जनता टाइम्स

७ पुष २०७६, सोमबार १६:४९

घुसमै यसरी सकिन्छ व्यवसायीको ३५ प्रतिशत आम्दानी


काठमाडौं, पुस ७ । पछिल्लो अध्ययनले ब्यवससायीको ५७ प्रतिशतसम्म आम्दानी घुसमै सकिने गरेको डरलाग्दो तथ्यांक सार्वजनिक भएको छ । निजी क्षेत्रका साना–ठूला व्यवसायीले व्यावसायिक कार्य सम्पादनका क्रममा आफ्नो आम्दानीको ३५ देखि ५७ प्रतिशतसम्म रकम घुस दिनुपर्ने तथ्य बाहिर आएको हो ।

नेपालसहित विश्वव्यापी अध्ययनबाट निजी क्षेत्रले आफ्नो आम्दानीको ३० देखि ३५ प्रतिशतसम्म रकम घुस र टिप्समा खर्चिनुपरेको भेटिएको छ । ‘कतिपय अवस्थामा निजी क्षेत्रले ५७ प्रतिशतसम्म घुसमा खर्च गर्नुपरेको भेटियो,’ अनुसन्धानकर्ता चार्टड एकाउन्टेन्ट (सिए) अनलराज भट्टराईले भन्नुभयो । अध्ययनले देखाएअनुसार उद्योग व्यवसायको दर्ता प्रक्रियादेखि नै घुस तथा टिप्स नदिई कामै नबन्ने परिपाटी सुरु भइहरेको तहमा पैसा दिनैपर्ने वतावरण डरलाग्दो रूपमा फस्टाउँदै गएको पाइएको छ । निजी क्षेत्रको यस बिषयलाई पुष्टि गरेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आयोजना गरेको भ्रष्टाचारसम्बन्धी एक कार्यक्रममा सिए भट्टराईले निजी क्षेत्रले नियमित कार्य सम्पादनका क्रममा पनि ब्युरोक्रेसीमाथि ठूलो रकम खर्च गर्नुगरेको तथ्यांक सार्वजनिक गर्नुभएको हो ।

घुस र भ्रष्टाचारको स्वरुप भने भिन्न रहेको भट्टराईले खुलासा गर्नुभयो । भट्टराईका अनुसार कुनै रकम उद्योगी व्यवसायीले काम छिटो गराउन (स्पिड मनी) मा खर्च गरेको, कुनै रकम काम गरिदिएबापत पैसा दिएको (ग्रिज पेमेन्ट्स) र कुनै घुस रकमचाहिँ विभिन्न किसिमको लविङमा खर्च हुने गरेको छ । ‘हरेक तह र तप्कामा घुस नदिई कामै नबन्ने परिपाटी देखिएको छ,’ उहाँले भन्नुभयो । ट्रान्सपरेन्सी इन्टरनेसनलका अनुसार नेपालको आर्थिक सुशासन एकदमै कमजोर देखिएको छ । नेपालले सय पूर्णांकमा ३० मात्र पाएको छ । ५० अंकसम्मलाई ट्रान्सपरेन्सीले एकदमै घुसखोरी र भ्रष्टाचार हुने देशको सूचीमा राख्ने गरेको छ । तीन वर्षदेखि नेपाल १ सय ८० देशमध्ये १ सय २४औँ स्थानमा छ ।

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल पछिल्लो समय राम्रो काम गरेर टिप्स लिनेभन्दा पनि कामै नगरिदिएर अनैतिक रकम लिने परिपाटी फष्टाउँदै गएको तीतो यथार्थ राख्नुहुन्छ । त्यसो त अख्तियारले नै आफ्नो प्रतिवेदनमा घुस र भ्रष्टाचारको मात्रा विभिन्न तह र तप्कामा बढ्दै गएको औंल्याएको छ । अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेका अनुसार गत वर्षको तुलनामा भ्रष्टाचारबारे उजुरी २५ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष अख्तियारमा सढे १९ हजार उजुरी परेका थिए । आर्थिक वर्ष ०७५/७६ मा त्यो संख्या बढेर २४ हजार पुगेको छ । अख्तियारको प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७४/७५ मा ९७ जना रंगेहात पक्राउ परेका थिए । ०७५/७६ मा १ सय ९७ जना पक्राउ परेका थिए भने भ्रष्टाचारविरुद्धको मुद्दा दर्ता पनि १ सय ९४ बाट बढेर ३ सय ५१ पुगेको छ ।

यस्तो छ भ्रष्टाचारबारे विश्व तथ्यांक

विश्व बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वभर हरेक वर्ष १० खर्ब डलरबराबर रकम घुसमा खर्च हुने गरेको छ ।

यस्तै राष्ट्रसंघीय प्रतिवेदनअनुसार वर्षेनी ३६ खर्ब डलरबरारको रकम घुस, चोरी र जालसाझीमा खर्च भइरहेको छ ।

विश्वप्रसिद्ध लेखापरीक्षण संस्था प्राइसवाटर कुपरहाउस (पिडब्लुसी) ले सन् २०१६ मा गरेको एक सर्वेक्षणअनुसार भ्रष्टाचार र घुसखोरीका कारण विश्वका नागरिकको प्रतिव्यक्ति आय ३८० डलरले घटाएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनलले सन् २०१७ मा भारतमा ट्रक व्यवसायी र चालकमाथि गरेको सर्वेक्षणअनुसार वार्षिक २ अर्ब २२ करोड भारतीय रुपैयाँबराबर घुस खुवाउनुपर्छ । त्यसमध्ये ४३ प्रतिशत रकम प्रहरीलाई खुवाउनुपर्ने र ४५ प्रतिशत रकम कर्मचारी संयन्त्रलाई खुवाउनुपर्ने बाध्यता छ । घुस खुवाउनैपर्ने परिपाटीले ट्रकको ट्रिप यात्रामा ४० प्रतिशतसम्म ह्रास आएको ट्रान्सपरेन्सीले खुलासा गरेको छ ।