जनकपुरधाम, भदौ २९ । धनुषाको विदेह नगरपालिका–६ तिनकौरिया बजारबाट १२ दिनदेखि हराइरहेका डेढ वर्षीय बालक सिधान्स महतो भेटिएका छन् ।
स्थानीय कमलेश महतोका १ वर्ष ८ महिनाका छोरा सिधान्स भदौ १८ गते दिउँसो करिब ४ः४० बजे घरको आँगनमा खेलिरहेका बेला हराएका थिए ।
लगातार १२ दिनदेखि खोजी गरिरहेका प्रहरीले बालकलाई सोमबार नजिकैको केराबारीबाट फेला पारेको हो । बालकलाई केराबारीमा छाडेर भाग्दै गरेकी एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिनुभयो ।
नियन्त्रणमा लिइएकी महिलामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ । बालक कसरी हराए, उनलाई कसले र किन लगेको थियो भन्ने विषयमा समेत अनुसन्धान भइरहेको डीएसपी खनालले बताउनुभयो ।
बालक हराएपछि प्रहरीले सम्भावित स्थानमा खोजी तीव्र बनाएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी रूपेश खड्का स्वयं खोजी तथा अनुसन्धानमा खटिनुभएको थियो भने प्रहरी निरीक्षक अरविन्द साहको नेतृत्वमा विशेष टोलीसमेत परिचालन गरिएको थियो ।














प्रतिक्रिया दिनुहोस्