काठमाडौं, भदौ २६ । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६१औँ जन्मजयन्ती आज मुलुकभर विभिन्न साहित्यिक कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
१९२३ साल भाद्र कृष्ण कुशे औँसीका दिन जन्मिनुभएका मोतीराम भट्टको १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो । उहाँले नेपाली साहित्यको विकासमा महत्वपूर्ण योगदान पुर्याउनुभएको थियो ।
युवाकवि भट्टले आदिकवि भानुभक्त आचार्यको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुभएको थियो । उहाँले नेपालमा छापाखानासमेत भित्र्याउनुभएको थियो । यही छापाखानामार्फत नेपालमा पत्रकारिताको सुरुवात भएको मानिन्छ ।
मोती जयन्तीका अवसरमा नेपाली शिक्षा परिषद्, नेपाल प्रज्ञा प्रतिष्ठानलगायत विभिन्न साहित्यिक संस्थाले कार्यक्रम आयोजना गर्दैछन् ।
नेपाली शिक्षा परिषद्ले शुक्रबार दिउँसो २ बजे कवि सम्मेलन तथा युवा वर्ष मोती पुरस्कार वितरण कार्यक्रम आयोजना गर्ने परिषद्की अध्यक्ष रमा शर्माले जानकारी दिनुभएको छ ।














प्रतिक्रिया दिनुहोस्