जनता टाइम्स

१० पुष २०७६, बिहीबार १६:१९

जव पूर्वमन्त्री गोकर्ण बिष्टको निवास पुगे मेयर शाक्य


काठमाडौं, पुस १० । काठमाडौं महानगरपालिकाभित्र भएका विकास निर्माण र सेवा प्रवाहको स्थलगत अनुगमन गर्ने क्रममा केही दिन अघि काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य २५–३० जनाको समूहसहित बिनासूचना निवर्तमान श्रममन्त्री गोकर्ण विष्टको निवास सामखुसी पुग्दा केहीबेर अलमलमा पर्नुभयो । ‘मन्त्रीज्यू हामी विनासूचना आइयो है’ भन्दै मेयर शाक्य वडा नम्बर–२६ का वडाध्यक्ष ख्याम तिवारीसहित गेटभित्र छिरेपछि विष्टले पनि मुसुक्क मुस्कुराउँदै स्वागत गर्नुभयो ।

वडा–२६ को विकास निर्माणबारे अनुगमन गर्न सामाखुसी क्षेत्रमा पुग्नुभएका मेयर शाक्यसहितको टोलीलाई निवर्तमान मन्त्री विष्टले आफ्नो निवासमा न्यानो स्वागत मात्रै गर्नुभएन । निकै चासोका साथ आफू बसेको टोलको विकासबारे जानकारी लिनुभयो अनि मेयर शाक्यलाई पनि विकासका लागि थप सहयोग गर्न आग्रह गर्नुभयो । चिया–विस्कुटसँगै करीब एक घण्टा उहाँको निवासमा सो क्षेत्रको विकासबारे त्यहाँका स्थानीय र समाजसेवीले आफूलाई मनमा लागेका कुरा राख्नुभयो । रानीवारी समाजका पूर्वअध्यक्ष एवं पूर्वप्रशासक देवीप्रसाद न्यौपानेले रानीवारी–सामाखुशी क्षेत्रमा खानेपानीको पाइपलाईन विस्तार गर्दा सडकहरु भत्किएको र अहिले सबै काम सम्पन्न भइसकेको भन्दै अब छिटै सो क्षेत्रमा कालोपत्रे गर्नुपर्ने माग निवर्तमान मन्त्री विष्ट र मेयर शाक्यलाई नजिकै राखेर सुनाउनुभयो ।

उहाँले स्थानीय जनताले खन्ने मात्र काम भएको भन्दै पटक–पटक गुनासो गर्ने गरेको पीडा पनि पोख्नुभयो । ‘यो क्षेत्रमा कालोपत्रे गर्न पाए यो क्षेत्रका जनता पनि खुशी हुने, लौ मेयरज्यू मैले यही विन्ति विसाएँ,’ न्यौपानेले भन्नुभयो, ‘यसका लागि मन्त्रीज्यूले पनि पहल गर्नुपर्यो ।’ न्यौपानेको उक्त प्रस्तावप्रति ध्यान दिदैँ मेयर शाक्यले पनि पाइप विस्तारको काम बाँकी छ कि छैन ? भनी प्रश्न गर्दै केही दिनभित्रै बाँकी रहेका कामलाई पनि सम्पन्न गर्न निर्देशन दिदैँ जाडो महिना सकिने वित्तिकै कालोपत्रेको काम अघि बढाउने आश्वासन दिनुभयो ।

मेयर शाक्यका कुरा सकिन नपाउँदै त्रिवेणी जागरण समाजका अध्यक्ष त्रिलोचन घिमिरेले आफ्नो टोलमै रहेको ठूलो ह्युमपाई फुटेर वर्षातको समयमा निकै हैरानी व्यहोर्नुपरेको र तीन–चार सय घर प्रभावित भएको गुनासो गर्नुभयो । उहाँले पटक–पटक आग्रह गर्दा पनि फाइल अघि नबढेको भन्दै मेयर शाक्यको ध्यानाकर्षण समेत गराउनुभयो । मेयर शाक्यले सो समस्याबारे आफू पनि जानकार रहेको भन्दै वडाको इञ्जिनियरसँग सल्लाह गरेर प्रष्ट योजनासहित आउन आग्रह गर्नुभयो । ‘हामीलाई काम गर्न बजेटको समस्या छैन तर तपाईंहरुले पनि कुन कामलाई बढी प्राथमिकता दिने हो भन्ने तह निर्धारण गरेर योजना ल्याउनुपर्छ,’ मेयर शाक्यले भन्नुभयो, ‘अहिले राजकुलो मिचेर, ढलको निकास नहेरी घर बनाउने र पछि समस्या भएपछि मात्र हारगुहार गर्ने चलन बढी हावी भएको छ । यस्ता कुरामा पनि ध्यान दिनुहोला ।’

उहाँले एकीकृत विकासमा ध्यान दिन पनि आग्रह गर्नुभयो । मेयर शाक्यकै भनाइलाई पूर्णता दिदैँ नेकपाका स्थायी समिति सदस्यसमेत रहनुभएका विष्टले भन्नलाई सामखुशी टाउन प्लानिङ भने पनि अस्तव्यस्त रहेको भन्दै यसलाई सुधार गरेर जानुको अर्को विकल्प नभएको बताउनुभयो । ‘मैले कुनै बेला ठट्टा गर्दै भनेको थिए, यो प्लानिङ अस्तव्यस्त भएको देख्दा मैले यो ठाउँ नै छाडेर हिड्नु पर्ने हो कि जस्तो भएको छ । त्यो मनको कुरा पनि थियो ।’ उहाँले आफु टोलवासी पनि भएको नाताले सो क्षेत्रको ढल व्यवस्थापन, खानेपानी, सरसफाइलगायतका काममा योजना बनाएर सबैसँग छलफल गरेर अघि बढ्न तयार रहेको सुनाउनुभयो ।

उहाँले व्यक्ति हेरेर योजना दिने चलनले पनि थप समस्या भएको भन्दै बैज्ञानिक मापदण्ड बनाएर अघि बढ्यो भने मात्र विकासले गति दिने दाबी गर्नुभयो । ‘यो ठाउँको विकासका लागि महानगर हाम्रो साथमा छ,’ उहाँले भन्नुभयो, ‘प्रदेश र केन्द्र सरकारसँग पनि आवश्यक पर्यो भने म कुरा गर्न तयार छु । तर, यहाँको विकासमा हामी सबै एक भएर अघि बढ्नुपर्छ ।’ निर्वाचित भएर गएपछि अर्को निर्वाचन नआउन्जेलसम्म जनप्रतिनिधिसँग खुलेर कुरा गर्न नपाउने परम्परा भोग्दै आएका स्थानीय यसरी मेयर र मन्त्री–सांसदलाई नै छेउमा राखेर आफ्ना मनका कुरा गर्न पाउँदा दंग देखिन्थे ।

उपत्यका खानेपानीको ४० लाख र काठमाडौं महानगरपालिकाको २४ लाख अनुदानमा रानीवारी, सामाखुशी क्षेत्रमा खानेपानीको पाइप विस्तार भएको भन्दै न्यौपानेले यो योजनाले करीब १५ सय घरधुरी लाभान्वित हुने भन्दै त्यसका लागि वडाले पनि सकारात्मक पहल गरिरहेको जानकारी दिनुभयो । धेरै बेरको छलफलपछि मेयर शाक्य र पूर्वमन्त्री विष्टलाई सँगै राखेर सामूहिक तस्बिर खिच्दै स्थानीयहरुले पनि विकासको कामले अझै गति लिनेमा आशावादी भएको प्रतिक्रिया दिए ।

विष्टसँगको छलफलपछि मेयर शाक्यसहितको टोली गंगबु, नयाँबसपार्क, म्हैपि रेडन पुल, सरकारी धाराहुँदै ठमेल पुग्यो । करीब ६ घण्टाको अनुगमनमा ठाउँ–ठाउँमा स्थानीयले यसरी मेयरसहित वडाध्यक्ष घर–दैलोमा आउँदा खुशी लागेको प्रतिक्रिया दिए । अनुगमनकै क्रममा ठमेल पुग्नु भएका मेयर शाक्यले ठमेल क्षेत्रमा तीन–चार ओटा सहायक सडकमा कालोपत्रे गर्नुपर्ने अवस्था रहेको भन्दै नेपाल भ्रमण वर्ष पनि भएकाको र पर्यटकको सबै भन्दा बढी चाप हुने क्षेत्र पनि भएकाले पर्यटन वर्षलाई ध्यानमा राखेर काम अघि बढाउने आश्वासन दिनुभयो । टोलीमै रहनुभएका वडाका इन्जिनियरलाई तत्काल योजना बनाएर ल्याउन उहाँले सुझाव पनि दिनुभयो ।

काँग्रेसको तर्फबाट निर्वाचित वडाध्यक्ष तिवारी पनि मेयरसँगै अनुगमनमा हिड्दा दंग पर्नुभएको थियो । विदाई हुने बेलामा निर्माण सम्पन्न हुन लागेको वडा कार्यालय हेर्न मेयर शाक्यलाई आग्रह गरेपछि मेयर लैनचौरस्थित कार्यालयमा पुग्नुभयो । करीब ४ करोड ७० लाखको लगानीमा निर्माण हुँदै गरेको भवनतिर देखाउँदै वडाध्यक्ष तिवारीले भन्नुभयो, ‘टहरामा निर्वाह गर्दै आएको वडा भवन मेयरज्युकै पहलमा सुविधा सम्पन्न भवन बन्दै छ । अब केही महिना भित्रै मयेरज्युलाई नै बोलाएर भव्य उद्घाटन गरेर यतै सर्ने हो ।’ वडाध्यक्ष तिवारीको उक्त भनाइपछि मेयर शाक्यले पनि मुस्कुराउँदै भन्नुभयो, ‘हामी निर्वाचित भएर आएपछि सबै जनप्रतिनिधि हौँ, नेकपा, काँग्रेस भनेर हेर्न थाल्यो भने विकास कसरी हुन्छ ? मेरालागि ३२ वटै वडा वरावरी हुन् ।’

६० हजार जनसंख्या, १४ हजार घरधुरी र १२ हजार मतदाता रहेको वडा–१६ का भित्रि सडकहरु करीब ८० प्रतिशत सम्पन्न भएको तिवारीले जानकारी दिनुभयो । ‘इतिहास वोकेको विक्रमशील महाविहारको पुनर्निर्माणको कामलाई पनि हामीले तीव्र रुपमा अघि बढाएका छौँ । अघिल्लो वर्ष महानगरपालिकाले ८० लाख बजेट छुट्याएको थियो । अहिले १ करोड ५० लाख बजेट छुट्याएको छ । हामी अब छिट्टै सम्पन्न गर्छौ ।’ वडाध्यक्ष तिवारीले मेयर शाक्यले निकै चासोका साथ वडाको अनुगमन गरेको भन्दै आफू उत्साहित भएको पनि जानकारी दिनुभयो ।

‘मेयरज्यू नै यसरी अनुगमनमा आउने कुरा सकारात्मक छ,’ उहाँले भन्नुभयो, ‘बाटो, ढल, खानेपानीलगायतका लागि मेयरज्यूले गरेको सहयोगले काम गर्न थप उत्साह थपिएको छ । टोल राम्रो बनाउन र रणनीतिक योजना अघि बढाउन पनि यस्ता अनुगमन प्रभावकारी हुनेछन । मेयरज्युलाई बेला–बेलामा अनुगमनका लागि आग्रह गर्छु ।’