जनता टाइम्स

२७ श्रावण २०८३, बुधबार १६:४२

एमाले र नेकपाको सहकार्यमा थपियो नेकपा मसाल, प्रदेशमा सत्तादेखि संविधान र गणतन्त्रको रक्षार्थ एकजुट बन्ने घोषणा


सत्ता सहकार्य र प्रतिगमनबिरुद्धको आन्दोलनमा सहकार्य संसद बिघटनपछि नेकपा एमालेमाथि आरोपको बर्षा गर्दै आएको मसालको एमालेसँग सम्बन्ध सुध्रिएको छ

काठमाडौं, साउन २७ । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को सहकार्यमा नेकपा (मसाल) पनि सामेल भएको छ । लुम्बिनी सरकारको बिषयसहित दुई बुँदे सहमति गरेर बुधवारबाट मसाल पनि सहकार्यका लागि तयार भएको हो ।

सहकार्यमा लुम्बिनीमा अहिलेकै सरकारलाई निरन्तरता दिने उल्लेख छ । सहमतिमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले हस्ताक्षर गर्नुभएको छ ।

एमाले र नेकपाबीच यसअघि भएको सहमतिअनुसार लुम्बिनीमा एमालेको मुख्यमन्त्री रहने उल्लेख थियो । लुम्बिनीमा एमालेका सांसद चेतनारायण आचार्य मुख्यमन्त्री हुनुहुन्छ । एमालेले आचार्य नेतृत्वको सरकारलाई निरन्तरता दिने बताएको थियो ।

आचार्य नेतृत्वको सरकारलाई बहुमत पुर्याउन एक जना सांसद आवश्यक पर्ने भएपछि दुई दलले नेकपा (मसाल) सँग सहमति गरेका हुन । लुम्बिनीमा नेकपा (मसाल) का एक जना सांसद रहेका छन ।

८३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४२ सांसद आवश्यक पर्छ । जसमध्ये एमालेका २९ र नेकपाका सभामुखसहित १३ सांसद रहेका छन । सभामुख बराबर भएका खण्डमा बाहेक मतदान गर्न नपाउने भएकाले सरकारलाई बहुमत जुटाउन थप १ सांसदको साथ चाहिन्छ ।

सोही संख्याका लागि तीन दलबीच लिखित दुई बुँदे सहमति भएको हो । केन्द्रमा भएको यो सहमतिसँगै मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ १ गते प्रदेश सभामा विश्वास मत लिने योजना सार्वजनिक गर्नुभएको छ ।

यस्तै तीन दलबीच ‘राष्ट्रिय स्वाधीनता, संबिधान र गणतन्त्रका पक्षमा तथा प्रतिगमनका बिरुद्ध आन्दोलनमा सहकार्य गर्ने’ सहमति समेत भएको छ । सहमतिको दोस्रो नम्बरमा यो बुँदा राखिएको छ ।

तीन दलबीच लुम्बिनी प्रदेशमा सत्ता सहकार्य र प्रतिगमनबिरुद्धको आन्दोलनमा सहकार्य संसद बिघटनपछि नेकपा एमालेमाथि आरोपको बर्षा गर्दै आएको मसालको एमालेसँग सम्बन्ध सुध्रिएको छ । सहमतिका लागि महामन्त्री सिंहलाई प्रचण्डले नै मनाउनु भएको हो ।