६०९ रुपैयाँ बिगो माग्दै विशेष शुक्रवार बस्नेतबिद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको हो।

भोजपुर षडानन्द नगरपालिका वडा नम्बर ११ स्थायी घर भई हाल काठमाडौं ४ धुम्बाराही बस्दै आएका बस्नेत २०४५ सालमा लेखापाल पदमा सेवा प्रवेश गरेका थिए। हाल उपसचिव रहेका उनलाई गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी आफू र आफ्ना नातेदारको नाममा लुकाएको प्रमाणसहित विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार सहप्रवक्ता गणेशबहादुर अधिकारीले बताउनुभयो। बस्नेतले गैरकानुनी तरिकाबाट आर्जन गरेको सम्पत्ति आफ्ना जेठान नवीनकुमार गौलीलगायत आफन्तको नाममा राखेको अख्तियारले जनाएको छ।

बस्नेतको गैरकानुनी सम्पत्ति व्यवस्थापनमा प्रमुख भूमिकामा देखिएका गौलीलाई मतियारको रूपमा ९ करोड एक्काइस लाख ५२ हजार ७९२ रुपैयाँ बिगो मागिएको छ। सार्वजनिक सेवा प्रवेश गरेदेखि २०७६ असार मसान्तसम्ममा भन्सार अधिकृत बस्नेत समग्र आय र व्यय तथा लगानी, पारिश्रमिक, बचत, घर जग्गा विक्री, ऋण सापटी, घर बहाल, शेयर लाभांश, कृषि आय, भ्रमण भत्ता, सुन विक्री, अंशबण्डाबाट प्राप्त आय, कमिसन तथा पुरस्कार, बीमा समेतबाट जम्मा १ करोड ७८ लाख २० हजार ९७५ रुपैयाँ मात्र आय देखिएको अधिकारीले बताउनुभयो।

यही अवधिमा बस्नेतले व्यक्तिगत रूपमा व्यय तथा लगानीतर्फ जग्गा खरिद तथा घर निर्माण, सुनचाँदी खरिद, ऋणको साँवा, ब्याज भुक्तानी, सवारी साधन खरिद, विदेश भ्रमण, शेयर खरिद, छोराछोरीको अध्ययन खर्च, विभिन्न कर भुक्तानी, घर बहाल, सापटी, विद्युतीय उपकरण खरिद, बीमा प्रिमियम भुक्तानी, बैंक तथा सहकारीमा रहेको नगद मौज्दातसमेत गर्दा ३ तीन करोड १३ लाख ५९ हजार ७९३ रुपैयाँ खर्च देखिएको अख्तियारले जनाएको छ ।

उनको जागिर अवधिमा आयभन्दा व्यय १ करोड ३५ लाख ३८ हजार ८१७ अधिक देखिएको छ। बस्नेतले आफू प्रमुख भन्सार अधिकृतको रूपमा कार्यरत रहँदा विदेशबाट नेपाल आयात गर्ने सामानहरूको भन्सार छुटाउने प्रयोजनमा मोटो रकम घुस लिने गरेको अख्तियारको अनुसन्धानले देखाएको छ। त्यसक्रममा उनले विभिन्न व्यापारी, क्यारिङ व्यवसायी तथा भन्सार एजेन्टहरूसँग गैरकानुनी रूपमा घुस उठाउने गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ।

‘गैरकानुनी रकमहरू विभिन्न व्यवसाय गर्ने व्यक्ति, विभिन्न पेशा व्यवसायमा काम गर्ने कर्मचारी, व्यापारी एवम् भन्सार एजेन्टहरूमार्फत् संखुवासभा खाँदबारी(१ का आफ्ना जेठान गौलीले प्राप्त गर्ने गरी र बस्नेतका परिवारका सदस्यले खाँदबारीस्थित विभिन्न व्यापारीहरूको बैंक खाता समेतमा ९ करोड २१ लाख ५२ हजार ७९२ रुपैयाँ जम्मा गरेको देखियो,’ अभियोग पत्रमा उल्लेख छ।

यसरी जम्मा गरिएका कतिपय रकम बस्नेतले विभिन्न व्यक्ति तथा कम्पनीमा नगदै बुझाउने, सम्पत्ति शुद्धीकरण गर्ने र लुकाउने उद्देश्यले कम्पनीकै नामको बैंकको चेक तथा कम्पनीमा कार्यरत कर्मचारीमार्फत् जेठान गौलीलाई बुझाउने गरेको अख्तियारको अनुसन्धानमा उल्लेख छ। उनले जेठान गौलीको नाममा जग्गा(जमिन खरिद गरी बकसको रूपमा फिर्ता लिने गरेको समेत देखिएको छ। गौलीले प्राप्त गर्ने गरी पठाएको रकम खाँदबारीबाटै झिकेर जग्गा खरिद, होटल व्यवसाय र अन्य व्यवसायमा लगानी गर्ने गरेको देखिएको छ। गौलीले बस्नेत विराटनगर भन्सार कार्यालयमा कार्यरत रहँदाको अवधिमा खाँदबारी बजार र आसपास क्षेत्रमा करिब सय रोपनी जग्गा खरिद गरेको भेटिएको छ। खाँदबारीमा नै करिब १० करोडको लागतमा आरती होटल निर्माण गरेको, उनको नामबाट अर्बिट इनर्जी प्रालिमा दुई करोडभन्दा बढी लगानी गरेको देखिएको छ।

‘यसरी गरिएको लगानी रकम गौलीको ऋण, कृषि आय, जग्गा विक्री समेतका विभिन्न शीर्षकबाट प्राप्त आयको तुलनामा अस्वाभाविक रूपमा बढी देखियो,’ अभियोग पत्रमा छ, ‘बस्नेतको आफ्नै स्रोत नपुगेको रकम र जेठान गौलीको नाममा पठाएको स्रोत नखुलेको रकम समेत गरी जम्मा १० करोड ५६ लाख ९१ हजार ६०९ खर्च तथा लगानीको स्रोत नखुलेको देखियो।’ बस्नेतकी श्रीमती सविता गौली बस्नेतको नाममा समेत स्रोत नखुलेको घर(जग्गा लगायत चलअचल सम्पत्ति भेटिएको छ। उनको चल(अचल सम्पत्ति जफत गर्ने प्रयोजनको लागि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। नवीन गौलीकी श्रीमती सकुन्तला गौली र छोरा शुलभ गौली पनि मुद्दामा तानिएका छन्। गैरकानुनी रकम सकुन्तला र शुलभ को नाममा रहेको बैंक खाताहरूमा समेत पठाउने गरेको, उनीहरूको नाममा सम्पत्ति खरिद गरिएको र होटल व्यवसाय समेतमा लगानी गरेको पाइएको छ।

सकुन्तला र शुलभको नाममा रहेको चलअचल सम्पत्ति भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ र अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ९ख० बमोजिम जफत गर्न मागदाबी लिइएको छ। विराटनगर भन्सारमा रहँदा मात्र १७ लाख घुस क्यारिङ व्यवसायीसँग आयात गरिएका सामान भन्सारबाट छुटाइदिएबापत बस्नेतले विराटनगर भन्सार कार्यालयमा रहँदा १७ लाख रुपैयाँ घुस लिएको भेटिएको छ। यो प्रमाणित भएपछि बस्नेतविरूद्ध शुक्रबार विशेष अदालतमा १७ लाख रुपैयाँको छुट्टै अर्को मुद्दा दायर गरिएको प्रवक्ता अधिकारीले बताए।

बस्नेतले गैरकानुनी सम्पत्ति आर्जन गरेको निवेदन परेपछि अख्तियारले अनुसन्धान थालेको थियो। कसूर प्रमाणित भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिम सोही बराबरको बिगो र सजाय माग गरिएको अख्तियारले जनाएको छ। उक्त घुसवापतको रकम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिम असुलउपर गरी जफत गर्न मागदाबी लिइएको छ। बस्नेतले सो घुसको रकम पनि आफ्ना जेठान गौलीको नाममा रहेको नबिल बैंकको खातामा जम्मा गरेको देखिएको छ।