जनता टाइम्स

१० भाद्र २०८३, बुधबार २१:०७

रसुवा बाढीमा बगेका ६ जनाको शव तनहुँमा फेला, सनाखत हुन बाँकी


तनहुँ, भदौ १० । रसुवाको भोटेकोसीमा आएको बाढीमा बगेका ६ जनाको शव तनहुँमा फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डीएसपी द्वारिकाप्रसाद घिमिरेका अनुसार आबुखैरेनीमा दुई र देवघाटमा चार गरी ६ जनाको शव फेला परेको हो।

फेला परेका शवको सनाखत हुन सकेको छैन। ती शव जिल्ला अस्पतालमा राखिएको डीएसपी घिमिरेले जानकारी दिनुभयो।

इलाका प्रहरी कार्यालय आबुखैरेनीका प्रहरी निरीक्षक प्रदीप सुवेदीको नेतृत्वमा खटिएको टोलीले दुवै स्थानमा शव फेला पारेको हो।

यसैबीच, तनहुँको मुग्लिङ–देवघाट खण्डमा विपद्जन्य जोखिमलाई मध्यनजर गर्दै प्रहरीले सर्वसाधारणलाई पूर्वसतर्कता अपनाउन आग्रह गर्दै निगरानी बढाएको छ।