काठमाडौं, असोज १७ । शिक्षा तथा खेलकुद मन्त्रालयले मौसम प्रतिकूल हुने पूर्वानुमानलाई ध्यानमा राख्दै असोज ८ र ९ गते आवश्यकताअनुसार विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले बुधबार शिक्षा विकास तथा समन्वय एकाइलाई पत्र पठाउँदै स्थानीय तहसँग समन्वय गरी विद्यार्थी, बालबालिका, शिक्षक तथा कर्मचारीको सुरक्षालाई प्राथमिकतामा राखेर आवश्यकताअनुसार विद्यालय बन्द गर्न आग्रह गरेको हो ।
जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा सम्बन्धित क्षेत्रका विज्ञहरूको पूर्वानुमानअनुसार असोज ९, १० र ११ गते देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको मन्त्रालयले जनाएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातसँगै हावाहुरी र चट्याङको समेत सम्भावना रहेको मन्त्रालयले उल्लेख गरेको छ ।
मौसमजन्य विपद्का कारण बाढी, पहिरो, डुबान, नदी कटान, हिमपहिरो, सडक अवरोध तथा विद्युत् र सञ्चार सेवामा अवरोध हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै विद्यालय सञ्चालनमा आवश्यक सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयले असोज ९ देखि ११ गतेसम्म सञ्चालन हुने तोकिएका परीक्षा पनि आवश्यकताअनुसार स्थगित गर्न विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायलाई आग्रह गरेको छ ।
त्यस्तै, सुरक्षित विद्यालय भवनलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्नुपर्ने अवस्था आएमा स्थानीय तहलाई आवश्यक सहजीकरण गर्न मन्त्रालयले अनुरोध गरेको छ । अभिभावकलाई समेत बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका स्थानमा जान नदिन मन्त्रालयले आग्रह गरेको छ ।













प्रतिक्रिया दिनुहोस्