जनता टाइम्स

२२ भाद्र २०८३, सोमबार ०७:०२

एआईको तस्वीर देखाएर समाजमा भ्रम फैल्याउँदै श्रद्धा श्रेष्ठ, भिम उपाध्याय र हिमेश पन्त


काठमाडौं, भदौ २२ नुवाकोटको देवीघाटस्थित तादी नदीमाथि निर्माण भइरहेको एक्रोब्रिज तयार भइसकेको जस्तो देखिने एआईबाट निर्मित तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि त्यसको प्रयोगलाई लिएर प्रश्न उठेको छ।

पूर्वसचिव भीम उपाध्याय, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा हास्य कलाकार हिमेश पन्त र पूर्वपर्यटनमन्त्री श्रद्धा श्रेष्ठले निर्माणाधीन पुल तयार भइसकेको जस्तो देखिने तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेको भन्दै आलोचना भएको हो।

गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले गल्छी–त्रिशूली–बेत्रावती सडकखण्डअन्तर्गत देवीघाटमा रहेको पक्की पुल बगाएपछि विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–८ जोड्ने गरी तादी नदीमाथि एक्रोब्रिज निर्माण भइरहेको छ।

नेपाली सेनाले पुल जडानको काम अघि बढाइरहेको अवस्थामा सामाजिक सञ्जालमा भने पुल पूर्ण रूपमा निर्माण भई सवारीसाधन सञ्चालनमा आएको जस्तो देखिने एआई तस्वीर सार्वजनिक भएका हुन्।

हिमेश पन्तले आइतबार बिहान देवीघाटमा बेलीब्रिज निर्माण तीव्र रूपमा भइरहेको भन्दै तस्वीरसहित सामग्री सार्वजनिक गर्नुभएको थियो। तर, देवीघाटमा जडान भइरहेको पुल बेलीब्रिज नभई एक्रोब्रिज रहेको बताइएको छ।

पूर्वसचिव भीम उपाध्यायले पनि निर्माणाधीन एक्रोब्रिजको वर्तमान अवस्थाका रूपमा उस्तै प्रकृतिको एआईबाट निर्मित तस्वीर प्रयोग गर्नुभएको थियो। उहाँले एक्रोब्रिज तथा बेलीब्रिज छोटो समयमा निर्माण गर्न सकिने विषयमा सामाजिक सञ्जालमार्फत धारणा राख्नुभएको छ।

पूर्वपर्यटनमन्त्री श्रद्धा श्रेष्ठले समेत सोही प्रकृतिको तस्वीर प्रयोग गर्नुभएको बताइएको छ।

तर, वास्तविक निर्माणस्थलमा पुलको वारीतर्फ स्टिल संरचना राख्ने काम सुरु भए पनि पारितर्फको काम अझै पूरा नभएको स्थानीय तथा प्रत्यक्षदर्शीहरूले बताएका छन्।

बाढीपछि ११ दिनमै देवीघाटमा एक्रोब्रिज जडानको काम अघि बढ्नु चुनौतीपूर्ण भए पनि पुल पूर्ण रूपमा सञ्चालनमा आइनसकेको बताइएको छ।

वास्तविक बन्दै गरेको पुल

बाढीबाट क्षतिग्रस्त पुरानो पुलको जिप प्रयोग गरी नेपाली सेनाले करिब ५७ दशमलव ५ मिटर लामो, ५ दशमलव ५ मिटर चौडा र ७० टन भारवहन क्षमता भएको एक्रोब्रिज जडान गरिरहेको जनाइएको छ।

विपद्को समयमा राहत, उद्धार तथा पुनर्निर्माणसँग सम्बन्धित सूचनामा एआईबाट निर्मित वा सम्पादित तस्वीर प्रयोग गर्दा वास्तविक अवस्थाबारे भ्रम सिर्जना हुन सक्ने भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रश्न उठाएका छन्।