स्वर्गका राजा इन्द्रले त देवताका श्रीमतीहरुसँग यस्तै सम्बन्ध राख्ने अभियान नै चलाएपछि ठूलो खैलाबैला नै मच्चियो । आफ्नै गुरु वृहस्पतीकी श्रीमती तारालाई पनि इन्द्रले बाँकी राखेनन । देवताहरुले एकजुट भएर इन्द्रलाई गद्दीच्युत गरी पृथ्वीलोकका राजा नहुषलाई स्वर्गको राज सिंहासनमा बसाले । पृथ्वी र स्वर्ग दुवै लोकको राजा हुने अवसर पाएका नहुषले त झन यौन सम्बन्धको मामिलामा इन्द्रलाई पनि उछिने
सुनसरीको चतराधाममा आश्रम सञ्चालन गर्दै आएका कृष्णबहादुर गिरी उर्फ कृष्णदास महाराज यतिबेला प्रहरीको हिरासतमा छन । उनीमाथि यौनदुराचार गरेको अभियोग लागेको छ । उनका समर्थकले त्यो आरोप झुठो भएको दाबी गर्दै ‘गम्भीर षड्यन्त्र भयो’ भनिरहेका छन । उनकै अनुयायी पीडित महिलाले भने उनीसँग भएको संवादको अडियो मिडियामार्फत सार्वजनिक गरिसकेकी छिन । त्यो स्वर उनको हो वा होइन ? भन्ने अनुसन्धानमा प्रहरी जुटेको छ । यदि त्यो स्वर उनकै रहेको ठहर भयो भने उनीहरुबीच यौन सम्पर्क भएको पुष्टि हुन्छ । तर सहमतिका आधारमा दोहोरो यौनसम्पर्क भएको हो ? या बाध्यतामा पारेर यौन सम्पर्क गरिएको हो भन्ने सत्य तथ्य पत्ता लगाउन भने केही समय लाग्ने नै छ ।
उमेर पुगेका महिला र पुरुषबीच स्वेच्छाले यौनसम्पर्क हुनु सामान्य कुरा हो । तर कृष्णबहादुर गिरी यतिबेला जुन आवरण तथा भूमिकामा छन, त्यसका आधारमा भन्न सकिन्छ कि, उनको यो काम अत्यन्तै आपत्तिजनक छ । साधुको आवरणमा यौनसम्पर्क गर्नु कानूनी दृष्टिले अपराध त हुँदै हो धार्मिक दृष्टिले त झन महापाप हो । केही दिन अघि आफूलाई सिद्धबाबा दावी गर्ने एक साधुले अर्काकी श्रीमतीसँग विवाह गरेको प्रकरणले सामाजिक सञ्जाल तताएको थियो । साधु तथा धर्मगुरुको भेषमा यौनसम्पर्कमा रमाउने, आफ्ना शिष्यलाई बाध्य पारी यौनसम्पर्क राख्ने लगायतका क्रियाकलाप नयाँ भने होइनन् । नेपालमा मात्रै होइन, छिमेकी मुलुक भारतमा समेत यस्ता प्रकरण धेरै सतहमा आउने गरेका छन । वास्तवमा प्रजनन उमेर पुगेको व्यक्ति यौनावस्थामा यौनसम्पर्कबाट पृथक रहन सक्छ कि सक्दैन ? भन्ने सन्दर्भको मुल्यांकन, विश्लेषण तथा खोज अनुसन्धान हाम्रा पौराणिक तथा धार्मिक ग्रन्थहरुले पनि गरेको पाइन्छ ।
पूर्वीय दर्शनका अनेक शास्त्रले भनेका छन– सृष्टिको आधारभूत नियम हो वंश वृद्धि । प्राणीको वंशवृद्धिको एक मात्रै माध्यम हो मैथुन ।’ यो प्रक्रियालाई रोक्ने सामथ्र्य सामान्य मानिसको त के कुरा, देवता तथा ऋषिमुनीसँग समेत नभएको पौराणिक ग्रन्थमा उल्लेख छ । यति मात्रै होइन, यसका धेरै दृष्टान्तहरु त्यहाँ उल्लेख छन् । एक पौराणिक कथाका पात्र पराशर ऋषि डुंगा चढेर नदी तर्दै थिए । अचानक डुंगा चलाइरहेकी कन्यामाथि उनको कामवासना जाग्यो । उनले तत्कालै कुहिरो उत्पन्न गराई ती कन्यासँग डुंगामै यौनसम्पर्क गरे । कन्याले पुत्र जन्माइन् । ती पुत्रको नाम हो–‘कृष्ण दौपायन ।’ कृष्ण दौपायन वेद व्यासका रुपमा चिनिन्छन् । वेद व्यासले आमाको आज्ञाअनुसार आफ्ना अनौरस भाइकी श्रीमतीसँग यौन सम्पर्क गरी पाण्डुलाई जन्माए ।
हस्तिनापुरका राजा बनेका पाण्डुका दुई श्रीमती थिए कुन्ती र माद्री । यस्तो सम्बन्ध राख्ने बित्तिकै मृत्यु भइहाल्ने श्राप श्रीमानले पाएका कारण कुन्तीले अरु नै पुरुषद्धारा तीन जना छोरा जन्माइन् । सौता माद्रीको कोखबाट पनि त्यही विधि प्रयोग गरी दुई जना छोरा जन्माइदिइन् । पाँच जना सन्तान भए । तर सन्तान प्राप्तिले यौन सुखलाई जित्न सकेन । तत्काल मृत्यु हुन्छ भन्ने जान्दाजान्दै पनि पाण्डुले एकाबिहानै फूलको बगैंचामा माद्रीसँग सम्बन्ध राखे । यसरी सम्बन्ध राखेसँगै तत्काल उनको मृत्यु भयो । त्यस्तै पौराणिक कथामै उल्लेख भएअनुसार समकालिन ऋषिमुनीको तुलनामा विश्वामित्र प्रकाण्ड विद्धान थिए । उनी राजर्षी थिए । व्रह्मर्षी बन्नका लागि उनले कठोर तपस्या गरे । शिवजीले तत्कालका लागि ब्रह्मर्षीको जस्तै सामथ्र्य पनि उनलाई प्रदान गरे । ब्रह्मर्षी बन्नका लागि अझै थप तपस्या गर्नुपर्ने सुझाव दिए । ब्रह्मर्षीको जस्तै सामथ्र्य पाएपछि विश्वामित्रले आफूले चाहेका सुरा सुन्दरीहरु भोग्न थाले ।
त्यतिमात्र होइन, यसैगरी स्वर्गका राजा इन्द्रले त देवताका श्रीमतीहरुसँग यस्तै सम्बन्ध राख्ने अभियान नै चलाएपछि ठूलो खैलाबैला नै मच्चियो । आफ्नै गुरु वृहस्पतीकी श्रीमती तारालाई पनि इन्द्रले बाँकी राखेनन । देवताहरुले एकजुट भएर इन्द्रलाई गद्दीच्युत गरी पृथ्वीलोकका राजा नहुषलाई स्वर्गको राज सिंहासनमा बसाले । पृथ्वी र स्वर्ग दुवै लोकको राजा हुने अवसर पाएका नहुषले त झन यौन सम्बन्धको मामिलामा इन्द्रलाई पनि उछिने । पौराणिक ग्रन्थमा मात्रै होइन आधुनिक ग्रन्थमा पनि दार्श्निक तथा मनोवैज्ञानिक फ्रायडले यौनको विषयमा धेरै कुरा उल्लेख गरेका छन् । मार्क्सवादमा समेत ब्रह्मचर्य भन्ने कुरा ढोंग मात्रै हो भन्ने संकेत गरिएको छ । पौराणिक काल होस या पूर्वीय दर्शन, फ्रायडवाद लगायतका मनोवैज्ञानिक दर्शन हुन् वा पछिल्लो मार्क्सवाद, ती सबै यौन मामिलामा कतै न कतै चुकेकै छन् ।
विद्यमान समयमा धेरै पढिनेमध्येका नेपाली साहित्यकार तथा राजनितिज्ञ वीपी कोइरालाले आफ्ना गैर राजनीतिक कृतिमा यौनको मामिलामा धेरै कुरा उल्लेख गरेका छन् । सुम्निमा उपन्यासमै यस्ता कतिपय कुरा उल्लेख गरिएका छन् । यद्यपी सर्वसाधारणको कुरा त छोडिदिउँ, नीति निर्माता, धेरै पढेलेखेका मान्छे, नेता तथा राजा महाराजा नै कथित ‘सिद्ध बाबा’ भनिनेहरुको चरण छुन लाम लाग्ने गरेका छन् । माथि उल्लेख गरिएका कृष्णबहादुर गिरि उर्फ ‘कृष्णदास महाराज’ को चरण स्पर्श गर्न पूर्वराजा ज्ञानेन्द्र शाहदेखि सवैजसो दलका प्रमुख नेताहरु लाइन लागेको हिजोअस्ती मात्रै हो । अहिले आरोप लागेको छ । पुष्टि नभएसम्म गिरीलाई बलात्कारी भन्न मिल्दैन । तर उनी स्खलित भइसकेको पुष्टि भने ती महिलासँग फेसबुकमा भएका कुराकानी तथा ती कुराकानी पछि भएका नियमिति भेटघाटले गर्दछ । यौनसम्पर्कका लागि पटक –पटक आग्रह गर्ने महिलासँग नियमित कुराकानी किन गर्नुपर्यो ? उनलाई पटक–पटक आश्रममा एक्लै किन बोलाउनु पर्यो ? यसरी हेर्दा गिरी च्युत भइसकेको पूष्टि हुन्छ ।
वैदिक सनातन धर्म दर्शनमा जीवनलाई चार आश्रमहरू ब्रह्मचर्य, गृहस्थ, सन्यास र वानप्रस्थमा विभाजन गरिएको छ । ब्रह्मचर्यमा विद्या आर्जन गरिन्छ र सीप सिकिन्छ । गृहस्थमा विवाह गरिन्छ, सन्तान उत्पादन, लालनपालन र विधि व्यवहारको कार्य सम्पादन गरेपछि सबै कुराबाट सन्यास लिईन्छ । त्यस्तै घर व्यवहार, नातागोतादेखि लिएर सम्पूर्ण जिम्मेवारी त्याग्नु र मुक्त हुनु नै सन्यास हो । सन्यास लिएकालाई राजदण्ड लाग्दैन । देवदण्डको भागी भने हुन्छन् भनिएको छ । त्यसकारण परिवार र समाजबाट अलग भएर वनमा नितान्त एकांकी जीवन बाँच्नु (मृत्युको शोक परिवारलाई पर्न नदिन) फलफूल, कन्दमूल खानु र जङ्गलमा एकलासे भएर मर्नु वानप्रस्थ आश्रमका कठिन कार्य मानिन्छन । भार, ऋण, कर्तव्य, जिम्मेवारी, नाता, माया, मोह, वासना आदि सबै त्याग्नु नै सन्यासी बन्नु हो र रागबाट मुक्ति लिएर बैरागी बन्नु पनि सन्यासी बन्नु नै हो ।
तर सन्यास कार्य प्रकृति विपरीत छ । अत्यन्तै कठिन छ । वचन, कर्म र मनले नै सन्यास लिन असम्भव प्रायः छ । ऋषिमुनिदेखि लिएर आजका स्वामी, बाबा, नन फादर र गुम्बाका आनि र लामाहरूका कर्तुतले यही प्रमाणित गरेको छ । जब मानिस यो चरणमा पुग्दासम्म उसमा प्रजनन क्षमता समाप्त भइसकेको हुन्छ । प्रजनन क्षमता समाप्त भइसकेको व्यक्ति मात्रै मैथुनको मामिलाबाट जोगिन सक्छ । तर हामी यति पनि हेक्का राख्दैनौ कि, उन्मत्त बैंस भरिएका जोगीहरुलाई ‘बाबा’ को दर्जा दिँदै पूजा गर्छौ । जसले मौका पाउना साथ उधुम मच्चाउलान भन्ने पनि सोच्दैनौं ।
नेपालमा यस्ता घटना केही समयदेखि मात्रै आउन थालेपनि छिमेकी मुलुक भारतमा भने धेरै नै सतहमा आइसकेका छन् । भारतका केही ‘धर्मगुरु’ प्रति त्यहाँको समाजले गरेको विश्वास र त्यति विश्वास गरेका ‘धर्मगुरु’ सँग सम्बन्धित केही घटनाका दृष्टान्तहरु यहाँ उल्लेख गर्नु सान्दर्भिक नै होला । भारतीय विख्यात ‘धर्मगुरु’ मानिएका आशाराम बापु नै बलात्कारको अभियोग प्रमाणित भएपछि अहिले हिरासतमा छन । त्यस्तै अर्का धर्मगुरु गुरमित रामरहिम सिंहले २ जना साध्वीलाई बलात्कार गरेको पुष्टि भएपछि २० वर्षका लागि जेलमा छन । रामरहिम विरुद्धका ४८ वटा बलात्कार तथा केही हत्याका मुद्दा अहिले पनि अदालतमा विचाराधीन छन । धेरै नै शक्तिशाली बाबा भनिने चन्द्रास्वामी पनि अपराधी ठहर भएका छन । बेलायतकी पूर्वप्रधानमन्त्री मार्गरेट थ्याचर, ब्रुनाईका सुल्तान र कुख्यात डन दाऊद इब्राहिमसँग असाधारण सम्बन्ध भएका धर्मगुरु चन्द्रास्वामी आफूलाई इच्छाधारी सन्त बताउने गर्थे । त्यस्तै भारतीय स्वामी भीमानन्द पञ्चायत व्यवस्था जोगाइदिने शक्ति आफूसँग भएको भन्दै २०४५ सालमा नेपाल आए र त्यतिबेलाको सरकार, मन्त्री तथा समाजले उनको वाहवाही गर्यो ।
अर्का स्वामी रामपालले हरियाणामा शतलोक आश्रम निर्माण गरे । उनले आश्रमको अस्पतालमा गैरकानुनी गर्भपतन सेवा सञ्चालन गरेको पूष्टि भयो । आश्रमबाट प्रहरीले कतिपय हतियार तथा सार्वजनिक बिक्री वितरण बन्देज गरेका औषधिहरू बरामद पनि गर्यो । हाल उनी देशद्रोहको मुद्दामा हिसारको कारागारमा सजाय भोगिरहेका छन ।
प्रतिक्रिया दिनुहोस्