नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्र अध्यक्ष केपी शर्मा ओली नेतृत्वबाट हटनुपर्छ भन्ने कँहीकतै उल्लेख नभएको र कसैले चाहेर पनि हटाउन सक्ने अवस्था नरहेको तथ्य सुनाउनु भएको छ । केही समयअघिदेखि पार्टी पुनर्गठनको नाममा महासचिव पोखरेल आफै अध्यक्ष ओली हटाउन लागेको आरोप कार्यकर्ताले लगाइरहेको बेला उहाँ स्वयंले बिराटनगरमा सञ्चारकर्मीसँग यस्तो बताउनु भएको हो । विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले महासचिव पोखरेललाई विभिन्न प्रश्न गरेका थिए । ती प्रश्नको जवाफ दिने क्रममा महासचिव पोखरेलले भन्नुभएको छ, ‘पार्टी पुनर्गठन भनेको नेतृत्व फेर्ने होइन, समग्र सुधार हो । जहाँसम्म तपाईंहरूको सवाल छ, हाम्रो पार्टी एमालेमा अध्यक्ष केपी शर्मा ओली हटनुपर्छ भनेर कँहीकतै लेखिएको छैन, पक्रियाभन्दा बाहिर गएर हटाउन संभव पनि छैन ।’ प्रस्तुत छ, ती प्रश्नोत्तरको अंश :
देशको अहिलेको अवस्था कस्तो छ ?
– अहिले मुलुकमा भू–राजनीतिक चलखेल धेरै बढिराख्या छ । नेपालको खनिज सम्पदाहरूमाथि बाह्य शक्तिहरूको चासो निकै बढेको छ । यस्तो बेला सरकार संवेदनशील हुनुपर्ने हो । तर त्यो देखिराखेको छैन । विगतमा नेकपा एमालेको सरकारले युरेनियम खानी, पेट्रोलियम पदार्थको अन्वेषण र फलाम खानीको कामलाई समृद्धिको आधार मानेर अगाडि बढाएको थियो । तर, अहिलेको राजनीतिक अस्थिरताले ती चिजहरू अरूको हातमा पुग्ने हो कि भन्ने चिन्ता र डर छ ।
अहिलेका प्रधानमन्त्री सम्वाद, सहमति र सहकार्यको बाटोभन्दा अलग हुनुहुन्छ । दलहरूबीच जतिसुकै मतभेद भए पनि सम्वाद हुनुपर्नेमा उहाँ एक्लै हिँड्न खोज्दै हुनुहुन्छ । एमालेले अहिले पार्टी जागरण अभियान चलाइराख्या छ । हामी जनताको जनादेशलाई शिरोधार्य गर्दै पार्टीलाई नयाँ ढंगले रूपान्तरण गर्न चाहन्छौँ । यतिबेला नयाँ शक्तिको नाममा जुन खालको सन्त्रास र आशंका फैलाउन खोजिएको छ, त्यसले मुलुकको सार्वभौमसत्तामाथि नै प्रश्न उठाएको छ । प्रधानमन्त्रीको कूटनीतिक कमजोरीले गर्दा छिमेकीसँगको सम्बन्ध सन्तुलित हुन सकिराख्या छैन । महँगी बढेको छ, लगानी पलायन भइरहेको छ । व्यवसायीहरू त्रासमा छन् ।
तपाईंहरूको अध्यक्षले झापा र इलामबाट भन्नुभो—पार्टी पुनर्गठन भन्दा पनि यो पार्टी जागरण हो । पुनर्गठनको कुरा गर्नेचाहिँ पार्टी कार्यालयको क्यान्टिनमा बसेर आवाराहरूले गर्ने चिया गफ हो भन्नुभो । फेरि तपाईं पुनर्गठनकै कुरा गर्दै हुनुहुन्छ त ?
– यो विषयमा के हो भन्दा तपाईंहरूले पूर्वाञ्चलमा आएकै बेला अध्यक्षज्यूसँग कुरा गर्या भए राम्रो हुन्थ्यो ।
अध्यक्षले त किर्नासमेत भन्नुभयो नि ?
– पार्टीमा सुधार जरुरी छ भन्ने कुरा पार्टीको साझा विषय हो । हाम्रो सचिवालयले निर्णय गरेको कुरा पनि यही हो । सुधार भनेको शुद्धीकरण, सुदृढीकरण र रूपान्तरणसहितको पुनर्गठन हो । उहाँले पुनर्जागरण मात्रै भन्नुभयो भने त्यो पनि ठिकै हो, किनकि अहिले चलिरहेको अभियान नै पुनर्जागरण अभियान हो । अर्कोचाहिँ कार्यदलको माध्यमबाट सुधारका कामहरू जारी छन् ।
फागुन २१ गतेको चुनावको परिणाम पछाडि तपाईंलगायत पदाधिकारीहरूले अब अध्यक्ष पद छोडेर मार्गप्रशस्त गर्नुपर्छ भनेर अध्यक्षज्यूलाई भन्नुभएको कुरा बाहिर आएको छ, यो सत्य हो कि के हो ?
– यो पूर्णतः गलत कुरा हो । मैले भन्या भए त तपाईंहरूका बीचमा मै बोलिहाल्थेँ नि, अरूका मुखबाट किन सुन्नु पथ्र्यो र ?
तपाईंले भन्नुभएको चाहिँ के हो त ?
– पार्टीमा सुधार गर्नुपर्छ, रूपान्तरण गर्नुपर्छ, पुनर्गठन गर्नुपर्छ ।
तपाईले अध्यक्षले जिम्मेवारी हस्तान्तरण गर्नुपर्छ भन्नुभएको हो कि, कार्यशैलीमा सुधार गर्नुपर्छ भन्नुभएको हो ?
– सुधार भनेको अहिले जे कारणले हामी कमजोर भयौँ, त्यो कारण पत्ता लगाउने र भोलि बलियो कसरी हुन सकिन्छ, त्यो कुरा गर्ने हो नि ।
त्यस्तो सुधारचाहिँ कसरी हुन्छ त ?
– महासचिवको हैसियतले मैले केही कारण पत्ता लगाको छु । पहिलो, कमिटी प्रणालीलाई बलियो बनाउने । दोस्रो, जनतासँग जाने, सम्वाद गर्ने र जनताका भावना बुझेर पार्टीलाई अगाडि बढाउने । तेस्रो, आजको नयाँ पुस्ताले बुझ्ने भाषामा पार्टीका नीति र कार्यक्रम बनाउने । चौथो, अहिलेको सोसल मिडिया वारमा पार्टीलाई सक्षम बनाउने ।
त्यस्तो होइन । अध्यक्ष ओली हट्नुपर्छ भन्ने प्रतिवेदनमा कतै छैन । के कमी भयो भन्ने कुरा गरिएको छ, त्यो कार्यदलको प्रस्ताव हो । कार्यदलमा छलफल भएर अन्तिम रूप दिएपछि मात्रै त्यो पार्टीको डकुमेन्ट हुन्छ । त्यो अहिले बाँकी नै छ । त्यसपछि सचिवालयले आवश्यकताअनुसार बाहिर ल्याउँछ

पार्टी पुनर्गठनको प्रतिवेदन अध्यक्षलाई बुझाउनु भएको छ । त्यसमा के छ ? अध्यक्ष ओलीलाई नै सबै दोष दिएको छ भन्ने चर्चा छ नि ?
– त्यस्तो होइन । अध्यक्ष ओली हट्नुपर्छ भन्ने प्रतिवेदनमा कतै छैन । के कमी भयो भन्ने कुरा गरिएको छ, त्यो कार्यदलको प्रस्ताव हो । कार्यदलमा छलफल भएर अन्तिम रूप दिएपछि मात्रै त्यो पार्टीको डकुमेन्ट हुन्छ । त्यो अहिले बाँकी नै छ । त्यसपछि सचिवालयले आवश्यकताअनुसार बाहिर ल्याउँछ ।
पार्टीमा नेतृत्व परिवर्तन र अध्यक्ष केपी शर्मा ओलीको विकल्पबारे बाहिर धेरै चर्चा छ नि ?
– नेतृत्व परिवर्तन संस्थागत प्रक्रिया र विधानअनुसार हुन्छ । सामाजिक सञ्जालको बहश वा सार्वजनिक छलफलले नेतृत्व परिवर्तन हुने होइन । महाधिवेशन नै यसको मुख्य थलो हो । पार्टीमा रूपान्तरण आवश्यक छ । तर त्यो विधि र प्रक्रियाबाटै हुन्छ । अहिले नै नेतृत्व परिवर्तन गरिहाल्नुपर्ने स्थिति पार्टीमा छैन ।
तपाईंले विधि र प्रक्रियाबाट नेतृत्व हस्तान्तरण हुन्छ भन्नुभयो । त्यो विधिचाहिँ नियमित महाधिवेशन हो कि विशेष महाधिवेशन हो कि अरू के हुन्छ ?
– त्यो नियमित महाधिवेशन हो ।
भनेको अबको पाँच वर्ष पछाडि ?
– अब के गर्ने भन्ने कुरा केन्द्रीय कमिटीको कुरा हो । केन्द्रीय कमिटीले पहिले पनि गर्न सक्छ, नियमित पनि गर्न सक्छ । यो सामाजिक सञ्जालको बहशको विषय वा सार्वजनिक छलफलले नेतृत्व परिवर्तन हुने चिज होइन ।
एमालेले यसअघि तय गरेको दुई कार्यकाल र उमेर हदको विषय गत वर्षको भदौ २१–२२ को विधान अधिवेशनबाट तपाईंहरूले हटाउनुभयो । अहिले फेरि त्यही विषयमा तपाईंले जोड दिइराख्नुभएको छ भन्ने सुनिन्छ, खास त्यो के हो ?
– यो हाम्रो आन्तरिक छलफलको विषय हो । यो विधान महाधिवेशनको विषय हो । अहिले नै छलफल गरेर टुङ्गिने विषय होइन।
तपाईंको अडान चाहिँ के हो भनेको ?
– मेरो अडान त राख्नुपर्ने ठाउँमा राखिहाल्छु नि ।
कोशी प्रदेशको मुख्यमन्त्री परिवर्तन गर्नुपर्छ भनेर अध्यक्ष लाग्नुभएको थियो तर, तपाईले रोक्नुभयो भन्ने कुरा छ नि ?
– पार्टीले के गर्यो भन्दा अहिलेचाहिँ स्थिरता जनताले खोजेको कुरा छ । त्यो सन्दर्भमा अहिले नचलाऊँ भन्ने निर्णय गर्या छ । आवश्यकताको आधारमा के गर्नुपर्छ, पार्टीले गर्छ ।
निर्णयचाहिँ कसले, कहिले भयो ? कुन कमिटीले गर्यो ?
– त्यो परामर्शबाट पनि हुने कुरा हो ।
मुख्यमन्त्रीले त मलाई पार्टीको निर्णय चाहिन्छ भन्नुभयो नि ?
– यसबारेमा मुख्यमन्त्री तपाईंहरूकै नजिक हुनुहुन्छ, उहाँलाई नै सोध्नुहोला ।
हामीले तीन दलका बीचको सहकार्यको कुरा गरेका थियौं । तर, नेपाली कांग्रेसले प्रदेशमा तीन दलीय सहकार्य उपयुक्त हुँदैन भन्ने मान्यता अगाडि सार्यो । किनकि तीन दल मिल्दा प्रतिपक्ष कमजोर हुन्छ भन्ने उसको मान्यता रह्यो । त्यही कारणले गर्दा दुई दलका बीचको सहमतिको स्थिति बनेको हो । यो कार्यगत एकता अन्तर्गतको कुरा हो, पार्टी एकताको विषय होइन । यसमा धेरै द्विविधा राख्नुपर्दैन

उपाध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा (बादल)ले संसदमा भाषण गर्दै वर्तमान सरकारलाई आर्मी, अमेरिका र अल्गोरिदमले ब्याकअप गर्याछ भन्नुभो, यो पार्टीकै धारणा हो ?
– त्यो उहाँले संसदमा बोलेको कुरा हो । कुन शैलीमा, कुन भाषामा भन्नुभो भन्ने उहाँको कुरा हो । हाम्रो कुराचाहिँ भदौ २३ र २४ को घटनामा सुरक्षा निकायले आफ्नो भूमिका निर्वाह गर्न सकेन, राज्यविहीनताको स्थिति देखियो भन्ने हो ।
असार ९ गते दुई दल (एमाले र नेकपा) बीच तीनबुँदे सहमति भयो । त्यसपछि प्रदेश सरकार पुनर्गठन र विस्तार पनि भए । यसलाई कम्युनिस्ट आन्दोलन र एमाले–नेकपा एकताको आधारको रूपमा पनि व्याख्या गरिँदै छ, खास कुरा के हो ?
– अहिले हामी ‘कार्यगत एकता’ को पक्षमा छौं । हामीले तीन दलका बीचको सहकार्यको कुरा गरेका थियौं । तर, नेपाली कांग्रेसले प्रदेशमा तीन दलीय सहकार्य उपयुक्त हुँदैन भन्ने मान्यता अगाडि सार्यो । किनकि तीन दल मिल्दा प्रतिपक्ष कमजोर हुन्छ भन्ने उसको मान्यता रह्यो । त्यही कारणले गर्दा दुई दलका बीचको सहमतिको स्थिति बनेको हो । यो कार्यगत एकता अन्तर्गतको कुरा हो, पार्टी एकताको विषय होइन । यसमा धेरै द्विविधा राख्नुपर्दैन ।














प्रतिक्रिया दिनुहोस्