जनता टाइम्स

५ भाद्र २०८३, शुक्रबार ०८:५६

भक्तपुरका किरण थापा : वडाध्यक्षदेखि बागमतीको मुख्यमन्त्रीसम्म


हेटौँडा, भदौ ५ । बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएका किरण थापा मगरको राजनीतिक यात्रा स्थानीय तहको वडाध्यक्षदेखि प्रदेश सरकारको नेतृत्वसम्म पुगेको छ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–८, सिपाडोलमा २०३३ भदौ १४ गते जन्मिनुभएका थापा मगर सामान्य परिवारबाट राजनीतिमा प्रवेश गर्नुभएको हो। उहाँले प्रविणता प्रमाणपत्र तहसम्मको औपचारिक शिक्षा हासिल गर्नुभएको छ।

विसं २०४७ देखि राजनीति तथा सामाजिक सेवामा सक्रिय रहनुभएका उहाँ नेकपा एमालेको भक्तपुर जिल्ला कमिटी सदस्य हुँदै उपाध्यक्षको जिम्मेवारीमा समेत रहनुभएको थियो।

थापा मगर २०७४ सालमा सूर्यविनायक नगरपालिका–८ को वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो। वडाध्यक्षका रूपमा काम गर्दा उहाँ नगरपालिकाको सामाजिक विकास समितिको संयोजकसमेत बन्नुभएको थियो।

स्थानीय तहको जिम्मेवारीपछि उहाँ २०७९ मा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभयो। प्रदेशसभा सदस्य बनेपछि उहाँले बागमती प्रदेश सरकारमा स्वास्थ्य मन्त्रीको जिम्मेवारीसमेत सम्हाल्नुभयो। उहाँले २०८१ साउन ९ गतेदेखि २०८३ असारसम्म दुईपटक स्वास्थ्य मन्त्रीका रूपमा काम गर्नुभएको थियो।

राजनीतिसँगै थापा मगर सामाजिक क्षेत्रमा पनि सक्रिय रहनुभएको छ। डोलेश्वर महादेव मन्दिर संरक्षण समितिको सचिव, उपाध्यक्ष हुँदै कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएका उहाँ नेपाल रेडक्रस सोसाइटी सिपाडोल उपशाखाको सभापतिका रूपमा तीन कार्यकाल र भक्तपुर शाखाको उपसभापतिका रूपमा दुई कार्यकाल काम गर्नुभएको छ।

त्यस्तै, नेपाल तेक्वान्दो सङ्घ बागमती प्रदेशको कोषाध्यक्ष, सूर्यविनायक उद्योग वाणिज्य सङ्घको अध्यक्ष तथा विभिन्न खेलकुद र युवा क्लबमा समेत उहाँको संलग्नता रहेको छ।

थापा मगरले निजी व्यवसायमार्फत ५०० भन्दा बढी नेपालीलाई प्रत्यक्ष रोजगारी दिएको दाबी गर्नुभएको छ। युवालाई स्वरोजगार बनाउन तालिम, सहजीकरण र लगानी प्रवर्द्धनमा समेत आफू सक्रिय रहेको उहाँले बताउँदै आउनुभएको छ।

वडाध्यक्ष हुँदा प्राप्त हुने सुविधासमेत नलिएको र त्यसबाट बचत भएको करिब १५ लाख रुपैयाँबाट अक्षयकोष स्थापना गरेको उहाँको भनाइ छ। उक्त कोषमा हाल करिब ४० लाख रुपैयाँ पुगेको उहाँले बताउनुभएको छ।

२०७२ को भूकम्प, २०७५ को हनुमन्ते बाढी तथा कोरोना महामारीका समयमा उद्धार, राहत र स्वास्थ्य सेवामा समेत थापा मगर सक्रिय रहनुभएको थियो। कोरोना महामारीका क्रममा निःशुल्क पीसीआर परीक्षण, घरघरमा अक्सिजन तथा औषधि पुर्‍याउने काममा समन्वय गरेको उहाँले बताउनुभएको छ।

वडाध्यक्षबाट सुरु भएको उहाँको राजनीतिक यात्रा प्रदेशसभा सदस्य, मन्त्री हुँदै बागमती प्रदेशको मुख्यमन्त्रीसम्म पुगेको छ।

मुख्यमन्त्रीको जिम्मेवारी पाएसँगै थापा मगरमाथि प्रदेश सरकारलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने, दलहरूबीच समन्वय कायम गर्ने र प्रदेशवासीका अपेक्षा सम्बोधन गर्ने चुनौती थपिएको छ। संघियताको मर्मअनुसार प्रदेश सरकारको भूमिका प्रभावकारी बनाउँदै विकास निर्माण र सेवा प्रवाहलाई गति दिनुपर्ने दायित्वसमेत उहाँको काँधमा आएको छ।