जनता टाइम्स

३ पुष २०७६, बिहीबार ०८:३२

हामी सम्पदा पुनर्निर्माण र नवनिर्माणको काममा जुटेका छौं : विद्यासुन्दर शाक्य, मेयर, कामनापा


काठमाडौं महानगरपालिकाले २५ औँ महानगर दिवस धुमधामसँग सम्पन्न गरेको छ । यस बारेमा केही बताइदिनुहोस न ?

काठमाडौं महानगरपालिका घोषणा भएको २५ वर्ष पुगेको छ । यही अवसर पारेर हामीले यो वर्ष २५ औं महानगर दिवस धुमधामसँग मनाएका छौं । हामीले अघिल्लो वर्ष पनि यो दिवस तीन दिन मनाएका थियौं । हामीले यो पटक चाँहि यही मंसिर २८ र २९ गते दुई दिन मात्र मनायौं । २८ गते हामीले वसन्तपुरमा विभिन्न खानाका परिकारसहितका स्टलहरु राखेका थियौँ । त्यसैगरी महानगरपालिकाले विभिन्न समूहलाई दिएका सीपमुलक तालिमबाट उत्पादन भएका बस्तु र सामग्रीहरु पनि त्यहाँ प्रदर्शनीमा राख्ने छौं भने विक्रिका लागि पनि राखेको थियो ।

हामीले काठमाडौं महानगरपालिकाको सांस्कृतिक सम्पदा बचाउन धेरै प्रयास र मेहनत पनि गरिरहेका छौं । त्यही क्रममा काठमाडौं महानगरपालिकाभित्र रहेका परम्परागत बाजा गुरुहरुलाई पनि सम्मान गरेको छ । अघिल्लो वर्ष पनि हामीले १ सय ३१ जना परम्परागत बाजा गुरुहरुलाई सम्मान गरेका थियौँ । विशेष जात्रामा मात्र निस्कने बाजाका गुरुहरुलाई पनि सम्मान गरेका छौं । त्यसैगरी काठमाडौं महानगरपालिकाभित्र रहेका अमूत सम्पदा संरक्षणमा परम्परादेखि अमूल्य योगदान गरिरहेका गुरुहरुलाई पनि सम्मान गर्ने कुरालाई पनि हामीले निरन्तरता दिएका छौं । हामीले महानगर दिवसकै अवसर पारेर जिवित कुमारीसँगै काठमाडौंभित्रै पनि विभिन्न स्थानमा रहेका कुमारीहरुलाई पनि सम्मान गरेका छौं ।

काठमाडौं महानगरपालिकालाई ‘सहयोगापेक्षी सडक मानवमुक्त महानगर’ अभियानको घोषणा गरेको छ । यो संभव छ ?

काठमाडौं महानगरपालिकालाई ‘सहयोगापेक्षी सडक मानवमुक्त महानगर’ गर्ने महाअभियानको घोषणा पनि हामी महानगर दिवसकै गरेका हौं । यो महाअभियान सम्पन्न गर्न निकै चुनौति पनि छ । यो सम्भव हुन्छ कि, हुँदैन ? भन्ने अहिले बाहिर पनि चर्चा चलेको छ । यो असफल पो हुने हो कि भन्ने पनि छ । तर, मलाई विश्वास छ, हामी सफल हुन्छौं । यहाँका जनप्रतिनिधि, कर्मचारी, संघ–संस्था, सरकारकार विभिन्न निकायहरु सबै मिलेर यो महाअभियानलाई हामी सार्थक बनाएरै छाड्छौं । यसको नेतृत्व महानगरपालिकाले लिन्छ । मानव सेवा आश्रम, जिल्ला प्रशासन कार्यालय, काठमाडौं, महानगरीय प्रहरी आयुक्तको कार्यालय, महिला बालबालिका मन्त्रालय, ट्राफिकलगायतले यो अभियानलाई सार्थक बनाउने प्रत्यक्ष भूमिका खेल्दै आएका छन् । हामीले यो अभियानमा विभिन्न सामाजिक संघ–संस्थालाई पनि आवद्ध गरेका छौं ।

अहिले संघीय, प्रदेश वा स्थानीय सरकारका नै किन नहोस् यी तीन ओटै सरकारले नै ‘कोही भोकै पर्दैन, कोही भोकले मर्दैन’ भन्ने नारालाई प्राथमिकता दिएको छ । यसरी यी तीन ओटै सरकारको नारालाई मूर्तरुप दिन महानगरपालिका लागि परेको छ । हामी प्रदेश र संघीय सरकारको समेत सहयोगमा यो अभियान अघि बढाउँछौं । अहिले हामी महानगरभित्र कतिको सङ्ख्यामा त्यस्ता नागरिक छन् भनेर तथ्यांक संकलन गरिहेका छौं । यो अभियानले साच्चिकै काठमाडौं महानगरपालिकालाई ‘सहयोगापेक्षी सडकमानवमुक्त महानगर’ बनाएरै छाड्ने छ । हामी अहिले यो पुण्यको काममा समेत लागेका छौं । सञ्चारजगत लगायत सबै क्षेत्रबाट यो अभियानमा सहयोग हुनेछ भन्ने हामीले ठानेका छौं ।

तपाईले नेतृत्व लिएपछिको तेस्रो महानगर दिवस मनाउनु भएको छ । यो बेलासम्म तपाईले गरेका सकारात्मक काम के हुन ?

मैले नेतृत्व सम्हालेपछि महानगरपालिकाले गरेका सकारात्मक कामको चर्चा म आफैँले गर्दा त्यति धेरै उपयुक्त नहुन पनि सक्छ । तर, मैले भन्नै पर्ने हुन्छ, मैले महानगरपालिकाको नेतृत्व सम्हालेपछि यहाँ धेरै काम भएका छन् । हामीले निर्वाचनमा घोषणा गरेका र घोषणा नगरेका काम पनि धेरै भैसकेका छन् । हामीले चुनावमा सिमित घोषणा गरेका थियौँ । पछि बढायौँ पनि । निर्वाचन सम्पन्न भएपछि अन्य पार्टीहरुले जनताका बीचमा जाँदा गरेको बाचालाई पनि हामीले हाम्रा एजेण्डा बनाइसकेका छौं ।

अहिले हेर्ने हो भने महानगरको क्षेत्राधिकारभित्रका अधिकांश बाटा–घाटा बनिसकेका छन् । केही–केही ठाउँमा हामीले बनाएका बाटामा फेरि मेलम्चीको पाइप विछ्याउन खन्दा समस्या भएको छ । कतिपय ठाउँमा विद्यूत प्राधिकरणका कारणले पनि समस्या भएको छ । यो सबै एकिकृत विकासको अभावले देखिएको समस्या हो । अहिले पनि भन्छु– समग्रमा भन्ने हो भने धेरै काम म आएपछि सम्पन्न भएका छन् । अहिले पनि हेर्ने हो भने मेलम्चीले हात नहालेको ठाउँका अधिकांश सडक सफा र राम्रा नै देखिन्छन् ।

हामीले सम्पदा पुनर्निर्माणको कामलाई पनि प्राथमिकताका साथ अघि बढाएका छौं । त्यसैगरी हामीले मूर्त र अमूर्त सम्पदाको संरक्षणमा पनि त्यत्तिकै ध्यान दिएका छौं । अहिले अमूर्त सम्पदाको कुरा गर्ने हो भने मैले अघि पनि भने सबै बाजा गुरुहरुलाई हामीले सम्मान गर्ने तयारी गरेका छौं । हामीले अघिल्लो वर्ष पनि सम्मान गरेका थियौँ । हामीले बाजाको संरक्षणका लागि मात्रै होइन, किन्न र मर्मतका लागि पनि सहयोग गर्दै आएका छौं । उहाँहरुले हामीले महानगपालिकाबाट सहयोग पाएनौँ भन्ने अवस्था छैन । आर्थिक कारणले लोप भैसकेका बाजाहरु पनि महानगरपालिकाको सहयोगमा पुर्नजिवित भएका छन् । बाजा गुरुहरु पनि त्यो कार्यमा लागेका छन् । यसले उत्साह थपेको छ । यहाँ विभिन्न प्रकारका नाचहरु छन् । ती नाचहरुलाई पनि हामीले अघि बढाएका छौं ।

मूर्त सम्पदाको कुरा गर्ने हो भने अहिले जत्तिको ऐतिहासिक रुपमा बहाः, बहिः, चैत्य, विहार, महाविहारको पुनर्निर्माण कहिल्यै भएको थिएन । पूर्ननिर्माणका लागि यो स्वर्णकाल नै हो भन्दा पनि हुन्छ । निकै महत्वपूर्ण मानिएको वज्रशील महाविहार, दिगुक्षेँ, काष्ठमाण्डपलगायतका कामलाई महानगरपालिकाले तिव्ररुपमा अघि बढाएको छ । काष्ठमाण्डप महानगरपालिकाकै आर्थिक सहयोगमा पुनर्निर्माण भैरहेको छ । रानीपोखरी पनि हाम्रो समन्वयमा पुनर्निर्माण भैरहेको छ । बज्रयानी बिहार, माजु देवललगायतका थुप्रै सम्पदाहरु पनि अहिले पुनर्निर्माण भै रहेका छन् । हिजो विभिन्न कारणले बन्न नसकेका सम्पदा पनि महानगरपालिकाको आर्थिक सहयोगमा पुनर्निर्माण हुने भएपछि उहाँहरु पनि खुशी हुनुभएको छ । उहाँहरुले पनि हामीलाई उत्साह थप्नु भएको छ । यसरी हामी सम्पदा पुनर्निर्माण र नवनिर्माणको काममा जुटेका छौं ।

तावरणको क्षेत्रको कुरा गर्ने हो भने पनि हिजो भन्दा आज झन सुधार भएको छ । म निर्वाचित हुनु भन्दा पहिला यहाँ खाल्टाखुल्टीले हिँड्ने ठाउँ नै थिएन । अहिले खाल्टाखुल्टी निकै कम भएका छन् । धुलोको कुरा गर्ने हो भने त्यसमा पनि सुधार हुँदै आएको छ । पहिला–पहिला आफू भन्दा दुई मिटर अघिको मान्छे वा गाडीको नम्बर पढ्न पनि मुस्किल पर्ने अवस्था थियो । मैले यो किन भनेको हो भने हामीले धुलो पूर्ण रुपमा नियन्त्रण गर्न त सकेका छैनौँ तर सुधारको अभियान जारी छ ।

धुलो नियन्त्रणकै लागि भनेर महानगरपालिकाले ब्रुमर पनि त खरिद गरेको छ नि ?

हो, हामीले धुलो नियन्त्रणकै लागि भनेर पाँच ओटा ब्रुमर खरिद गरेका छौं । मुख्य सडकको धुलो नियन्त्रणमा त्यसले निकै सहयोग गरेको छ । हामीले थप ब्रुमरसहित धुलो नियन्त्रणको अभियानलाई जारी राखेका छौं । हामीले थप दुई ओटा ब्रुमर ल्याउने भनेका छौं । त्यसपछि हामी सहायक सडकको धुलो नियन्त्रणमा पनि हामी लाग्छौं । विस्तारै महानगरले बोलेर होइन गरेर देखायो है भन्ने सन्देश गइरहेको छ । वातावरणकै क्षेत्रमा कुरा गर्ने हो भने हामीले धेरै ठाउँमा डस्टवीन वितरण गरेका छौं । हरेक वडामा कम्तीमा दुई र कुनैमा दुई वा त्यो भन्दा बढी ठाउँमा कौशी खेतीको सुरुवात गर्न हामीले तालिम सञ्चालन गरेका छांै र सहयोग पनि गरेका छौं । त्यसले अरु धेरै ठाउँमा कौशी खेतीका लागि उत्प्रेरणा हुने अपेक्षा गरेका छौं ।

मैले महानगरपालिकाको नेतृत्व सम्हालेपछि यहाँ धेरै काम भएका छन् । हामीले निर्वाचनमा घोषणा गरेका र घोषणा नगरेका काम पनि धेरै भैसकेका छन् । हामीले चुनावमा सिमित घोषणा गरेका थियौँ । पछि बढायौँ पनि । निर्वाचन सम्पन्न भएपछि अन्य पार्टीहरुले जनताका बीचमा जाँदा गरेको बाचालाई पनि हामीले हाम्रा एजेण्डा बनाइसकेका छौं

सामाजिक काममा पनि महानगरपालिकाले सहयोग गर्दै आएको छ नि ?

हो, हामीले खेलकुदको क्षेत्रमा सहयोग गरेका छौं । हामीले गतसाल मात्रै फुटवलका ए, बी र सी डिविजनलाई आर्थिक सहयोग गरेका थियौँ । सबै भन्दा लोकप्रिय खेल फुटवल क्लवलाई काठमाडौं महानगरपालिकाले सहयोग गर्यो भनेर धेरैतिरबाट चर्चा पनि भएको छ । समग्र महानगरपालिकाको सुरक्षाको दृष्टिलाई पनि ध्यानमा राखेर नेपाल प्रहरीसँग समन्वय गरेर पाँच करोड ८१ लाख बराबरको सीसी क्यामेरा जडान गर्ने अभियानलाई अघि बढाएका छौं । यो खरिद प्रक्रियामै अघि बढेको छ । अहिले पनि विभिन्न ठाउँमा राखिएका सीसी क्यामेरा घटना घटेपछि दोषी पत्ता लगाउन प्रयोग हुँदै आएका छन् । हामी सीसी क्यामेरा राखेर घटना नै घट्न दिनुहुँदैन भन्ने अभियानका साथ अघि बढेका छौं । हामी २४ सै घण्टा सीसी क्यामेराबाट गतिविधि नियाल्ने योजनाका साथ लागेका छौं । त्यसले घटना घटेपछि अपराधी पत्ता लगाउन सहयोग गर्ने होइन, कि अपराध नै हुन नदिने कुरालाई साथ दिनेछ । हामीले ट्राफिक व्यवस्थापनमा पनि त्यसले भूमिका खेल्ने अपेक्षा गरेका छौं ।

हामीले स्वास्थ्यका क्षेत्रमा पनि केही सकारात्मक कामको सुरुवात गरेका छौं । केही हप्त अघि मात्र हामीले कान्ति वाल अस्पताललाई अक्सिज प्लाण्ट जडानका लागि सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका छौं । केही समय पछि हामी कान्तिवाल अस्पतालमै व्लड सपेरेशन प्लाण्ट जडान गर्ने सोच बनाएका छौं । डाइलोसिस मिसिन पनि राख्ने भनेका छौं । त्यसले बालबालिकाको उपचारका लागि सबै भन्दा महत्वपूर्ण मानिएको सो अस्पतालमा उपचार थप सहज हुने अपेक्षा गरेका छौं । महिलाहरुलाई उद्यमी बनाउन हामीले विभिन्न सीपमुलक तालिममा पनि जोड दिएका छौं । यसरी हेर्ने हो भने महानगरपालिकाले तुलनात्मकरुपमा धेरै काम गर्दै आएको छ ।